लोकसंवाद संवाददाता | समाज | पुस ०५, २०७७
खोटाङ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटेहाङ गाउँपालिकास्तरीय समितिले श्रमशिविर सञ्चालन गरेको छ । नेकपा गाउँपालिकास्तरीय समितिमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागितामा सञ्चालन गरिएको एकदिने श्रमशिविरअन्तर्गत सडक मर्मत, स्कूल तथा क्याम्पस र स्वास्थ्यचौकी जाने बाटो मर्मतका साथै सरसफाइ गरिएको छ ।
‘श्रम गरेर बाँच्न सिकौँ र श्रमको सम्मान गरौँ’ भन्ने नाराका साथ एकदिने श्रमशिविर सञ्चालन गरिएको नेकपा खोटेहाङ गाउँपालिकास्तरीय समितिका अध्यक्ष राजनप्रसाद ढकालले जानकारी दिनुभयो । 'हामीमा श्रम गर्ने बानी हटिसकेको छ', उहाँले भन्नुभयो, 'कम्युनिष्ट विचारमा आस्था राख्नेहरु श्रम गरेर बाँच्न सकौँ र श्रमको सम्मान गरौँ भन्ने सन्देश प्रवाह गर्न शिविर आयोजना गरिएको हो ।'
नेकपा गाउँपालिकास्तरीय समितिको गत मङ्सिर ५ गते बसेको पूर्ण बैठकले नौवटै वडामा एकैसाथ पुस ४ गते एकदिने श्रमशिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । नेकपा गाउँपालिकास्तरीय समितिले आयोजना गरेको शिविरमा नेकपाका नेता, कार्यकर्ता र शुभेच्छुकको उल्लेख्य सहभागिता थियो । यसअघि गत कात्तिक २१ गते नेकपा जन्तेढुङ्गा गाउँपालिकास्तरीय समितिले पनि एकदिने श्रमशिविर सञ्चालन गरेको थियो । छ वडा रहेको उक्त गाउँपालिकामा ७६ वर्षीय लक्षुमान रोइलाको समेत सहभागिता थियो ।
दश स्थानीय तह रहेको जिल्लामा नेकपा जिल्ला सचिवालय समितिको गत असोज १८ र १९ गते बसेको पूर्ण बैठकले आ–आफ्नो क्षेत्रमा श्रमशिविर सञ्चालन गर्न निर्देशन गरेको थियो । जिल्लाका अन्य स्थानीय तहमा पनि शिविर सञ्चालन भइरहेको नेकपा खोटाङका प्रचार विभाग प्रमुख सङ्गीन किराँतीले जानकारी दिनुभयो ।