ज्ञानमित्र | साहित्य | पुस ०३, २०७७
‘नौ सौ चूहे खाकर बिल्ली हज को चली’ हिन्दी-उर्दुको यो कथन हामी सबैको जीवनमा पूर्णतयाः चरितार्थ हुन्छ । कसैको जीवन पनि मात्र र मात्र राम्रा कामले सुशोभित भएको हुन्न । काम, क्रोध, लोभ र मोहले कुनै पनि प्राणीलाई अछुतो रहन दिन्न । मानिसको जीवन यात्रा अँध्यारोबाट उज्यालो, उज्यालोबाट अँध्यारोमा बारम्बार परिभ्रमण गरी रहन्छ । अब ध्रुव र अष्टावक्र एवम् कपिल मुनिका प्रचलित कथा बाहेकका तमाम महापुरुषहरुकै जीवन हेर्ने हो भने तमस,रजस र सात्विक तीनैवटा गुणले परिवेष्टित रहेको पाईन्छ ।
रमाइलो प्रसङ्ग सम्झिन्छु, भारतका विख्यात महायोगी पाइलटबाबा नेपाल भ्रमणमा हुनुहुन्थ्यो । वानेश्वर स्थित एभरेष्ट होटलको कोठामा उहाँलाई भेट्न जाँदा, उहाँमाथि बनाइएको एउटा ‘डकुमेन्ट्री’ देखाइयो । सन्यास पुर्वको जीवन भोगाइमा उहाँ भारतीय एअरफोर्सको ‘पाइलट’ हुनुहुन्थ्यो। फिल्ममा उहाँले १९७१ मा भारत पाक युद्धका दौरान शत्रुमाथी बम खसाएको प्रसङ्ग माथि उपस्थित दर्शकबाट प्रश्न आयो- बाबा यत्रो नरसंहार गरेर सन्यासी हुनु भयो, महायोगी हुने व्यक्तिले पनि मान्छे मार्नु पर्ने ?
बाबाले हाँस्दै भन्नु भयो ‘बेटा अहिले योगी भएर त यो प्रश्नको जवाफ दिन मलाई के अप्ठेरो' ! कल्पना त्यसबेलाको गर जब मैले ‘डिपार्टमेन्ट’ मा राजीनामा प्रस्तुत गरे । मलाई सोधियो ‘किन जागीर छोड्न लागेको’? मैले प्रत्युत्तरमा आफु सन्यासी बन्नलाई जागीर छोड्न तत्पर भएको भन्दा सबै गल्ललल्ल हाँसे। कटाक्ष भयो- ‘नौ सौ चुहे खाकर बिल्ली हजको चली’ मेरो के अवस्था भयो होला ? साहस जुराएर यति नै भन्न सके, 'बिल्लीको मन अब चूहा बाट तृप्त भयो, अब ‘हज’ नै जान्छ ।
धेरै महापुरुषहरुको जीवनगाथा पढें तर लियो टॉलस्टॉय र महात्मा गान्धी जति इमान्दनरिता अन्यमा पाइएन । ‘योगी कथामृत' ( योगानन्दको आत्मकथा ) पनि एकाङ्गी नै लाग्यो । एकाङ्गी चित्रणले पाठकको मनलाई 'गिल्ट' ले छोप्छ। ‘ऐ महापुरुषहरुको जीवन सुनै सुन, हीरै हीराले अलंकृत, म अधमको जीवन सबै कुकर्म -कुकृत्यले आच्छादित' !
