लोकसंवाद संवाददाता | समाचार | चैत २९, २०७५
भारतमा हिजो बिहीवारदेखि लोकसभाको निर्वाचन सुरु भएको छ । सात चरणमा हुने यो निर्वाचनमा कुन दलले विजय हासिल गर्ने छ त्यसका लागि मे २३ सम्म कुर्नुको कुनै विकल्प छैन् । के तपाईंलाई भारतीय
निर्वाचनबारे यी पाँच कुरा थाहा छ ?
१) अमेरिकामा भन्दा चार गुणा बढी मतदाता
हिजो देखि प्रारम्भ भएको भारतको लोकसभा निर्वाचनमा ९० करोडभन्दा धेरै योग्य मतदाता रहेका छन् । जुन संसारको दोस्रो ठूलो प्रजातन्त्र मानिने अमेरिकाको भन्दा चार गुणा धेरै हो ।
भारतको पहिलो आम चुनाव( ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१ र ५२ मा भएको थियो ।
भारतमा यसपालि चुनावका लागि दश लाख मतदान केन्द्र स्थापना गरिएका छन् ।
२) डेढ महिना लामो निर्वाचन
अप्रिल ११ देखि सुरु भएर मे १९ तारिखमा सम्पन्न हुने निर्वाचनमा संसारको सबैभन्दा ठूलो प्रजातन्त्र मानिने भारतमा मतदाताहरूले केन्द्रीय संसद्का सदस्यका लागि मतदान गर्नेछन् ।
भारतको निर्वाचन सात चरणमा गरी करिब डेढ महिना लगाएर हुँदैछ । त्यसमा अत्यधिक संख्यामा निर्वाचन अधिकारी तथा सुरक्षाकर्मी परिचालन गरिनेछ ।
बेग्ला बेग्लै राज्यमा फरक फरक समयमा मतदान हुनेछ ।
मे १९ मा मतदान समाप्त भएपछि मे २३ मा मतगणना हुनेछ ।
मतदानमार्फत् भारतीय जनताहरूले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्ष शासन गर्न पाउने वा नपाउने भन्नेबारे जनमत प्रदान गर्नेेछन् ।
३) कसरी बन्छ सरकार
भारतीय संसद्मा दुई सदन छन लोकसभा तथा राज्यसभा ।
हाल भइरहेको मतदानमार्फत् तल्लो सदन लोकसभाले ५४३ सदस्य प्राप्त गर्नेछ ।
न्यूनतम २७२ सांसद जुन दलले आफ्नो पक्षमा पार्न सक्छ उसैले सरकार बनाउँछ ।
जुन दल वा गठबन्धनले बहुमत सिट जित्नेछ उसैको नेता प्रधानमन्त्री चुनिनेछ ।
सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा भारतीय जनता पार्टीले २८२ सिट जितेको थियो भने कांग्रेसले केवल ४४ सिट ।
४) कसको पक्षमा जनमत
यस पटक मोदीको टक्कर विपक्षी कांग्रेस नेता राहुल गान्धीसँग भइरहेको छ ।
केही महिना अगाडीसम्म मोदी तथा उनको दल भाजपाले चुनाव सहजै जित्ने ठानिन्थ्यो तर डिसेम्बरमा भएका केही महत्वपूर्ण क्षेत्रीय चुनावहरूबाट प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ ।
मोदीले बहुमत प्राप्त गर्ने नगर्नेबारे विश्लेषकहरूको मत बाझिएका छन् । पाकिस्तानसँग भएको सीमा युद्धपछि भने भाजपालाई चुनाव प्रचारमा सघाउ पुग्ने मुद्दा प्राप्त भएको थियो ।
५) मोदीको जनमतसंग्र्रह
यो निर्वाचन मोदीका लागि जनमतसंग्र्रह सरह हुने ठानिएको छ ।
मोदीलाई भारतमा जनमत ध्रुवीकृत गर्न सक्ने नेताको रूपमा हेरिन्छ जसलाई धेरैले मन पराउँछन् ।
देशभक्तिको मुद्दा केन्द्रमा रहेकाले आफूले शक्तिशाली क्षेत्रीय दल तथा कांग्रेसको चुनौतीबाट पार पाउने भाजपाको आशा छ ।
एजेन्सीहरु