लोकसंवाद संवाददाता | पर्यटन | पुस ०२, २०७७
पाेखरा । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।
'लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौँ । पर्यटक आउने विश्वास छ ', उहाँले भन्नुभयो । उहाँले मन्दिर प्रवेशका लागि भौतिकदूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्दिर बन्द रहेका अवस्थामा पूजारि मार्फत नित्य पूजा हुँदै आएको थियो । मन्दिर खुलेसँगै डुङ्गा चालकले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि डुङ्गा चलाउँदै आउनुभएका बाबुराम पुरीले भन्नुभयो, 'मन्दिर बन्द हुँदा डुङ्गा सयर गर्नेको लागि मात्र त्यति पर्यटक आएका थिएनन् । धेरैजसो आन्तरिक पर्यटक धार्मिक आस्था लिएर मन्दिरको दर्शनका लागि आउँथे, अब मन्दिर खुला भएपछि आन्तरिक पर्यटक आउने विश्वास बढेको छ । ' उहाँले लामो समय कोभिड– १९ को असरमा परेका डुङ्गा चालक अब चहलपहल बढ्छ कि भन्ने आशा रहेको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड– १९ ले ठप्प रहेको यहाँको पर्यटन अब विस्तारै लयमा फर्कन थालेको बताउनुभयो । 'हामीले सङ्घ, प्रदेश र पोखरा महानगर तीनै तहलाई पोखरा आसपासका धार्मिक एवं पर्यटकीय गन्तव्य खोल्नका लागि पटकपटक आग्रह ग¥यौं, उहाँहरु सकारात्मक हुनुभयो । आजबाट बाराही मन्दिर खुला भएको छ अब अरु मठमन्दिर र पर्यटकीय गन्तव्य पनि खुल्नेछन् ।'
उहाँले पोखरा आसपासका पर्यटकीय गन्तव्य खुलेपछि नयाँ वर्षमा हुने सडक महोत्सवमा आन्तरिक पर्यटकको आगमन बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो । 'कोभिड –१९ को भयबाट माथि उठेर स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित पर्यटकीय गतिविधि गर्नुको विकल्प छैन', उहाँले भन्नुभयो 'अब पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिएर बाह्य पर्यटकसम्म पनि पुर्याउनुपर्छ ।' उहाँले पर्यटन व्यवसायीलाई विस्थापन हुनबाट जोगाउन सरकारले ल्याएको राहत प्याकेज छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गर्नुभयो ।