वर्तमानको उपेक्षा- अनादर गरेर अतीतको गीत गाउनु अकर्मण्डयता हो । निर्जलाको पक्षमा सारा देश एक स्वरले उभिदा म वर्तमानप्रति झनै आशावादी भएको छु । द्रोपदीको रक्षा गर्न त समर्थवान आफन्तहरू नै अघि सरेनन् । घटनाका साक्षी बनी मूक भई बसे। त्यो स्वर्णकाल कि वर्तमान स्वर्णकाल ? राजमहलमा राजकन्या समेत सुरक्षित नहुँदा भगवानले अवतार लिनु पर्यो । आज त निर्जलाको लागि कोटि कोटि हात उठेका छन् ।
होइन, यो सत्य होइन । जीवन उनीहरूको पनि श्याम श्वेत दुबै रङ्गले पोतिएको हुन्छ, श्याम रङ्ग लुकाइएको मात्रै हो, श्वेतको पक्ष पोषणमा मात्रै ’फोकस’ गरिएको हो । चाहेँ तिनी कुनै पनि नन्द हुन्, तीर्थ हुन्, सरस्वती हुन्, स्वामी हुन् ।
सम्झिन्छु आफ्ना जीवनका अमावस पक्षहरू, आफ्ना कर्तुतहरू, श्याम श्वेत रङ्ग - तरंङहरू । कुरा मिलाएर झुटो बोल्न मलाई कसले सिकायो ? कोही त गुरू थिएन मलाई यो कला सिकाउने । मेरै घर परिवार, छरछिमेक, समाज, जुन मलाई सदा सत्य बोल्नु पर्छ भनी प्रेरणा दिन्थे, झुट्टो बोल्नु हुँदैन भन्ने नसीहत दिन्थे। के उनीहरू नै होइनन् मलाई झुठ शब्दसँग रूबरू गराउने !
चोरी गर्नु हुँदैन , चोरी पाप हो भन्नेहरूले नै चौर्य कलाको ज्ञान दिएका होइनन् ? पहिलो पटक झुटो कहिले बोले यो त स्मरणमा छैन । तर बारम्वार जीवनमा यस कलाको प्रयोग गरेको छु । पहिलो पटकको चोरी १० रूपैयाँको थियो, उमेर थियो त्यस्तै ९-१०। आफ्नो पिताजीको साथी बाबाजीको पसलमा गरिएको थियो यस कृत्यको शुभारम्भ , जसलाई जीवनमा बारम्बार अभ्यासमा ल्याइयो। १० रूपैयाँबाट सुरुवात भएको यो क्रम १० हजारसम्म पनि पुग्यो ।
१० हजार चोरी गर्ने आँट र हौसला प्रदान गरेकी थिइन २०५० साल तिरको केटी साथी पारूले । आइएस्सी पास गरेर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने पर्खाइमा रहँदा उनीसँग मेरो भेट भएको थियो । जुन बडो गजबको मित्रतामा परिणत भयो । उनी मेरो अत्यधिक सम्मान गर्थिन । मेरो जीवनमा एउटा विडम्वना नै रह्यो, जीवनमा भेटिएका, ठोक्किएका महिला पात्रले म प्रति प्रेम स्नेहको सट्टा आदर र सम्मान भाव प्रदर्शित गर्थे। चाहेँ माया हुन्, लक्ष्मी, सुपात्रा, सरिता हुन् । सुपात्रा बाहेक मेरो सबैसँग मैत्री मात्र रह्यो जुन अहिलेसम्म कायम छ । पारुले मेरो अतिनै सम्मान गर्थिन् । मेरो तथाकथित ज्ञानको उनी मुरीद नै थिइन्। उनको जीवनमा एउटा दुर्घटना घट्यो।
