सैन्य तथा डायस्पोरिक साहित्यको फ्रेमभित्र सजिएको 'पल्टनेको फोटो'

सैन्य तथा डायस्पोरिक साहित्यको फ्रेमभित्र सजिएको 'पल्टनेको फोटो'

विजय हितान  |  साहित्य  |  पुस ११, २०७७

रक्ष राई नेपाली साहित्यजगत्मा नौलो नाम होइन । कथा लेखनमा उनको विशेष दख्खल रहेको पाइन्छ । यसपल्ट रक्ष ‘पल्टनेको फोटो’ कथासङ्ग्रह लिएर आएका छन् । यसअघि ‘शहीदकी आमाको लास’ र ‘बालुवामा अर्को नेपाल’ कथासङ्ग्रह प्रकाशन गरेर रक्षले आफूलाई एक उच्च कथाकारको सूचीमा स्थापित गराइसकेका छन् । 

‘पल्टनेको फोटो‘लाई साहित्यको फ्रेमभित्र मज्जाले सजाइएको छ, पाठकले आफ्नो मनमस्तिष्कको भित्तामा सजिलै झुन्ड्याएर राख्न सक्ने गरी । यसलाई एक गोर्खा पल्टनेले आफ्नो जीवनका विभिन्न कालखण्डमा खिचेर राखेका फोटोहरु हुन् भने पनि हुन्छ । सङ्ग्रहमा सत्रवटा कथा छन् । यसर्थ यो सत्र किसिमका लाहुरेका फोटाहरु समेटिएको एउटा फोटो एल्बम हो कि भन्ने पनि लाग्छ । यस हिसाबले रक्ष एक कुशल फोटोग्राफरजस्तै देखिन्छन् । 

रक्ष एक दक्ष आर्टिष्ट हुन् कि भन्ने भान हुन्छ । यसभित्रका कथाहरु पढ्दा विभिन्न सैन्य अनुहारलाई चित्रमा उद्धृत गरिएको जस्तो लाग्छ । मानौँ युद्ध, पल्टनघर, विकृति र विसङ्गति, डायस्पोरा, पीडा, बिछोड, रोमान्स, वेदना, अहंकार इत्यादिका फ्रेममा सजाएर साहित्यको ग्यालरीभित्र प्रदर्शनमा राखिएको छ । एक चित्रकारले आफ्नो प्रत्येक आर्ट–पिसलाई मूर्त अमूर्त शीर्षक दिएको हुन्छ । रक्षले पनि सैन्य जीवनलाई प्रतिबिम्बित गर्ने ती आफ्ना आर्ट–पिसलाई मेरी स्वास्नीको लोग्नेसँग, आत्मभर्त्सना, अहंकार, टोम पाइपरको एक साँझ, गृहबन्दी, वधशालामा बूढो मजदुर, पुरुष वेश्यालय, पल्टनेको फोटो, छुटेको साथी, बत्ती निभेपछि, गोर्खा, अष्ट्रियाली फूल, राइफलम्यान यवहाङ, शहरको केटो, मरेको बाघ, बाटोको ढाकर, केयर होम भनेर शीर्षक दिएका छन् । 

प्रदर्शनमा टाँगिएका चित्रकलालाई एक दर्शकले कसरी हेर्छ, उसको आफ्नो सोचाइमै भरपर्ने कुरा हो । ‘पल्टनेको फोटो‘भित्रका कथारुपी फोटाहरु हेरेपछि रक्षको लेखनकलामा विशेष पृथकता पाइन्छ । कथाहरु कलात्मक शब्दहरुले निर्माण गरिएका छन् । घटनालाई दर्शनको बाक्लो लेप लगाइएका छन् । कथाकार स्वयम् नवचेतनाग्रह, युद्धसौन्दर्य र डायस्पोरा साहित्य सिद्धान्तका प्रवर्तक रहेकाले यस्ता दर्शन र सिद्धान्त कथामा नझल्किने कुरै भएन । चित्रकला अति अमूर्त रुपले कोरियो भने बुझ्न गाह्रो हुन्छ । रक्षका कथाहरु रहस्यमय चित्रकलाजस्तै भएर पाठकका आँखासामु उभिन्छन् । यसो हुनुको कारण कथामा घटनाभन्दा दर्शन र विचार बढी नै हावी हुनाले हुनसक्छ । फलस्वरुप सर्वसाधारण पाठकलाई कथाहरु पूर्णरुपमा बुझ्न सजिलो नहोला तर पूर्ण मनोरञ्जन भने अवश्य मिल्ला । 

