निष्कपट, कर्मशील तथा निर्मोही मित्र गाेपाल बास्कोटासँगकाे असामयिक बिछोड !

फर्कलान् र ती दिनहरू

निष्कपट, कर्मशील तथा निर्मोही मित्र गाेपाल बास्कोटासँगकाे असामयिक बिछोड !

हरिविनोद अधिकारी  |  साहित्य  |  पुस ०४, २०७७

यादहरू हप्तापिच्छे लेखिँदा फाइदा पनि हुने रहेछ, बेफाइदा पनि हुने रहेछ । फाइदा के भने पुराना यादहरूको भेलमा समसामयिक विषयमा निरन्तर त्यही बहानामा लेख्न पनि पाइने, अनि बेफाइदा के भने जीवनको भोगाइको क्रममा भने त्यो नहुने । तर पनि भोग्ने मानिसले, अनुभवहरू जम्मा गरेर मौरी जस्तै हुने मानिसका लागि जहाँबाट सम्झे पनि आफ्नै सम्झना हो र आफ्नै निजी यादहरूको भेल हो ।

मैले यहाँ सम्झनाहरूको भेल किन भन्न रुचाएको भने त्यो भेल कुनै बेलामा जीवनको अभिन्न अङ्ग रह्यो तर अहिले मात्र सम्झना छ जस्तो कि नदी, खोलाको भेल त्यही बेलामा आयो । कुनै भेलले बाढीको रूप लिएर तहस नहस गरेको होला, कुनै भेलले बगाएको ठाउँमा पनि पाँगो माटो ल्याएर पहिलेभन्दा पनि राम्रो र सम्म गराहरू बनाएर गयो होला । कुनै भेलले मानिसहरू बगाएर लग्यो होला त कुनै भेलले खोलामा पानीको मूल नै फुटाएर पछिसम्म पानी नै पानी बनायो होला खोलामा, कुलामा र खेतमा पनि । 

यस्तै यादहरूको भेलमा जब जँघार तर्न थालिन्छ, कुनै भेलले बगाउला जस्तो गरी लछार्छ खोज्छ त कुनै भेलले विस्मृतिको गर्भमा रहेका महत्त्वपूर्ण रत्नहरू फुत्त फुत्त बाहिर ल्याइदिन्छ । कति यादहरू यसरी विस्मृतिमा फसेका हुन्छन् कि झालाकझुलुक्क कता हो कता ! बिर्सन लागेको सपना जस्तै देखिन्छन् र फेरि नयाँ ठाउँको जात्रा मात्राको भीडमा साथीको हात छुटेपछि जस्तो कता हो कता रुमल्लिनु पर्छ । न त ठाउँको सम्झना हुन्छ, न त ती असम्पर्कित व्यक्तिहरूको नाम ठेगाना सम्झनामा आउँछ तर कतै न कतै विस्मृतिको गर्भमा रहेका कुराहरू बिस्तारै अहिलेको बेलामा जस्तै गरी स्मृतिमा आउन थाल्छन् । 

मलाई पनि अहिले सानोठिमी कलेजका ती दिनहरू(२०३२-३४) र ती दिनका साथीहरू यस कारणले सम्झना आउन थालेको छ कि मेरा साह्रै मिल्ने एक जना मित्र तथा शिक्षक नेता गोपालप्रसाद बास्कोटाको निधन भएको कुरा सामाजिक सञ्जालमार्फत यही २०७७साल मङ्सिर ३० गते दिउँसो थाहा पाएँ । उहाँको निधनपश्चात् उहाँसँग सम्बन्धित यादहरू आउन थाल्नु स्वाभाविकै हो । उहाँ मध्य धनेश्वर स्थित  रत्न राज्य माध्यमिक विद्यालयमा धेरै वर्षसम्म प्रधानाध्यापक भएर शिक्षाको सेवा गर्नु भयो । मैले भेट्दा उहाँ सेवाकालीन शिक्षकको रुपमा सानोठिमी क्याम्पसमा लेखा विषयको स्नातक तहको चौथो सेमेस्टरमा हुनुहुन्थ्यो । म पनि २०३२ सालको हिउँदे सेमेस्टरको भर्नामा सानोठिमी क्याम्पसमा सचिवालय विज्ञानका लागि भर्ना भएको थिएँ । पछि सचिवालय विज्ञानबाट लेखा मूल विषय लिएर पढेँ । सचिवालय विज्ञान र लेखा दुवै व्यवसाय विषयअन्तर्गत पढाइ हुने विषयहरूका दुई धार थिए । फरक के थियो भने लेखामा लेखालाई मूल विषयको रुपमा पढाइन्थ्यो भने सचिवालय विज्ञानमा टाइप राइटर र सर्टह्यान्डलाई मूल विषयको रुपमा लिइन्थ्यो । कतिपय विषयहरू साझा हुन्थे । 

