लोकसंवाद संवाददाता | समाचार | पुस ०४, २०७७
काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना माग गर्दै आन्दोलन गर्न भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।
राप्रपाको काठमाडौं उपत्यका स्तरीय भेलाले तामाङलाई आन्दोलनको नेतृत्व सुम्पिएको हो । राप्रपाले पछिल्ला दिनमा केही जिल्लामा राजा र धर्मको विषय उठाउँदै प्रदर्शन गरिसकेको छ ।
त्यसक्रममा राप्रपाले पुस १७ गते काठमाडौंमा प्रदर्शनी गर्ने नेता तामाङले बताए । यसअघिका प्रदर्शनमा शीर्ष नेताहरू सहभागी थिएनन् । काठमाडौमा अबको प्रदर्शनमा भने तीन जना अध्यक्ष पशुपति सम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा सरिक हुने तामाङले बताए ।
कार्यकर्ता भेलामा कार्यक्रममा अध्यक्ष राणा, लोहनी र थापाले एक स्वरले मुलुकले राजनीतिक परिवर्तन खोजेको बताएका थिए ।
करिव दुई वर्षअघि तामाङकै नेतृत्वमा आन्दोलन परिचालन समिति बनाएर प्रदर्शन गरेको थियो । त्यतिखेर सरकारले वार्ता पनि गरेको थियो । समयान्तरसँगै सो मुद्दा ओझेलमा परेको थियो ।