फोटोले होस् या चित्रले एउटा कुनै विषयलाई प्रतिबिम्बित गर्छ । यस सङ्ग्रहभित्रका कथाहरुले मुख्यत सैन्य अर्थात् लाहुरे जीवनलाई प्रतिबिम्बित गरेको पाइन्छ । यसर्थ यो एउटा युद्ध साहित्यको स्वरुप हो । युद्ध साहित्यको परिभाषाअनुसार युद्धपूर्व, युद्धरत र युद्धपश्चात्का अवस्था समेटिएर लेखिएका सिर्जना युद्ध साहित्यभित्र पर्छन् । रक्षका कथाहरु भर्ती भएर जाँदा, ब्यारेकभित्र रहँदा, सैन्य अभ्यास गर्दा, युद्धमा सामेल हुँदा र निवृत्त भएपछिका जीवनभोगाइमा केन्द्रित छन् । भौगोलिकताको हिसाबले कथामा नेपाल त हुने नै भयो मलेसिया, हङकङ, बेलायत पनि समेटिएका छन् । त्यसैगरी फकल्यान्ड, बोस्निया, कोसभो, इराक र अफगानिस्तानका भौगोलिक परिवेशलाई पनि छुटाइएको छैन । यसको अतिरिक्त सैन्य तथा उसका आफन्तका पीडा, युद्धको कुरुपता र सौन्दर्य, गोर्खा भर्तीका अँध्यारा पाटा, प्रवासी नेपाली हुनुका वेदना, नेपाली डायस्पोरिक जीवनभोगाइका तितामिठा पल, नारी संवेदना इत्यादिको रसस्वादन पनि यी कथाहरु पढेपछि गर्न पाइन्छ । 

कथाकार एक पुरुष हुन् । तथापि ‘पल्टनेको फोटो’ र ‘केयर होम‘जस्ता कथाहरुमा आफूलाई नारी पात्रमा प्रस्तुत गरेर नारी संवेदनालाई रोमाञ्चित ढङ्गले चित्रण गरेको पाइन्छ । यस्ता केही कथाहरुलाई कथाकारको नाम र लिङ्ग नखुलाई पाठकलाई पढ्न दिइयो भने एक महिलाले लेखेको कथा भनी ठान्ने छन् । यसरी केही कथाहरुमा फ्रायडवादलाई पस्कँदै नारी संवेदनालाई अभिव्यक्त गर्न सक्ने उत्कृष्ट कलालाई रक्षको एक विशेषता मान्न सकिन्छ । 

१. मेरी स्वास्नीको लोग्नेसँग 
रक्ष अन्य बेल्पाली (बेलायती नेपाली) जस्तै आप्रवासी हुन् । एक प्रवासी नेपाली नौलो परिवेशमा भिजेर बस्न गाह्रो हुन्छ । अरुको संस्कारमा अन्तर्घुलन हुन खोज्दा आफ्ना मूल्य र मान्यता गुमाउनुपर्छ । मूल्य र मान्यता मात्रै होइन, श्रीमतीले श्रीमान्, श्रीमान्ले श्रीमती गुमाउनुपर्ने अवस्थाको पनि सिर्जना हुनसक्छ । यस्तै घटनालाई ‘मेरी स्वास्नीको लोग्नसँग’ कथामा बडो संवेदनशील तरिकाले प्रस्तुत गरिएको छ । नेपाली श्रीमान्ले आफ्नी श्रीमतीलाई स्थानीय गोरासँग गुमाएको कथा हो यो । 