’मिड बानेश्वर’ घर भएकी उनी धरानको विपी प्रतिष्ठानको प्रवेश परीक्षा दिन पुर्ख्यौली घर जनकपुर गएकी थिइन, त्यही उनको कसैसँग शारिरिक सम्वन्ध भएछ, परिणामस्वरूप उनी गर्भवती बनिन् । लाज र डरले कसैलाई भन्ने आट गरिनन् । ३ महिनापछि मलाई फोन गरेर ’दाइ तपाई मेडिकल लाइनमा काम गर्नु हुन्छ मलाई विष ल्याइदिनु म बाच्न चाहन्न' भनिन्।
मैले 'हुन्छ मर्नु आवश्यक नै छ भने म विष उपलब्ध गराइदिउँला, तर मलाई पहिला यथेष्ठ कारण भन्नु पर्यो' भनी भेट्न बोलाएँ । महाराजगञ्जस्थित त्यस बेलाको कर्णाली होटलको रेष्टोरण्टमा उनले सारा वृतान्त सुनाइन् र भनिन - ’म आफ्नो र परिवारको बदनाम भन्दा मर्ने बाटो रोज्छु’।
मैले उनलाई मरे पनि बदनामी त हुन्छ, पोष्टमार्टमबाट गर्भवती भएको खुलासा हुन्छ भने ।
'त्यसो भए के गर्ने' सोधिन उनले ? मैले उनलाई 'मर्ने नै मन भए अरू अरु उपाय पनि निकाल्न सकिन्छ तर यदि समस्याबाट मुक्ति पाएर बाच्ने मन छ भने पनि म उपाय निकाल्न सक्छु' भने ।
उनले के उपाय सोधिन, मैले ’एबोर्सन’ गर्ने सुझाव दिएँ ।
उनले यसबारे आफूलाई केही थाहा नभएको, कहाँ-कसरी गराउने र आफूसँग पैसा नभएको भनिन् ।
मैले म यसमा मद्दत गर्छु भन्ने आश्वासन दिएर उनलाई बाच्ने हौसला दिँए । टेकु त्रिपुरेश्वर रोडमा रहेको ’प्राण निवास’मा आर्मीका सर्जन डाक्ट मदनमान मल्लको क्लिनिक रहेको थियो, उनका भतिजाद्धय उमेश मल्ल एवम सुरेश मल्लसँग मेरो राम्रो घुलमिल एवम उठ्बस रहेको थियो । सुरेशले चरक फर्माको नाममा औषधि वितरणको कार्य गर्दथे । उनी मेरा सुख दु;ख दुबैका साथी थिए । एउटा जागिर छोड्दा अर्को नआउन्जेल उनले नै खर्च दिन्थे, चरक फर्मा मेरो दिनहुँको गन्तव्यस्थल थियो । उनीसँग गएर समस्या राखेँ, उनले धर्मपथमा क्लिनिक चलाउने एउटा महिला रोग सम्वन्धी डाक्टरलाई फोन गरिदिए। मैले सम्झे मेरो समस्याको निदान भयो। ती केटीलाई साथ लिइ डाक्टर भेट्न पुगेँ । ४ महिनाको गर्भपतन ’रिस्की’ हुन्छ भन्दै उनले ४० हजार माग गरिन् । जुन मेरो क्षमताभन्दा सर्वथा बाहिर थियो । मैले पारुलाई अन्य कुनै डाक्टरसँग सम्पर्क गर्ने भनी सान्त्वना दिँए। ठूलो ’अमाउन्ट’ सुनेर उनी निरुत्साहित भएकी थिइन् ।
त्यस्तैमा सम्झना आयो भोटेवहाल स्थित एकजना आफ्ना परिचित औषधी पसलेको। उनलाई गएर समस्या राखे उनले १५-१७ हजारमा काम गराइदिने आश्वासन दिए । अब पैसाको खोजी गर्नु पर्यो, उधारो मागेर त पाइन्थ्यो होला तर तिर्ने कसरी ?
