लोकसंवाद संवाददाता | समाचार | पुस ०५, २०७७
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बिहान नौ बजे मन्त्रिपरिषद् बैठक डाक्ने सुरसारमा थिए । त्यही बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट केही नेताहरू प्रधानमन्त्री ओलीका विरुद्ध ९० जना सांसदहरूको हस्ताक्षर लिएर सभामुख अग्निप्रसाद सापकोटा समक्ष अविश्वास प्रस्ताव दर्ता गर्न जाने तयारीमा जुटे । जसै ओलीले यो सुइँको पाए, राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद् विघटनको प्रस्ताव लिएर गए । त्यसका लागि हिजो साँझ मात्र ओलीले भण्डारीलाई भेटघाट गरेर सहमत गराइसकेका थिए । ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रचण्ड प्रधानमन्त्री पद पाएँ भनेर दङ्ग मात्र थिएनन्, मुख मिठ्याई रहेका थिए । तर, प्रचण्डभन्दा ओली एक कदम अघि बढे । आखिर ओलीसँग यो बाहेक विकल्प पनि थिएन ।
संसद् विघटनको सिफारिस गर्नु अघि ओलीले प्रचण्ड समक्ष गर्नुसम्म बिन्ती भाउ गरेकाे सन्देश दिएका थिए । पार्टीभित्रका आफूभन्दा वरिष्ठ होस् वा कनिष्ठ नेताहरूलाई कारबाहीको डन्डा बर्साउँदै ज्यान समेत लिएका प्रचण्डले ठानेका थिए, ओलीको बिन्ती भाउ सुन्न जरुरी छैन । यसलाई पनि दरै डन्डा बर्साउँछु । त्यसमाथि प्रचण्डलाई उनको गुटको मात्र होइन, पूर्व एमालेका नेताहरू माधवकुमार नेपाल, झनाथ खनाल, बामदेव गौतमको समेत साथ थियो ।
प्रचण्डले ०४२ साल चैत्रको सेक्टर काण्डमा मुछेर मोहन वैद्य, यौन/आर्थिक काण्डमा चोपलेर यानप्रसाद गौतम ‘आलोक’, यौन काण्डमै डुबाएर रामबहादुर थापा र पम्फा भुसाल, आफूसँग फरक मत राखेकै आधारमा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी अनि सुराकी काण्डमा डामेर देवेन्द्र पौडेललगायतलाई ‘दमदार’ कारबाही गरेका थिए । प्रचण्डले कारबाही गरेर रोल्पामा राखिएकै बेला आलोक मारिए । उनले कारबाही गरेको यो माथिल्लो पंक्ति मात्र हो । त्यसैले पूर्व माओवादीका नेताहरूलाई जस्तै प्रचण्डले ओलीलाई पनि सजिलै कारबाही गरेर घोक्रे ठ्याक लगाउने सपना देखेका थिए । तर, जब्बर ओली न परे, उनले प्रचण्डलाई नै बुम्रायाङ ख्वाई दिए ।
यसमा कुनै शङ्का छैन कि ओली र प्रचण्ड दुवै 'घ्यु बेचुवा र तरबार बेचुवा' भएकाे स्पष्टसँग देखाएका छन् । यसर्थ यसबेला एकले अर्कालाई झुकाउन सकियो भन्दै छन् । यो ठिक र उ ठिक भनेर उनीहरूका पछि दौडनेहरू बबुरो 'अरिङाल सेना' मात्र हुन् । ओली र प्रचण्डका ‘अन्धा सेना’ हरूबिच देशका विभिन्न भूगोलमा लाठी मुङग्री नै भयो भने पनि अचम्म नमाने हुन्छ । किनभने यस्ता वारदातमा उनीहरूले आफ्नो पक्षले जितेको ठान्नेछन् । केवल निजी स्वार्थका लागि ओली- प्रचण्डले जितिरहेकाे दाखाउँदै आएका छन् ।