रक्ष वेल्सको एक सानो बस्तीमा सपरिवार बस्दै आएका छन् । त्यही वास्तविक स्थानको चित्रण गर्दै, आफँैले किनेर बस्दै आएको घरभित्र आफ्नी पूर्व पत्नीको नयाँ लोग्ने अर्थात् एक जारसँगको वार्तालापमा केन्द्रित छ यो कथा । कथा पढ्दै जाँदा कतै कथाकार स्वयम्कै जीवनमा घटेको साँचो घटना त होइन भनेर सोच्ने बनाउँछ । 

‘यो तेरो नेपाल हैन, बुझिस् ।’ त्यो बेलायती लोग्नेकी नेपाली स्वास्नी मलाई तँजस्ता पुरुषहरुलाई तह लगाउने देश हो भनेर मेरो औकातलाई स्मरण गराउन खोजिरहेकी छे ।’ 

‘देखिस्, आज म संसारकै स्वतन्त्र नारीप्रधान देशमा छु । अब मैले कुनैपनि पुरुषको अर्धाङ्गिनी र दासी भैरहन पर्दैन ।’

२. आत्मभर्त्सना

कथामा रोमान्स भएन भने खल्लो हुनसक्छ, एक उजाड पहाडजस्तो । सैनिकमा दुस्मनमाथि आक्रमण गर्ने कठोर हृदयमात्रै होइन, प्रियसीलाई प्रेम गर्ने कमलो मन पनि हुन्छ । शत्रुलाई घोच्ने तिखो ब्यानेट मात्रै बोक्दैनन् लाहुरे आफ्ना मायालुलाई आकर्षण गर्ने मायाका अङ्कुस पनि मनभरि बोकेका हुन्छन् । यस्तै प्रेमलिलाको रसस्वादन लिन पाइन्छ कथा ‘आत्मभर्त्सना'मा । 

गोर्खा सैनिक स्वयम् डायस्पोराका नेपाली हुन् । इन्डिया, हङकङ, ब्रुनार्ई, सिंगापुर, बेलायतजस्ता राष्ट्रमा लाखौँ गोर्खा सैनिकको बसोबास छ । यो कृति ती डायस्पोरामा रहँदै आएका नेपाली समुदायका बारेमा रहेको छ । यसका रचयिता रक्ष राई पनि एक डायस्पोराका नेपाली सर्जक हुन् । त्यसर्थ यस पुस्तकले राष्ट्रिय स्तरको लोपप्रियता पाउनु भनेको डायस्पोरिक नेपाली लेखकको सम्मान गरिनु पनि हुने छ । फलस्वरुप डायस्पोराका अन्य नेपाली लेखकलाई पनि ठूलो प्रेरणा मिल्ने छ भन्ने मैले ठानेको छु । 

यस कथाको परिवेश सिपाही र ब्यारेक हो । त्यसकारण यो कथा एक युद्ध साहित्य हो । तथापि यो कथाले फ्रायडवाद दर्शनलाई पनि त्यत्तिकै समेटेको छ । आफन्तहरुबाट टाढिएर देशको सिमाना रक्षा गरिरहँदा होस् या रणभूमिमा पुग्दा होस् गहिरो प्रेमराग र प्रेमपीडा प्राय सबै सैनिकले भोगेका हुन्छन् । सिपाहीका त्यस्ता अनुभूतिलाई साहित्यको जलप पोतेर कसरी लेखनमा उतार्ने भनेर रक्षको यस कथाले सिकाउँछ । पढ्दै जाँदा कथाले पाठकलाई कथाभित्रको मूल पात्र मै हुँँ जस्तो गराउँछ । उता घरदेशमा प्रेमिका अथवा श्रीमतीलाई छाडेर आउने, यता परदेशको ब्यारेकमा आफ्नो छचल्किरहेको जवानीलाई सम्हाल्न नसकी स्थानीय युवतीको प्रेमलिलामा मधहोसी भएको घटनामा कथा बटारिएको छ । 