मनले तिर्नु नपर्ने गरी पैसाको जुगाड गर्ने बारे सोच्न थाल्यो । उपाय निस्कियो पनि । त्यो बेला मैले काम गर्ने कम्पनीका पोखराका डीलर थिए असीम बास्तोला । मैले पोखरा बजार भ्रमणको योजना बनाएँ । सोच थियो उनलाई कुनै समस्या देखाएर पैसाको बन्दोवस्त गर्ने तर असीम बास्तोला अति सरल व्यक्ति ! मैले उनीसँग पैसाको कुरा गर्न सकिन । कम्पनीका मानिस डीलरकोमा जाँदा 'फिजिकल ब्यारीफिकेसन’ गर्ने काम पनि गर्नु आवश्यक हुन्थ्यो। यस क्रममा गोदाम जाने भइयो । उनको 'एक्सप्रेस सपिङ सेन्टर'मा ग्राहकको हुल भएको हुनाले उनले मलाई एक्लै गोदाममा पुगी निरीक्षण गर्न भने । गोदाममा पुगेर मनले कम्पनीको एउटा उत्पादन 'ओ.बी.टैम्पुनस’ व्यागमा राख्न प्रेरित गर्यो । मैले १० हजार जति मूल्य पर्ने सामान व्यागमा राखें, यो नै मेरो जीवनका सबैभन्दा ठूलो चोरी बन्यो । यो चौर्य कृत्यले मलाई सधैँ पछ्याओ । कम्पनीका 'सैम्पल' स्कीमहरू, र पुरानो माल सामान 'डेस्ट्राय' गरी यसको क्षतिपूर्ति दिने मेरो अधिकारमा हुन्थ्यो । मैले त्यस चोरीको जरिमाना स्वरूप मित्र असीमलाई सैम्पल, स्कीम र पूरानो मालको सट्टा भर्नाबाट २५-३० हजार भन्दा बढी रकम उपलब्ध गराए । २० पीस सामान जलाइन्थ्यो भने म कम्पनीलाई ४० पीसको सिफारिस गरिदिन्थे । तर उनलाई के थाहा 'मैले आफ्नो कुकृत्य स्वरुप उनी माथी मेरहरवानी गरेको हुन्थे ।'
तर जति सोधभर्ना गरेपनि त्यो अपराध भावबाट कहिल्यै मुक्त हुन सकिन । चोरीको त्यो पैसाले पारुको समस्या समाधान भयो । यस घटनापछि म उनका लागि देवता तुल्य बने, केही वर्ष उनीसँग भेटघाट भयो । पछि जीवन भोगाइका क्रममा उनको साथ छुट्यो । पोहोर उनको घरमा फोन गरेको थिँए । उनको पिताजीले उनको विवाह भइसकेको र आफ्नो पतिका साथ आनन्दपूर्वक बाँचीरहेको सुनाए । डाक्टर भएकी पारुले 'म मुन्ना भाइलाई' पक्कै सम्झिन्छिन होला । मेरो चोरीले एउटा परिवारको सम्मान, मान, मर्यादा एवम एकजना युवतीको प्राण रक्षा गर्यो ।
मित्र असीम तपाईँ जस्तो सरल व्यक्ति प्रति गुनाह गर्ने यस अपराधीलाई क्षमा गर्नु होला ।अब त तपाईँ स्वयंम अध्यात्ममा लागेकाले मेरो तपाईँप्रति गरिएको अपराधको स्वीकारोक्तिले म प्रतिको तपाईँको भावमा केही परिवर्तन आउँदैन भन्नेमा विश्वस्त छु। बाकीँ तपाईँको विचार ।