प्रचण्डले ओली विरुद्ध सचिवालय बैठक हुँदै स्थायी समितिसम्म विवरण गरेको १९ पृष्ठ लामो 'आरोप पत्र' पछि नेकपाको विवाद जटिल मोडमा पुगेको थियो । त्यो 'आरोप पत्र' लाई ओलीले पुरापुर नकारेका त थिए नै, फिर्ता नलिएसम्म बैठकमा उपस्थित नहुने सार्वजनिक टिप्पणी समेत गरेका थिए । त्यो 'आरोप पत्र' फिर्ता लिई दिनुस् भनेर अन्तिम आग्रह गर्नकै लागि ओली नचाहँदा नचाहँदै पनि प्रचण्ड निवास खुमलटारमा पुगेको सन्देस दिएका थिए । 'आरोप पत्र' बाट प्रचण्डले ओलीको काढ्नुसम्म छाला काडेका थिए । त्यसको अक्षर–अक्षर सामान्य साक्षर मानिसले समेत पढिसकेका थिए । यसबारे जिज्ञासा राख्नेहरू सामुन्ने त्यो 'आरोप पत्र' संसारभर फैलिइसकेको थियो । संसारले पढिसकेको 'आरोप पत्र'लाई स्थायी कमिटीमा थप छलफल गराएर ओलीको कार्यशैलीमाथि थप माथापच्ची गर्न जरुरी नभएकाे तर्क थियो । त्यसैले ओलीको पटक–पटकको आग्रह अनुसार प्रचण्डले त्यो 'आरोप पत्र'लाई स्थायी कमिटीमा छलफल गर्नबाट फिर्ता लिएका भए सायदै मुलुक संसद् विघटनको आजको स्थितिमा पुग्ने थिएन ।
प्रचण्डले ओलीलाई गलहत्त्याएर प्रधानमन्त्रीको कुर्सीमा राज गर्ने तीव्रतर इच्छा रात दुई गुणा दिन चार गुणा नदेखाएका भए पनि यति छिट्टै संसद् विघटन हुने थिएन । त्यसैले नायकका रुपमा ओली त संसद् विघटनको भागीदार हुन् नै, विघटनको भागीदार प्रचण्ड पनि हुन् । ओली- प्रचण्डले एकले अर्कालाई देखाइ दिएरै छाड्ने अंह र तुष्टी पाल्दा कालान्तरमा उनीहरू दुवैमाथि 'ब्याक फायर' भएको छ । देश र जनताका आशा भने एक पछि अर्को गरी हारेका छन् ।
आफू र प्रचण्डबिचको जुवामा तत्कालका लागि आफैँले जितेको ओलीले ठानेका छन् । तर, 'पिसाबको न्यानो' जितले एक न एक दिन ओलीलाई मुटुमै ‘ब्याक फायर’ गर्नेछ । त्यस बेला उनले आइया पनि भन्न पाउने छैनन् । ओली पौराणिक कालको आधुनिक धुन्धुकारि ठहरिनेछन् । संसदीय व्यवस्था अनुसार ओलीको कार्यकाल २ वर्ष बाँकी थियो । उनले संसद् विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेका भए पनि त्यस समयमा निर्वाचन हुने छैन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धन गरेर पुनः आफैँ प्रधानमन्त्री हुने सुनिश्चित नहुन्जेल ओलीले निर्वाचन गराउने छैनन् । निर्वाचन हुन नसके सङ्कटकाल नै लगाएर भए पनि ओली आफ्नो स्वास्थ्यले काम गरुन्जेल प्रधानमन्त्रीको कुर्सीमा आसीन रहनेछन् । २ वर्ष बाँकी रहेको कार्यकालभन्दा लामो समयसम्म कार्यकारीको कुर्सी बस्नकै लागि ओलीले संसद् विघटन गराएका हुन् । राष्ट्रपतिले जारी गर्न लगाएको विज्ञप्तिमा सङ्कटकालीन व्यवस्थाको धारा ८५ उल्लेख गर्नुको उद्देश्य यही हो ।