नयाँ शिक्षा योजनाअन्तर्गत शिक्षकहरूको तालिमका लागि नेपालभर अरु क्याम्पस पनि थिए । कलेज अफ एजुकेसनमा विषयगत तालिम हुन्थ्यो भने राष्ट्रिय व्यावसायिक तालिम केन्द्रमा व्यावसायिक तथा पूर्व व्यावसायिक विषयहरूको तालिम दिइन्थ्यो । सानोठिमीमा कृषि शिक्षा, व्यवसाय शिक्षा(बिजिनेस एजुकेसन), गृह विज्ञान शिक्षा र औद्योगिक शिक्षाको तालिम दिइन्थ्यो । त्यो बेलामा सानोठिमी क्याम्पसमात्र व्यावसायिक विषयको प्रवीणता प्रमाणपत्र र स्नातक तहको पढाइ हुने थियो अमेरिकी सरकारको सहयोगमा खुलेको । पूर्व व्यावसायिक र व्यावसायिक विषय भनेर हामीले बुझ्थ्यौँ । प्रवीणता प्रमाणपत्र तह अर्थात् आइएड भनौँ न । सानोठिमीमा पूर्व व्यावसायिक विषयको र अरु शिक्षा क्याम्पसहरुमा विषयहरूको कक्षा लिएर आगामी शिक्षकहरूको तयारी गरिन्थ्यो ।

सानोठिमी क्याम्पसकोे सम्झनाले किन सतायो अहिले भने मेरो र गोपालजीको भेट त्यही क्याम्पसको बीएड को कक्षामा भएको थियो । उहाँहरू अर्थात् गोपाल बास्कोटा, सीताराम आचार्य, गोपाल भण्डारी, खेमराज सेढाईँहरुको एउटा राम्रो समूह थियो । त्यसमा गोपालजीमात्र लेखा समूहको हुनुहुन्थ्यो । हामी ६ जना (म, सुरेन्द्र लाखे, सीताराम प्रजापति, रामबहादुर थापा, विष्णु भण्डारी र तेजबहादुर गुरुङ) चाहिँ पहिलो हिउँदे सेमेस्टरमा भर्ना भएर पढ्न थालेका थियौँ । मेरो गोपालजीहरूको समूहसँग मित्रता रह्यो । हामी त्यो समूहमा गोपालजीको मात्र निधन भएको हो । हामी पहिलो सेमेस्टर र  उहाँहरूको चौथो सेमेस्टरको कक्षा साझा थियो-मानव विकास (ह्युम्यान डेभेलपमेन्ट) र पाठ्यक्रम पुनरावलोकन( करिकुलम ओभरभ्यु) । वास्तवमा त्यो पाठ्यक्रम चौथो सेमेस्टरको  लागि नै थियो तर हामी नयाँ सेमेस्टरलाई मिलान गर्नका लागि चौथोसँग मिलान गरी पढाउन थालिएको रहेछ । सायद त्यो हाम्रो सेमेस्टर नै हिउँदे सेमेस्टरको पहिलो र अन्तिम सेमेस्टर रह्यो क्यारे ! 

गोपालजी त्यहाँ आउने विद्यार्थीमध्ये आफ्नै मोटर साइकल भएको विद्यार्थी हुनुहुन्थ्यो । अग्लो ज्यान, राम्रो अनुहार र सधैँ हँसिलो स्वभाव भएकाले पनि गोपालजीले सबैलाई आकर्षण गर्नुभएको थियो । गोपालजी कुनै पनि विषयमा टाइप गर्नुपर्दा सबैभन्दा पहिले हात उठाएर काम गर्नुहुन्थ्यो । विद्यालयबाट सेवाकालीन तालिममा आउनु भएको भए पनि विद्याको बेलामा विद्यालयमा कक्षा लिएर पनि आफ्ना विद्यालयलाई सहयोग गरिरहनु भएको थियो भन्ने सुनिन्थ्यो । २०३२ सालदेखिको मित्रता उहाँको जीवनपर्यन्त हाम्रो बिचमा रह्यो । 

हाम्रो चिनजान कुनै पारिवारिक कारणले भएको थिएन, मलाई अहिले पनि उहाँका पिताजीको नाम थाहा छैन र सायद उहाँलाई पनि मेरा बाको नाम थाहा थिएन किनभने हामी कर्मभूमिमा भेटिएका थियौँ । सुरुमा क्याम्पसका साथीको रुपमा कक्षा कोठामा अनि शिक्षकको रुपमा कर्मभूमिमा काठमाडौँका विद्यालयहरूमा पढाउने शिक्षकका रुपमा । हाम्रो सिद्धान्त मिल्थ्यो, हामी प्रजातन्त्रप्रति समर्पित थियौँ अनि पेसागत रुपमा आफ्ना विद्यार्थीको प्रगतिप्रति आस्था वान थियौँ र आम शिक्षकहरूको पेसागत निष्ठाका साथै भौतिक आवश्यकता पूरा गर्न पनि कटिबद्ध थियौँ । मित्रताका लागि सायद मन मिल्नु जरुरी थियो अनि प्रतिबद्धता, कटिबद्धता र भविष्यप्रतिको आस्थाले मित्रताको डोरी कसिलो बनाएको थियो हामीबिच ।

त्यो ताका काठमाडौँमा नाम चलेका सरकारी विद्यालयहरूका प्रधानाध्यापकहरू पद्मोदय स्कुलका संस्थापकहरुमध्येबाट हुनुहुँदो रहेछ । जस्तो कि पद्म कन्या विद्याश्रम, डिल्लीबजारमा हेड मास्टर ईश्वरराज अर्याल, रत्नराज्य मावि, वानेश्वरमा हेड मास्टर लक्ष्मीप्रसाद अधिकारी, पशुपति मित्रमा हेड मास्टर आनन्दप्रसाद ढुङ्गाना, पद्मोदयमा कृष्णबहादुर मानन्धर हुनुहुन्थ्यो । जुद्धोदयमा रामजीप्रसाद शर्मा हुनुहुन्थ्यो । त्यो सायद राणाहरूको प्रतिस्पर्धामा पद्म समसेरको पद्मोदयको , पद्म कन्याको समानान्तररुपमा जुद्ध समशेरको नाममा पनि खुलेको हुनुपर्छ । पद्मोदयका संस्थापकमध्येका गौरीप्रसाद राजभण्डारीचाहिँ ईश्वरराज अर्याल सरसँगै जानु भएछ पद्म कन्यातिर भने झंकबहादुर सरचाहिँ पद्मोदयमा नै रहनु भएछ । 

जुनबेलामा मैले गोपालजीलाई चिनेँ, त्यो बेलामा श्री ५ रत्नराज्य लक्ष्मी माविमा प्रधानाध्यापक लक्ष्मीप्रसाद अधिकारी हुनुहुन्थ्यो तर युवा समाजसेवीको रुपमा उदाउनु भएका गोपालजीलाई नै त्यो बेलाका श्री ५ रत्न राज्य माविका संस्थापकहरूले विश्वास गरेका थिए । ती संस्थापकहरूमा हरिबोल भट्टराई, श्रीराम बास्कोटा पनि हुनुहुन्थ्यो सायद । मेरो विचारमा, आफ्नो प्रवेशिका परीक्षा दिने बित्तिकै दाजुहरूले त्यो विद्यालयमा उहाँलाई स्वयं सेवकको रुपमा शिक्षक बनाएको हुनुपर्छ । जे होस् , सेवाकालीन तालिममा रहँदा पनि गोपालजीले विद्यालयको काममा प्रधानाध्यापकलाई सहयोग गरिरहेको हामी थाहा पाउँथ्यौँ । पछि त्यहीँ प्रधानाध्यापक हुनुभयो र विद्यालयलाई आजको अवस्थामा ल्याउन ठुलो परिश्रम गर्नुभयो । पछि हामी नेपाल माध्यमिक शिक्षक सङ्घमा रहँदा उहाँलाई केन्द्रीय सङ्घको महासचिव बनायौँ र उहाँको अध्यक्षमा शिक्षक नेता विमल कोइराला हुनुहुन्थ्यो ।