आज सन्यासी जीवनबाट फर्केर हेर्दा आफ्ना जीवनका यस्ता श्याम पक्षबारे कुनै दृष्टिकोण बनाउन सक्दिन । कतै पढेको थिए, 'सबै सन्यासीको अतीत हुन्छ र सबै पापीको भविष्य' ! मेरो पनि अतीत थियो जसप्रति न गौरव छ न ग्लानि । यस घटनाको ८-१० वर्षपछि जीवनको मार्ग परिवर्तन गरेर अध्यात्म पथिक बनियो । जीवनमा पटक पटक स्वयमले अनेकौ बदमासी गरे पनि मेरो मनभित्र आदर्श, नैतिकता र इमान्दारिताको मूल्याङकन गर्ने न्यायाधीश भाव विधमान थियो । आफ्नै कृत्य माथि टीका टिप्पणी र मीमांसा गर्ने कार्य गर्दथ्यो यसले ।र, त्यस भावले दण्ड पनि निर्धारण हुन्थ्यो । ८-१० पटक चोरीको सहारा लिए होला जीवनमा, प्रत्येक पटक कुनै न कुनै भाँति स्वयंले स्वयंलाई दिएको दण्ड पनि व्योहोरे । पाठकहरुले यसलाई 'आफै बोक्सी आफै धामीको’ संज्ञा दिने स्वतन्त्रता छ, मेरो जीवन भोगाइलाई ढोँगी, पाखण्डी आदि जे भने पनि सत्य त उद्घाटित हुनै पर्छ / गर्नैपर्छ । यति गर्न सकिएन भने लियो टोलस्टॉय र गान्धीलाई पढ़ेक खेर जान्छ ।
कट्टर हिन्दु सनातनी धर्मालम्वी परिवारमा हुर्केको पृष्ठभूमिले मभित्र आदर्श र नैतिकताको अमूर्त पक्षपोषण गर्ने 'स्कूलिङ' थियो । बीतेको युग जति राम राज्य र वर्तमानलाई खतम गए गुज्रेको कलियुगी हेर्ने मानसिकता थियो मेरो दृष्टिकोण र हुर्काईमा । परिवर्तित जीवन शैलीमा पनि यो भाव यथावत नै थियो । स्वच्छन्द भ्रमणका क्रममा भारतका नाम चलेका अनेकौ गुरू र आश्रम हेर्दा यो भाव झनै घनीभूत भएको थियो । संसारभन्दा चौबर भ्रष्ट र व्यभिचार धार्मिक जगतमा पाए । हालिना, बुधपुरीजी महाराज, देव नारायण, प्रेमजीत सिरोही सदृश्य केही पात्र नभेटेको भए सायद म सन्यास जीवनबाट पनि पलायन गरिसक्ने थिए । यसै क्रममा एउटा अर्को नाम छ केदार पीठका शंकराचार्य श्री स्वरूपानन्दजी महाराजका परम शिष्य स्वामी श्री अविमुक्तेश्वरानन्दजीको ।
२०१० को हरिद्धार कुम्भको आरम्भमा उहाँसँग पहिलो भेट भएको थियो । भारतमा आदिगुरु शंकराचार्यले आफ्नो समयमा, केदार, श्रंगेरी , द्धारिका र पुरी चार मठको स्थापना गरी ४ वटा शंकराचार्यको परम्परा सुरु गर्नु भएको थियो । शंकराचार्य नामको प्रभाव र गरिमाले गर्दा समय क्रममा अन्य धेरै जनाले आफूलाई शंकराचार्य घोषित गरे ।
सामान्यजन नै हुन धर्मको परम्परा निर्वहन गर्ने माध्यम, उनीहरूको लोभ र भयले स्वनामधन्य शंकराचार्यहरूको पनि कारोबार राम्ररी चल्यो । अविमुक्तेश्वरानन्द जीले आफ्नो गुरूआज्ञा शिरोधार्य गरी सन २०१० को हरिद्धार महाकुम्भमा स्वयम्भु शंकराचार्यहरूलाई प्रवेश नदिने मुहिमको नेतृत्व गर्नु भयो । यसै क्रममा मेरो उहाँसँग भेट भयो। पहिलो भेटमै म उहाँसँग र उहाँ मसँग प्रभावित हुनु भयो । उहाँ सनातनी परम्पराको विडो थामी रहेको एउटा सशक्त खम्वा, म भने कुनै परम्परा नमान्ने स्वच्छन्द प्रवृतीको । म कुनै परम्परामा दीक्षित नभएको थाहा हुँदा