लोकसंवाद संवाददाता | समाचार | चैत २९, २०७५
लन्डन । लन्डनस्थित इक्वेडरको राजदूतावासबाट विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन्। बलात्कारसम्बन्धी मुद्दालाई लिएर स्विडेनमा हुने सुपुर्दगीबाट बच्न असान्जले सन् २०१२ मा इक्वेडरको दूतावासमा शरण लिएका थिए। अदालतमा आत्मसमर्पण गर्नेबारे अदालतको आदेश परिपालन नगरेको विषयमा असान्जलाई बिहीबार वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतमा दोषी ठहर गरिएको थियो।
उनीविरुद्ध हालसम्मकै ठूलोमध्येको सरकारी गोप्य विवरण चुहावट गरेको अभियोगमा अमेरिकामा पनि मुद्दा चलिरहेको छ। इक्वेडरका राष्ट्रपतिले असान्जको राजनीतिक शरण फिर्ता लिइएको बताएका छन्। विकिलिक्सले भने एउटा ट्विट गर्दै इक्वेडरले गैरकानुनी रूपमा असान्जको राजनीतिक शरणलाई हटाउने निर्णय गरेको आरोप लगाएको छ। उसले इक्वेडरले ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको’ आरोप पनि लगाएको छ।
वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालत लानुपूर्व ४७ वर्षीय असान्जलाई सुरुमा मध्य लन्डन प्रहरी स्टेसनमा लगिएको थियो। कालो सुट र कालो पोलो सर्टमा देखिएका असान्जले सर्वसाधारणतर्फ हात हल्लाएका थिए र बूढी औंला उठाएका थिए। सन् २०१२ को मुद्दामा अदालतमा आत्मसमर्पण नगरेर आफूले कुनै गल्ती नगरेको भन्दै उनले अदालतसमक्ष आफूलाई निर्दोष साबित गर्न आग्रह गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ ।