गणेशप्रसाद खतिवडा | साहित्य | पुस ०४, २०७७
बाँधी कर्मठ पाखुरा युवक हो हेरेर बस्छौ किन ?
तिम्रो आरन तान हाल अहिल्यै यो देशमा पाइन
हे कुञ्जो, बसिला, छिनो र घनले आशा जगा देशका
चिल्लो पार्न मुहारमा मुलुकको बिर्खे तँ रन्दा लगा ।
एकै आँगनमा फुल्यो बहुलता हुर्क्यो यहीँ एकता
जङ्गे पिल्लर कुर्दछस् दशगजा लौ हाल तेरो बता
वैरी हेर्छ कुदृष्टिले यदि भने जा मार्न भाला खुँडा
हे मुङ्ग्रो अब वैरभाव सब ठोक् अस्तित्व मेरो बचा ।
माटोभित्र भविष्य कोर्दछ हलो बाँझो फुटालीकन
भर्सेलीतिर सुक्दछन् सरङमा आला तिता अड्चन
नौनी खार्न समृद्ध पार्न सपना ठेकी मदानी चला
लिस्नो बन् अब देश उक्लिन सकोस् उत्थानका नौ तला ।
दाँदे स्वच्छ विचारको जमिनमा गाडूँ हुँडल्दै हिलो
डल्लेठो अब आ फुटा विकृतिका डल्ला बना थङ्थिलो
नर्सिंहा अब आ र जागरणको चर्केर सन्ध्या जगा
ट्याम्को मादल खैँजडी मुलुकको विस्तारको गान गा ।
कस्तो मौसम प्राप्त भो मुलुकमा साह्रै सफा निर्मल
आमाको स्तन पोषिलो छ जसरी त्यस्तै हिमाली जल
सारा देश पखाल्न स्वच्छ जलले बग्ने नदी छन् कति
भ्रष्टाचार बगाइदे मनहरा आचार ले वाग्मती ।।
सोलुखुम्बु