हुँदै पनि उहाँले मसँग सन्यासी कै व्यवहार गर्नु भयो, सन्यासी कै आदर सम्मान गर्नु भयो । महाकुम्भ प्रशासनले अन्ततः ४ पीठका शंकाराचार्य बाहेक अन्य कुनै शंकराचार्य नामधारीलाई महाकुम्भमा आउने अनुमति 'दिएको अनुमति' रद्द गर्यो । स्वामी अविमुक्तेश्वरानन्दजीको विजय भयो, उहाले गंगा पुजन एवम भण्डारा आयोजना गर्नु भयो, सहयोगी सबैलाई सम्मान गर्नु भयो त्यसमा म पनि परे ।
एक दिन उहाँले फोन गरेर केही विमर्श गर्नुछ भनी बोलाउनु भयो । कुरा के रहेछ भने नेपालका हिन्दु संगठनले भारतका विभिन्न यस्तै सँगठनसँग मिली नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र हुनु पर्दछ भनी कार्यक्रम आयोजना गर्ने भएका रहेछन् । शंकराचार्यजीलाई प्रमुख अतिथीको रुपमा बोलाइएको रहेछ । योगी आदित्यनाथ, चिन्मयानन्द सरस्वती, चन्द्र स्वामी लगायत अनेकौ धार्मिक राजनैतिक पुरुषहरू आमन्त्रित हुनुहुन्थ्यो कार्यक्रममा। स्वामीजीले 'तपाईँ नेपालको वर्तमान वस्तुस्थितीसँग अवगत हुनुहुन्छ, यो धार्मिक भन्दा बढी राजनीतिक कार्यक्रम हो' । शंकराचार्य महाराजजीलाई नेपालको परिस्थिति एवम् महाराजजीले कुन 'एङल'बाट बोल्दा उपयुक्त हुन्छ, तपाईँले महाराजजीसँग बसेर विचार विमर्श एवम् परामर्श दिनु पर्यो। मैले शंकाराचार्य स्वरुपानन्द श्री महाराज जीलाई नेपालको तत्कालीन राजनैतिक अवस्था बारे संक्षेपमा वर्णन गरे । 'महाराजजी राजनैतिक दलहरुको मेलमिलापले देशबाट राजतन्त्र र हिन्दु धर्म दुबै हटेर धर्म निरपेक्ष गणतन्त्र स्थापना भएको छ।
जनसमुदायको स्तरबाट दुबैको विरोध भएको छैन। पूर्वराजाका आसेपासे र उहाँबाट पोषितहरू हिन्दु धर्म स्थापना हुनु पर्दछ भनी मन्दस्वरमा माग गरीरहेका छन् । तर उनीहरूसँग न लोकप्रियता नै छ न जनाधार नै । राजा आफैं भने मौन छन् । म आफैँ पनि केही समय यस अभियानमा लागेको तर यस अभियानमा लागेका सबै व्यक्ति जनसमुदायबाट तिरस्कृत भएको मध्यनजर गरी किनारा लागेको वर्णन गरे । र, 'नेपाल अर्को देश हो । त्यहाँका विषयमा दखल अन्दाजी नहुने गरी प्रस्तुत हुन' सुझाव दिए ।
आश्चर्य त तब लाग्यो ९० को उमेर हाराहारीमा रहनु भएका शंकाराचार्यजीले भोलीपल्ट कार्यक्रममा झण्डै मैले दिएको सुझाव अनुसार सम्बोधन गर्नु भयो । एक दुई पटकको भेटमै स्वामी अविमुक्तेश्वरानन्दजीले म माथी विश्वास गरेर एउटा महत्वपूर्ण कार्यक्रमका लागि हिन्दु धर्म सम्राटको सल्लाहकार बनाइदिनु भयो ।
उहाँले धेरैपटक मलाई आफूसँग बसी साधना एवम् सहयोग गर्ने प्रस्ताव दिनु भयो तर म जस्तो हावा र बादल झै डुली हिड्ने एक स्थानमा कसरी बाँधिन सक्थ्यो ! उहाँको मेरो माथी ’कमेन्ट’ हुन्थ्यो ’आप तो बस आप है' ।