विमल कोइरालाको पनि केही वर्ष अघि नै देहावसान भएको छ । विमल दाइ निडर हुनुहुन्थ्यो र तत्कालीन प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठसँग ठा-ठाडै बाझ्न सक्नुहुन्थ्यो । उहाँमा पिताजी कृष्णप्रसाद कोइरालाको नाति, मातृका बाबुको छोरा, बिपीको भतिजो भएकामा भन्दा एउटा शिक्षक भएर केही गर्न पाउनु नै गर्वको विषय भन्नुहुन्थ्यो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा भएको विवादले नेपालमा प्राथमिक तथा माध्यमिक शिक्षकहरूका सङ्गठन खोलिए र हामी प्रजातन्त्रवादीहरुले ती संगठनहरुमार्फत् नै आफ्ना पेसागत हक हितका कामहरू गर्ने निधो गरेकाले हाम्रो तर्फबाट महासचिवमा गोपाल बास्कोटा र केन्द्रीय सदस्यमा केशवप्रसाद भट्टराईले भूमिका निर्वाह गर्ने गरी काम तोकेका थियौँ हामीले नै । गोपालजीले महासचिवका रुपमा धेरै खट्नु भयो र आजको प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका शिक्षकहरूको तीन तह तयार गर्नका लागि धेरै परिश्रम गर्नुभयो । 

मेरो त एकदम मिल्ने साथीको रुपमा हुनु नै हुन्थ्यो । पछि कक्षा ९ र १० लेखाको परिमार्जित पुस्तक (१०० पूर्णाङ्क) तयार गर्दा सौभाग्यवश गोपालजी, म, डिल्लीराम रिमाल र होमबहादुर कुँवर(तत्कालीन प्र, पाटन मावि ,पाटन ढोका) सँगै भयौँ । कक्षा ९को पुस्तक तयार हुँदै गर्दा उहाँलाई अर्बुद रोगले भेट्यो तर हामीले उहाँका नाममा पुस्तक लेख्यझैँ र आउने पारिश्रमिक भागबन्डामा वितरण गरेका थियौँ । खास गरी उहाँ महासचिव हुँदा साङ्गठनिक काममा मैले सहयोग गरेँ किनभने उहाँका सफलतामा नै हाम्रो पनि सफलता हुन्थ्यो । अत्यन्त खट्न सक्ने । एकातिर धेरै विद्यार्थी भएको विद्यालयको प्रधानाध्यापक, अर्कोतिर आफ्नो कक्षा नछोड्ने बानी, अर्कोतिर केन्द्रीय सङ्घको महासचिव । तर ती सबै भूमिकामा उहाँले जुन तरिकाले कार्य सम्पादन गर्नु भएको थियो, त्यसका लागि उहाँलाई सबैले असल व्यवस्थापक मानेका थिए । त्यही ताक विद्यालयबाट एस एल सीमा बोर्ड फर्स्ट पनि आयो, अनि असल शिक्षक र राम्रो विद्यालयका प्रअको रुपमा पनि उहाँको गणना हुन थाल्यो । 