दाम्पत्य जीवन प्रेमलाई बन्दी बनाएर उभिएको हुन्छ । प्रेमको नैसर्गिक स्वतन्त्रतालाई व्यक्तिको स्वार्थको परिधिभित्र सङ्कुचित गरिनु अप्राकृतिक हुन्छ । जसले अप्राकृतिक कार्य गर्छ, उसले प्रलय बेहोर्नुपर्छ । भनेर कथालाई फ्रायडवादी दर्शनले सिँगारिएको छ । 

३. अहङ्कार

युद्ध सौन्दर्य युद्ध साहित्यको एउटा भाग हो । रक्ष यस नविनतम् दर्शनका अध्येता हुन् । युद्धले विध्वङ्श मात्रै गर्दैन मानव उपयोगी वस्तुहरुको सिर्जना पनि गर्छ । डढेलोले पुराना वनस्पतिलाई जलाएर नयाँँलाई उम्रने वातावरण सिर्जना गरी अर्को सुन्दर बासस्थानको निर्माण गरेजस्तै । युद्धकाल भयङ्कर डरलाग्दो भएपनि कालान्तरमा यसले सकारात्मक परिवर्तन ल्याएको हुन्छ । यस्ता सकारात्मक परिवर्तनका केही उदाहरण जापान र जर्मनजस्ता राष्ट्रहरु हुन् । यसरी युद्धले कुरुपता मात्रै होइन, सौन्दर्यलाई पनि बढावा दिएको हुन्छ । यस्तै युद्ध सौन्दर्यको प्रयोग भएको पाइन्छ ‘अहङ्कार’ कथाभित्र । हुन त अन्य कथामा पनि यो नौलो चिन्तनको प्रयोग नभएको होइन । 

रक्ष स्वयम् बोस्निया युद्धका एक योद्धा हुन् । उनी बेलायतको तर्फबाट बहुराष्ट्रिय मोर्चामा खटिएर बोस्निया पुगेका थिए । त्यही युद्ध भोगाइले जन्माएको हो यो कथा । कुविचार र सुविचारजस्ता दुई फरक विचारको द्वन्द्वले प्रारम्भ हुन्छ युद्ध भनेर उनले प्रस्ट्याउन खोजेका छन् । बोस्नियामा युद्ध प्रारम्भ हुनुको मुल कारण के थियो भन्ने यस कथामा उल्लेख गरिएको छ । यस दृष्टिकोणले यो कथा एक ऐतिहासिक दस्तावेज बनेर रहन सक्छ । 

कथाका एक पात्र असिर रहमान बोस्नियाका स्थानीय युवक हुन् । कथाका मुख्य पात्र एक गोर्खा सिपाही हुन् । युद्धमा खटिएको सैनिक र युद्धद्वारा पीडित एक सर्वसाधारणका युद्धलाई हेर्ने आँखा कस्ता हुन्छन् भन्ने विचारमा यो कथा केन्द्रित छ । रक्षका अन्य कथाहरु भोगाइ, अनुभूति, सामाजिक र पारिवारिक परिवेशका पाइन्छन् । यो कथा भने बढी नै शिक्षाप्रद लाग्छ । 

४. टोम पाइपरको एक साँझ

रक्षजस्तै विदेसिएका नेपालीहरु त्यहीँका स्थानीयहरुसँग घुलमिल भएर काम गरेका छन् । रोजगारीको शिलशिलामा स्थानीयहरु आत्मीय साथी बन्छन् । उनीहरुसँग संस्कार र संस्कृतिका कुरा आदानप्रदान गरेर नेपाललाई चिनाउने प्रयास गरिन्छ । लोग्नेस्वास्नी, छोराछोरी, सपरिवार पबमा गएर बियर पिउनु र खाना खानु बेलायती परम्परा हो । नेपालीको संस्कारमा भने छोराछोरीसँग भट्टीमा गएर  सँगै पिउने गरिँदैन । यस्तै भिन्न संस्कृतिलाई रक्षले ‘टोम पाइपरको एक साँझ’ कथामा पस्केका छन् । टोम नाम गरेको सहकर्मीको श्रीमती र छोरीसँग पबमा गरिएको वार्तालापले बेलायती मूल्य र मान्यता के हो भनेर यस कथामा झल्क्याइएको छ । 

