लोकसंवाद संवाददाता | समाज | पुस १०, २०७७
बागलुङ । मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब १३ लाख रुपैयाँ सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका–५, मालिकाका मिर्गौलापीडित सन्तोषको उपचारका लागि समाजले सङ्कलन गरेको नगद १२ लाख ७३ हजार ७१८ रुपैयाँ सहयोग गरेको हो । समाजका संरक्षक तथा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुँवरले सो रकम बिरामीका दाजु नवीन किसानलाई एक कार्यक्रमकाबीच बुधबार हस्तान्तरण गर्नुभयो ।
समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट तीन लाख ३६ हजार १५१ रुपैयाँ, मालिका सेवा समाज पोर्चुगलबाट एक लाख २७ हजार ४७० रुपैयाँ, युकेबाट एक लाख ८५ हजार ९२० रुपैयाँ, कोरियाबाट एक लाख ५३ हजार ९११ रुपैयाँ, दुबईबाट एक लाख ३० हजार रुपैयाँ, कतारबाट ८९ हजार ८५२ रुपैयाँ, साउदी अरबबाट ८२ हजार ११० रुपैयाँ, भारतबाट ५८ हजार ३०४ रुपैयाँ, स्थानीय समन्वयबाट ९० हजार रुपैयाँ र मालिका वडा कार्यालयबाट २० हजार रुपैयाँ नगद सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।