लोकसंवाद संवाददाता | समाचार | चैत २९, २०७५
काठमाडाैं । आर्थिक वर्ष ०७४/७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माणमा भन्दा पदाधिकारी र कर्मचारीको सेवासुविधामा बढी बजेट खर्च गरेको छ । महानगरले पदाधिकारी र कर्मचारीको तलबभत्तामा मात्र १५ करोड रुपैयाँ खर्चेको छ । तलब शीर्षकमा आठ करोड ८५ लाख र बैठकभत्ता शीर्षकमा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।
महालेखाले शुक्रबार राष्ट्रपतिलाई बुझाउने लेखापरीक्षण प्रतिवेदनमा महानगरले पदाधिकारी र कर्मचारीको सेवासुविधामा अस्वाभाविक खर्च गरिरहेको बताएको छ । महानगरले शिक्षा विकास शीर्षकमा आठ लाख १८ हजार रुपैयाँ र सहरी स्वास्थ्य शीर्षकमा ६९ हजार नौ सय रुपैयाँ खर्च गर्दा प्रचारप्रसारमा पौने दुई करोड रुपैयाँ खर्चेको छ । महानगरपालिकाले पदाधिकारी तथा कर्मचारीले गरेको आन्तरिक तथा विदेश भ्रमणको अभिलेख नै राखेको छैन । महालेखाले अभिलेख राख्न चेताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।