अन्नपूर्ण सुगर मिलले भुक्तानी गर्नुपर्ने  सत्र करोड दैनिक करोडका दरले भुक्तानी गर्ने

अन्नपूर्ण सुगर मिलले भुक्तानी गर्नुपर्ने  सत्र करोड दैनिक करोडका दरले भुक्तानी गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०५, २०७७

काठमाडौँ । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोड रुपैयाँ का दरले रकम भुुक्तानी गर्ने जनाएको हो ।

मिलले दैनिक  एक करोड रुपैयाँका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष किसानलाई  अठार करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम सत्र करोड रुपैयाँ छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले  चार करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

सबैभन्दा धेरै बक्र्यौता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको छ । उक्त मिलले सोमबारसम्म बक्र्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ । मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रबार छ हजार किसानलाई रु १६ करोड ४४ लाख ७० हजार बक्र्यौता रकम भुक्तानी गरेको बताएको छ ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडाँैंमा आन्दोलन गर्दै आएका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिलको  आठ करोड ४१ लाख रुपैयाँ, इन्दिरा सुगर मिलको  चार करोड ७० लाख रुपैयाँ, अन्नपूर्ण सुगर मिलको १७ करोड रुपैयाँ र श्रीराम सुगर मिलको ३५ करोड रुपैयाँ गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ । दुई मिलले बक्यौता रकम भुक्तानी गर्न शुरु गरे पनि अन्य मिलले भुक्तानी शुरु गरेका छैनन् ।