निधनको समाचार सुनेदेखि मेरो मनमा, मस्तिष्कमा गोपालजी मात्र छाउनु भएको छ र पुराना यादहरू लेख्ने क्रममा पनि मेरो मनमा पुराना कुराहरूमा गोपालजीमात्र आउनु भयो । कोरोना कहरले गर्दा एक अर्कासँग भेटघाट नभएको पनि करिब एक वर्ष भयो , यहीबिचमा श्रद्धेय मामाको निधन र मिल्ने साथी गोपालजीको बिछोडले पनि नश्वर संसारको लीला झन् झन् चहकिलो भएर जेहनेमा टाँसिएको जस्तो लाग्न थालेको छ । मरे पछि रहने यश, कीर्ति र काम मात्र हो , त्यो गोपालजीको मनग्गे छ भन्ने हामी समकालीनहरूलाई स्मृतिमा ताजा छ । 

उहाँलाई जब जब शिक्षकको जरुरत पर्थ्याे, मलाई राम्रो शिक्षक खोजेर पठाउन भन्नुहुन्थ्यो र मैले करिब १५जना साथीहरूलाई बेलाबेलामा त्यो विद्यालयमा शिक्षक हुनका लागि प्रतिस्पर्धामा पठाएँ र ती सबै छानिएका थिए । एउटा थियो अशोक भुजेल भन्ने भाइ । उनले प्रवेशिका उत्तीर्ण गरेका थिए र हेडसर भरतकुमार प्रधानले उनलाई काममा राख्नु भएको थियो । उनी महोत्तरीको बर्दिबासका थिए । उनी कीर्तिपुरको लेबोरेटरी स्कुलमा बसको ड्राइभरको सहयोगी बनेका थिए । स्कुलको होस्टेलमा बस्थे, बिहान बेलुका होस्टेलमा सहयोग गर्थे । एक दिन मैले गोपालजीलाई भुजेलहरूको इतिहास बताएँ र भनेँ - एउटा भुजेललाई काठमाडौँको विद्यालयमा शिक्षक बनाउनु भयो भने तपाईँको विद्यालयको मात्र होइन, एउटा पीडित जातिप्रतिको क्षतिपूर्ति पनि हुनेछ र  सम्मानका साथ उसले समाजको मूल प्रवाहमा आफूलाई पाउने छ । गोपालजीलाई मेरो कुराले चित्त बुझ्यो र तत्काल नै उनलाई प्राथमिक तहको शिक्षक दरबन्दीमा विद्यालयको निजी पैसामा राख्नु भयो र पछि सरकारी दरबन्दीमा पार्नुभयो ।त्यही अशोक भुजेलले त्यहीँ हुँदै स्नातकोत्तर उत्तीर्ण गरी अहिले सायद कुनै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा सल्लाहकारको रुपमा काम गर्दै छन् भन्ने सुनेको छु ।

त्यस्ता धेरै साथीहरू छन् जसले गोपालजीको सहयोगमा आफ्नो कर्मलाई उजिल्याएका थिए र भावी दिनका लागि आफूलाई सक्षम नागरिक बनाउन सक्षम बनाएका थिए । उहाँ माध्यमिक शिक्षक सङ्घको महासचिव हुँदाहुँदै नेपालमा बहुदल आयो, अनि हामीले प्राथमिक र माध्यमिक सङ्घका साथीहरू मिलेर नेपाल शिक्षक सङ्घको स्थापना गर्‍यौँ । गोपालजीले सहर्ष आफ्नो पदलाई तिलाञ्जलि दिनु भयो र कुनै पनि पदका लागि केही पनि भन्नु भएन । उल्टै नेपाल शिक्षक सङ्घका लागि माध्यमिक शिक्षक सङ्घका सामानहरू दिनु भयो मानौँ उहाँको अपेक्षा नै प्रजातन्त्रवादीहरूको बेग्लै शिक्षक सङ्गठन स्थापना होस् भन्ने थियो । रत्न राज्य स्कुल भनेको एक प्रकारले शैक्षिक केन्द्रको रुपमा गोपालजीले विकास गरेर जानु भयो । साँच्चै भनौँ भने गोपालजीमा एउटा त्यस्तो ज्ञानको भोक थियो जसले रत्न राज्य स्कुलको मात्र विकास गरेको होइन कि वानेश्वर क्याम्पसको पनि स्थापना आफ्नै विद्यालयको हाताबाट सुरु गर्नुभयो । स्थापनाकालमा सायद सहायक क्याम्पस प्रमुख भएर क्याम्पसको शैक्षिक अवस्थालाई सुरुवात गराउनु भएको थियो । 