प्रचण्डलाई भ्रष्टाचारमाथि डन्डा बर्साउन ओलीलाई सहज छ । किनभने शिविर भित्र भएको न्यूनतम तीन अरब रुपैयाँ नाङ्गै आँखाले पनि हिसाब निकाल्न सकिन्छ । त्यो मुद्दा अख्यिारमा थन्किरहेकै छ । त्यसको चाङ खोल्न बित्तिकै प्रचण्ड मात्र होइन, लडाकुका त्यस समयका कमान्डर वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, डेपुटी कमान्डरहरू चन्द्रप्रकाश खनाल, जनार्दन शर्मा, वर्षमान पुन, तत्कालीन सातै डिभिजनका कमान्डरहरू मुछिने पक्का छ । सन्दिग्ध पात्रहरूको सङ्गतमा पनि प्रचण्ड ओलीभन्दा माथि उठ्न सकेका छैनन् । बरु अझ गहिरो गरी चोपल्लिएका छन् । अजय सुमार्गी, शारदाप्रसाद अधिकारीको घरमा प्रचण्डको बसोबास विवादभन्दा माथि छैन ।
लोकमानसिंह कार्की, दीप बस्नेतलाई अख्तियारको प्रमुख सिफारिस गर्ने पनि प्रचण्ड नै हुन् । कुनै समयका सिंह प्रचण्ड भिजेको बिरालो भइसकेका छन् भन्नेमा ओली राम्रै जानकार छन् । द्वन्द्वकालमा मारिएका मध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर प्रचण्डले सार्वजनिक मञ्चबाटै स्वीकार गरिसकेका छन् । उनको पार्टीको ‘मार्च’ विगतको जस्तो छैन । प्रचण्डको समर्थनमा लाखौँ मान्छे सडकमा आउने स्थिति पनि छैन । किनभने उनका समर्थकहरू श्रम बिनाको कमाईमा बाँच्न अभ्यस्त भइसकेका छन् । त्यसैले यति धेरै कमजोरीको चाङमाथि रहेका प्रचण्डले ओलीसँग जोरी नखोजेको भए नै उनको कल्याण हुने थियो ।
यसर्थ ओलीलाई ठेगान लगाउन प्रयोग गरेको 'आरोप पत्र'अडानको अस्त्रले प्रचण्डलाई नै 'ब्याक फायर' गर्दैछ । सायदै ओलीले प्रचण्डलाई फुक्काफल छाड्ने छैनन् । ओलीले दस्ताबेजमै लेखिसकेका छन्, कि मलाई कारबाही गरेर देखाऊँ नत्र म तिमीलाई कारबाही गर्नेछु । प्रचण्ड स्वभाव अनुसार उनलाई कसैले तह लगाऊँछ भने ती पात्र ओली मात्र भएको देखा परे ।
अहिले साँझ बसेको नेकपा स्थायी समितिको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । तर, तिमीहरूको कारबाहीले केही फरक पार्दैन भनेर उनी एक कदम अघि बढिसकेका छन् । प्रचण्ड स्थायी कमिटीको बहुमत आफ्ना पक्षमा ल्याएर ओलीजस्तो ‘अराजक’ लाई कारबाही गर्न सके भन्नेमा दङ्ग छन् । ओली पनि जुन सुकै बेला मेरो भाग मात्र खोस्न अघि सर्ने प्रचण्डलाई तह लगाए भन्नेमा मक्ख छन् । तर, सत्य चाहिँ के हो भने उनीहरू दुवैले आफ्नै मुटुमाथि ‘ब्याक फायर’ गरेका छन् ।
यसमा कुनै शङ्का छैन कि ओली र प्रचण्ड दुवै 'घ्यु बेचुवा र तरबार बेचुवा' भएकाे स्पष्टसँग देखाएका छन् । यसर्थ यसबेला एकले अर्कालाई झुकाउन सकियो भन्दै छन् । यो ठिक र उ ठिक भनेर उनीहरूका पछि दौडनेहरू बबुरो 'अरिङाल सेना' मात्र हुन् । ओली र प्रचण्डका ‘अन्धा सेना’ हरूबिच देशका विभिन्न भूगोलमा लाठी मुङग्री नै भयो भने पनि अचम्म नमाने हुन्छ । किनभने यस्ता वारदातमा उनीहरूले आफ्नो पक्षले जितेको ठान्नेछन् । केवल निजी स्वार्थका लागि ओली- प्रचण्डले जितिरहेकाे देखाउँदै आएका छन् । तर, कुलंगार नेताहरुका कारण हिमालयको काखमा अवस्थित सुन्दर देशले भने सधैं हारिरहेको छ । यसको मूल्य कहिलेसम्म चुकाउनु पर्ने हो ? टुङ्गो छैन् ।