उहाँको विद्धता, प्रत्युत्पन्नमति बारे मलाई उहाँसँगका केही भेटमै विदित भइसकेको थियो । भारतका धेरै सन्यासी मित्रहरू 'उहाँसँगको मेरो निकटता माथि आश्चर्य र ईर्ष्याभाव नै प्रकट गर्थे’। हरिद्वारका एकजना सन्यासी मित्र मार्तण्ड स्वामी भन्थे, श्री विद्या साधनाको उहाँ जति जानकार अर्को कोही पाउन गाह्रो हुन्छ । तपाईँ जति मेरो उहाँसँग सम्वन्ध भएको भए म सब कुरा छाडेर उहाँको शरणमा गइ श्री विद्या साधना सिक्ने थिए । तर मलाई कहिल्यै पनि कुनै विद्या सिक्ने , सिद्धी गर्ने विचार नै आएन । ।
उहाँसँग सन २०१३ को प्रयागराज महाकुम्भको भेट मेरा लागि अविस्मरणीय बन्यो । त्रिखण्डीका खप्पर बाबालाई साथ लिएर उहाँलाई भेट्न पुगेको थिए । म पुग्दा उहाँ आफ्नो कक्षमा ’इन्टरभ्यु’ दिदै हुनुहुन्थ्यो । उहाँका सहायक मयंक द्धारपाल बनी ढोकामा उभिनु भएको थियो । अरू सबैलाई द्धारबाट फर्काए पनि मयंकले हामी दुबैका लागि ढोका खोलि दिए ।
एउटा अत्यन्त सुन्दरीबाला 'इन्टरभ्यु' लिंदै थिइन । भारतको राजधानी नयाँ दिल्लीमा भरखरै निर्जला काण्ड घटेको थियो । ती युवतीले स्वामीजी सँग सोधिन,- देशको अवस्था खतम भइसक्यो । बाटोमा, बसमा महिलाहरू सुरक्षित छैनन, राजनीति प्रशासन सबै बेकम्मा भइकस्यो । यस्तो अवस्थामा तपाईँ धर्मगुरूहरूले आवाज उठाउनु पर्दैन? हिन्दू धर्ममा अत्याचार बढ्दा अवतार आउने परम्परा र विश्वास छ , के अवतार हुने बेला भएन र ?
स्वामीजीले बडो संयमित अलिकति पनि उत्तेजित नभइ भन्नु भयो- यो तपाईँको हेर्ने दृष्टिकोण हो कि वर्तमान खतम, बर्बाद, भ्रष्ट, भयो। पुरानोकाल स्वर्णकाल थियो । म तपाईँसँग सोध्छु अहिलेसम्म पुराना सभ्यताको उत्खननबाट प्राप्त सबै शिलालेखहरूमा, हिंसा पाप हो, चोरी पाप हो, मिथ्या आचरण नगर्नु , व्याविचारीले नर्कको यातना भोग्नु पर्छ आदि लेखिएको पाइएको छैन र ? ती युगका सबै मानिस सदाचारी थिए भने यी सब अर्ति उपदेश किन लेख्नु पर्थ्यो ?
यसले जनाउँछ ती युगका मानिस पनि अहिले सरहका नै थिए । तपाई भन्नुहुन्छ निर्जला काण्डले सबै खतम गरिदियो । बसमा, बाटो- दोबाटोमा महिलाहरू सुरक्षित छैन । के निर्जलाको पक्षमा जनस्तरबाटै सिंगै देश एक स्वरले उभिएन ? तपाई भन्नुस राजदरवारमा द्रोपदी माथि अत्याचार हुँदा जनस्तरको त कुरै छाडिदेउ, भीष्म -द्रोण- कृपाचार्य सदृश्यका राजपुरूष -राजगुरूहरूले विरोधमा एउटा स्वर किन निकाल्न सकेनन् ? त्यो युगमा राजमहिषी सम्म सुरक्षित थिएनन् । त्यो युग खतम कि वर्तमान युग !
