रेजिना आपगाईँ | साहित्य | पुस ०४, २०७७
हृदयमा शान्तिका मुनाहरू अङ्कुरित भएपछि
सगौरव तिम्रो समीपमा आइपुगेको छ
यो शान्तिदूत,
मेरी प्रिया !
म श्री अन्तुको सूर्योदयसँगै
आइपुग्ने छु अपीसैपालमा
पोल्टाभरि शान्तिका सगुनहरू लिएर
तिमी सिरमा हिमशैलका सिरताज पहिरिएर
तराईका उर्वर फाँटका रातानिला
पच्छ्यौरी ओढेर मलाई पर्खेर बस है ।
हामी प्रणय सफरमा निस्कौँला एकैसाथ
पुगौँला राराफेवा अनि महाकाली,
र गुन्जाउँला समृद्ध नेपाल निर्माणको
मिठो धु्न,
चाँदनीले परेलाहरू नझिम्क्याउँदै
तरौँला सप्तकोसी
र पुगौँला कञ्चनजङ्गा
हामी सँगै गाउँला हाक्पारे र पालाम
अनि च्याब्रुङ ढोल बजाउँला र नाचौँला
साकेला र धाननाच ।
तिमी षोडशी यौवनको उन्मादले
मदहोस बनेको बेला
हामी तिनजुरेको गुराँसमाथि
मधुरात्री मनाउँला
र रोपौँला तिम्रो गर्भमा
शान्तिको वंशाणु
अनि जन्मने छ
यो देशको भविष्य ।
नेपाल आमाका वक्षस्थलमा
पराइले रोपेका अतिक्रमणका
भालाहरू निकालेर
ठड्याउँला जङ्गेपिलर
मेचीमहाकालीभन्दा पर,
अनि कोरौँला हाम्रा रगतका मसीले
नेपालको अकाट्य मानचित्र
त्यसबेला
हामी एकजोर सेता परेवा उडाएर
विजयोत्सव मनाऔँला
बालेर शान्तिको अखण्ड दीप
हेरौँला तीन करोड आँखाले
सुन्दर, शान्त र समृद्ध नेपाल ।
– रेजिना आपगाईँ
तेह्रथुम