गोपालजीको व्यक्तित्व सबैसँग मिल्ने थियो । काठमाडौँमा हामी सङ्घ सङ्गठनले गर्ने कामहरूलाई विना भेदभाव प्रधानाध्यापकहरूको बैठकमा राखेर अनुमोदन गराउँथ्यौँ जसमा गोपालजीको धारणाले जहिले पनि अनुमोदन पाउँथ्यो । सबैले उहाँको भनाइलाई मान्थे । शिक्षक सङ्घको नेता भएर पनि सङ्गठनका साथीहरूले समेत उहाँको सम्मान गरो पाइन्थ्यो । पछि उहाँ शिक्षक नेताहरूका कतिपय कामहरूमा चित्त बुझाउन छोड्नु भएको थियो किनभने सङ्घ सङ्गठन वैचारिकरुपमा जहाँ भए पनि आपसमा मिलेर काम गरुन् भन्ने चाहना राख्नुहुन्थ्यो किनभने  आफूले निःस्वार्थरुपमा शिक्षकहरुको आन्दोलनलाई अघि बढाएर शिक्षक सङ्घको स्थापनासम्म ल्याउन कोसिस गर्नु भएको थियो । 

सुनेँ, २०७७साल मङ्सिर ३० गते दिउँसो, उहाँको निधन भयो । तर उहाँको निधन २९ गते राती नै भएको भन्ने पनि सुनेँ । उमेर करिब ७० वर्ष हुनु भएको हुनुपर्छ । हाम्रो पेसागत चलन अनुसार माध्यमिक तहको प्रथम श्रेणीमा बढुवा हुनुभएको थियो । 

उहाँ धेरैका मिल्ने साथी हुनुहुन्थ्यो तर हामीलाई लाग्थ्यो, हाम्रो मात्रै बढी मिल्ने साथी हो । र अझ मलाई लाग्थ्यो मेरो नै सबैभन्दा बढी मिल्ने साथी हो । मेरो मिल्ने साथीसँग पोहोर मात्र घरैमा गएर म र डिल्ली रिमाल भाइले भेटेका थियौँ । अलि पहिले नै जाने भनेका थियौँ तर होमबहादुर कुँवर दाइलाई पनि लिए सँगै जाने भन्दा हामी तीन जनाको मिलेर गोपालजीको घरमा जाने भनेको भ्यागुताको धार्नीजस्तै भयो । अनि म र डिल्ली भाइ गएका थियौँ । उहाँले क्यान्सरलाई त जित्नु भएको थियो तर घुँडाको समस्याले हिँडडुल गर्न नसक्ने हुनुहुँदो रहेछ । जब जब मेरा लेखहरू अनलाइनमा या पत्रिकामा देख्नु हुन्थ्यो अनि पढेर मलाई जिस्क्याउनु हुन्थ्यो - म त तिमीलाई पत्रिका वा अनलाइनमा भेट्छु छ र तिमीहरू मेरो घरमा आउन भ्याउँदैनौ जस्तो छ, अब म नै ट्याक्सी खोजेर तिमीहरूका घरमा भेट्न आउने भएँ । अनि म भन्थेँ-अबको एक हप्तामा त पक्कै आउँछौँ । र म त डिल्ली भाइ त पोहोर दसैँपछि गयौँ र भेट्यौँ । यो कोरोना कहरमा कतै गइएको छैन र यही बिचमा अत्यन्त मिल्ने साथीसँग बिछोड हुनु पर्ने रहेछ । उहाँको इतिहास भनेको त्यही रत्न राज्य विद्यालय हो, उहाँको कर्मभूमि भनेको पनि त्यही विद्यालय हो र उहाँको जीवनको  सबै उपार्जन भनेको नै त्यही  रत्न राज्य विद्यालय हो । उहाँकी श्रीमती, मेरी बहिनी भन्छु म गीता बास्कोटा(अधिकारी )पनि त्यही विद्यालयबाट निवृत्त भएकी छिन् भर्खरैजस्तो । 