वर्तमानको उपेक्षा- अनादर गरेर अतीतको गीत गाउनु अकर्मण्डयता हो । निर्जलाको पक्षमा सारा देश एक स्वरले उभिदा म वर्तमानप्रति झनै आशावादी भएको छु । द्रोपदीको रक्षा गर्न त समर्थवान आफन्तहरू नै अघि सरेनन् । घटनाका साक्षी बनी मूक भई बसे। त्यो स्वर्णकाल कि वर्तमान स्वर्णकाल ? राजमहलमा राजकन्या समेत सुरक्षित नहुँदा भगवानले अवतार लिनु पर्यो । आज त निर्जलाको लागि कोटि कोटि हात उठेका छन् । म वर्तमान र वर्तमानका युवा प्रति पूर्ण विश्वस्त छु, कही कसैमाथी अत्याचार हुनसाथ उनीहरू एकजुट हुन्छन् र देश एवम समाजको सुधार एवम सुदृढीकरणको लागि (युवतीतिर संकेत गर्दै) आइएसको जागीर छाडेर समाजसेवा एवम पत्रकारितामा लाग्छन ।
स्वामीजीको उत्तरले उपस्थित हामी सबैलाई अवाक तुल्यायो । कोठामा निस्तब्ता छायो । युवतीले अर्को प्रश्न गर्ने साहस गरिनन् । निस्तब्ता भङ्ग गर्दै मैले भने ’स्वामीजी यो कोणबाट त मैले सोचेकै थिइन, तपाईँको विद्धता र सकरात्मक सोचलाई कोटिशः वन्दन। तपाईँले आज मेरो ठूलो उपकार गर्नु भयो । म पनि वर्तमान प्रति नकरात्मक भाव राख्ने प्राणी थिए । आज तपाईँले मेरा आँखा खोलिदिनु भयो' । प्रति उत्तरमा उहाँले ’ज्ञानमित्रजी यो सब पनि मैले तपाईँ जस्तै मित्रको संगतले सिकेको हुँ' भन्नु भयो र उपस्थित समस्त जनलाई मेरो परिचय गराउनु भयो । ती युवतीसँग परिचय गराउँदा थाहा भयो आइएएस परीक्षा उत्तीर्ण गरेर पाएको सरकारी जागिर छाड़ी उनी अध्यात्म र समाज सेवामा लागेकी रहेछिन् । स्वामीजीसँग निरन्तर मेरो भेट भइराख्छ । उहाँको म माथी अपार स्नेह छ । कहिले काहिँ लाग्छ उहाँसँग मेरो केही कर्म बाँकी छ, के हो त्योकर्म ? त्यो अहिले मलाई विदित छैन ।
स्वामी अविमुक्तेश्वरानन्दजी महाराजले म प्रति संधै मित्र भाव नै राख्नु भयो। कहिल्यै आफु भन्दा जूनियर अथवा सड़क छाप सन्यासीको व्यवहार गर्नु भएन। उहाँलाई थाहा छ म परम्परागत सन्यासी होइन। मैले कसैलाई गुरु मानेको छैन, कुनै प्रकारको कोहीसँग दीक्षा लिएको छैन। कहिले काही फेसबुकमा उहाँसँग असहमति व्यक्त गर्दा उहाँका अन्य शिष्यले प्रतिक्रियामा मलाई तथानाम भने पनि उहाँले लेखेर नै तपाईँको दृष्टिकोण सर्वथा जायज छ भनी मेरो हौसला बढाउनु भयो।
स्वामीजी भन्नलाई त मेरो कोही गुरु छैन तर यो पनि सत्य हो मेरो एउटा गुरु तपाईँ पनि हो। तपाईँको एउटा शिष्य चरैवेति चरैवेतिको उपासक बनी जीवन लीलामा सम्मिलित छ। यो लीला यदि आगामी हरिद्वार महाकुम्भसम्म तन्कियो भने तपाईँको दर्शन पाउने सौभाग्य पुनः प्राप्त हुनेछ। मेरो प्रणाम स्वीकार गर्नुस !