प्रज्वल अधिकारी | साहित्य | पुस ०४, २०७७
श्रमलाई बादल बनाइदिन्छु
र, मेघसँग ठोक्काएर
बर्साइदिन्छु पसिनाको झरी
र, भिजाइदिन्छु–कलेटी परेको धर्तीको ओठ
निधारलाई फाँट बनाइदिन्छु
र, मेहनतकोे कलमले देखिने गरिनै लेखिदिन्छु
कर्मका सुनौला अक्षरहरू
दिमागको खोपिल्टोमा बिचारको बीउ छर्छु
र, हराभरा बनाउछु–बाँझो मगज
ओठको आँगनमा मुस्कानको फूल फुलाउँछु
र, खुशीको बगैँचा भएर मगमगाउँछु
हृदयको गरामा भावनाको खेती गर्छु
र, प्रेमको भकारीमा मायाले भरिन्छु
आँखामा देश सजाइदिन्छु
आँखी भौँ र परेलालाई
सुरक्षार्थ खटाइदिन्छु
बोलीलाई मन्त्र बनाइदिन्छु
हातलाई यन्त्र बनाइदिन्छु
गोडालाई यात्री बनाइदिन्छु
छातीलाई बनाएर पर्खाल
मुटुजस्तो कोमल देश जोगाउन हरदम लागि पर्छु
र, धड्काइरहन्छु देशको ढुकढुकी
नङ्ग्रा खियाएर
उदास डाँडाहरूमा पोतिदिन्छु हरियो रंग
ढाडलाई बनाइदिन्छु– देशको मेरुदण्ड
र मजबुत काँधले जुरुक्कै उचालेर– देशको स्वाभिमान
पूरा गरिदिन्छु–सन्तान हुनुको अभिभारा
यो मेरो कायालाई देश बनाइदिन्छु !
यति गर्दागर्दै सकिएछ भने मेरो देह
निस्सन्देह म माटो बनिदिन्छु ।
लमजुङ