देवकी अभिलाषी | साहित्य | पुस ०४, २०७७
चराहरुले मङ्गल गीत गाउँनु अघि
जीवनको आरती गाउँछिन् आमा
अनि मात्र बिस्तारै खुल्न थाल्छन्
घरका श्यामश्वेत आँखाहरू ।
अँध्यारोको अन्तिम गीत नसकिदै
बज्न थाल्छ पँधेरोमा
सङ्गीतको आदिम धून
पानीका घैलाहरुमा सुरु हुन्छ
जीवनको प्रिय सिम्फोनी
कलिलो घाम बामे नसर्दै
फर्किन्छिन् आमा जङ्गलको रंगशालाबाट
र सल्काउँछिन् भोक जस्तै दाउराहरुलाई
अक्सर हरेकदिन
बनाउँछिन् आमा हाम्रो लागि
आँगनभरी उज्यालो रङ्गहरुको क्यान्भास ।
हामीले गाउँ छाडेपछि
बर्षौदेखि एक्लैछिन् आमा
इतिहास जस्तो घरमा
जुनकिरीहरु साथी छन्
बटुवाले हिँड्न भुलेका
रित्ता बाटोहरु जस्ता यादहरु साथी छ्न्
बर्षौदेखि फ्रेममा बेहिसाब हाँसिरहेका
बा का धमिला तस्विरहरू साथी छन्
लाग्छ
मेरी आमा
कसैले लेख्न नसकेको
एउटा अदभूत महाआख्यान ।
आमाको अनुहार भरि छन्
पहाडी बाटो जस्तै नागबेली सपनाहरु
जुन बाटो हिँडेर आईपुगेको हुँ म
सपनाको आधार शिविर सम्म
हिउँ जस्तै फुलेको केस
सुरुङ्ग जस्तै गहिरिएका आँखा
हिँड्न सिकाउँने आमाका प्रेमिल औँला
पृथ्वी थामिरहेका खुट्टा
आफ्नै जिन्दगी भन्दा गह्रौ
आकाश बोकिरहेको शीर
हरेक दिन पढिरहेछु म आमाको आँखामा
प्रेमको अन्तिम सौन्दर्यशात्र ।
एक साँझ
शहरमा लोरी गाइरहेका चराहरुसँग
म पनि उडेर गए गाउँमा
र भेटें आमालाई
बूढो जुन जस्तै आमाको काखमा
बगिरहेथ्यो एउटा कर्णाली ।
अहो ! मलाई मेरी आमा
धरतीको सबभन्दा
महान विश्वविद्यालय लाग्छ ।
दोलखा