एउटा परिवार सिङै एउटा विद्यालयका लागि न्यौकावर भएको रहेछ । बास्कोटा परिवार । सायद तराईतिर कतै मौजामा खेती पनि थियो क्यारे ! धादिङतिर कतै पुरानो घर जग्गा पनि थियो क्यारे ! तर उहाँले ती सबै वास्ता नगरेर मात्र रत्न राज्य विद्यालयको भौतिक तथा शैक्षिक विकासमा आफूलाई समर्पण गर्नु भएको थियो । पछि बिरामी भएपछि पनि एउटा सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो । 

एउटा सरल, निष्कपट तथा संस्थाको लागि सधैँ लागिरहने कर्मयोगी गोपालजीको अवसानले हामी समकालीन साथीहरूका लागि ठुलो क्षति हो । हुन त जन्मेपछि को पो सधैँ बाँचिरहने हो र ? तर जानका लागि एउटा कल चाहिन्छ रे काल आउन भन्थे । सायद यस पटकको महामारीले मेरो मिल्ने साथीलाई टपक्क टिपेर लगेछ भन्ने  सुनेँ । जसरी लगे पनि कालले लगेकै हो, अब हामी माझ गोपालजीको भौतिक शरीर रहेन, मैले त्यही बुझेँ । त्यही मनन गरेँ ।

आगामी पुस्ताका शिक्षकहरूले, शिक्षक नेताहरुले गोपालजीको जीवनचक्रबाट सिक्ने कुरा धेरै छन् । सरल, अडान भएको, निष्कपट, लगनशील, कर्मशील तथा धैर्य वान शिक्षाविद्, व्यवस्थापक तथा नेताको रुपमा उहाँको गणना गरिन्थ्यो । त्यस्तो मित्रलाई मेरो भावपूर्ण श्रद्धाञ्जली । त्यस्तो धर्म प्राण कर्मशील प्राणीको पक्कै स्वर्गवास हुनेछ भन्ने मान्यता छ । बहिनी गीता,  भान्जा , भान्जी तथा बास्कोटा परिवारमा पर्न गएको यो दैवी मार सहने शक्ति भगवान्ले दिउन् र श्री ५ रत्न राज्य विद्यालयले पनि उहाँको स्मृतिमा उहाँको प्रतिमा विद्यालय प्राङ्गणमा बनाएर भावी पिँडीका लागि एउटा उदाहरणीय व्यक्तित्वको जीवन्त इतिहास  राखोस् भन्ने कामना गर्दछु । म बाहिरबाट सम्पर्कमा रहने व्यक्ति हुँ । उहाँका कामहरूबाट प्रभावित भएको व्यक्ति हुँ । मलाई त यति धेरै जानकारी छ भने उहाँसँग काम गरेका सहकर्मी तथा उहाँको परिश्रमबाट सिञ्चित विद्यालयमा रहेकाहरूलाई कति धेरै थाहा होला उहाँका बारेमा, त्यसको कृति त्व तयार गरुन् विद्यालय परिवारले भन्ने पनि मेरो कामना छ । 

एउटा असल साथी गुमाउँदा ठुलो चिन्ता हुने रहेछ । उहाँको निधनको समाचार सुनेदेखि मेरो मनमा, मस्तिष्कमा गोपालजी मात्र छाउनु भएको छ र पुराना यादहरू लेख्ने क्रममा पनि मेरो मनमा पुराना कुराहरूमा गोपालजीमात्र आउनु भयो । कोरोना कहरले गर्दा एक अर्कासँग भेटघाट नभएको पनि करिब एक वर्ष भयो , यहीबिचमा श्रद्धेय मामाको निधन र मिल्ने साथी गोपालजीको बिछोडले पनि नश्वर संसारको लीला झन् झन् चहकिलो भएर जेहनेमा टाँसिएको जस्तो लाग्न थालेको छ । मरे पछि रहने यश, कीर्ति र काम मात्र हो , त्यो गोपालजीको मनग्गे छ भन्ने हामी समकालीनहरूलाई स्मृतिमा ताजा छ । क्रमशः