कथामा पर्यावरणको विषयलाई पनि उठान गरिएको छ । यसर्थ मजस्तो इको साहित्यको अभियानमा लागेको व्यक्तिलाई कथाले नछुने कुरै भएन । यसले रक्षमा इको साहित्यचेत पनि रहेको पुष्टि गर्छ । टोमकी छोरीसँगको वार्तालापमा आफू प्रकृतिप्रेमी भएको र पर्यावरण प्रदूषणको धरापमा परेको चिन्ता व्यक्त गरिन्छ । पूर्वीय धर्म र दर्शनमै प्रकृति संरक्षणलाई मान्यता दिइएको तर आजका मानिस आधुनिकताको घनघोर शहरमा अन्धाधुन्ध हराएर वातावरणलाई खलबल्याउने कार्य गरेको आक्रोश पनि व्यक्त गरिन्छ । यसरी राजनीति, मानव अधिकार, पहिचानजस्तै पर्यावरण पनि आजकाल सर्वसाधारण मानिसमा कुराकानीका विषय बनेका छन् भन्ने ज्ञान यस कथाले दिनखोजेको देखिन्छ । 

५. गृहबन्दी

‘गृहबन्दी’ नारिवादी कथा हो । यसमा पल्टनेले विवाह गरी घरमा एक्लै छाडेर जाने एक स्वास्नीको वेदना पोखिएको छ । कथाकार एक पुरुष भएर पनि नारीको भूमिका दुरुस्तै निभाउन सक्नु यस कथाको मुल विशेषता हो । घरबार, जुहारात, श्रीसम्पत्ति सबै हुँदाहुँदै पनि आफ्नो हृदयको टुक्रा साथमा नहुँदा लाग्ने खल्लो नारीअनुभूतिलाई मज्जाले अभिव्यक्त गरिएको छ । घरमा काम गर्ने अविवाहित युवतीको यौवन र आफ्नो विवाहित न्यास्रो जीवनलाई कथाकारले एक महिलाको भूमिका निर्वाह गरेर कथेका छन् । अनि लाहुरे, सैनिक भनेर जनाउने ‘पल्टने’ शब्दलाई पटकपटक दोहो¥याइएको छ । यस शब्दसँग अपरिचित पाठकलाई यसको अर्थबोध गर्न सजिलो परेको छ । 

नेपाली साहित्य पढ्दा मलाई काठमाडौँबाहेक अन्य ठाउँ नै छैन जस्तो लाग्छ । पोखराको फेवाताल र काठमाडौँका मठमन्दिरमा जसरी प्राय चलचित्र छायाङ्कन गरिएका हुन्छन् त्यसरी नै नेपाली कथा लेखन प्राय काठमाडौँ उपत्यकाका स्थानविशेषवरिपरि केन्द्रित भएका हुन्छन् । यस कथामा धरानजस्तो मोफसललाई स्थान दिइएको छ । यस सङ्ग्रहका अन्य कथाहरुमा पनि काठमाडौँलाई केन्द्रबिन्दु पारिएको छैन । काठमाडौँ परिवेशलाई मात्रै पढ्दा पढ्दा अघाएका पाठकलाई रक्षको कथाले अन्य भौगोलिक परिवेशको स्वाद पनि चाख्ने मौका दिएको छ । 

६. वधशालामा बूढो मजदुर

संसारको अर्को कुनामा बसेर सुन्नेहरु ठान्दा हुन् बेलायतीको जीवन सुखमय हुन्छ । सोच्दा हुन् बेलायतीलाई बसीबसी खानलाउन पुगेको छ । लाग्दो हो बेलायत स्वर्गसरी छ । तर त्यसो होइन । विकसित देशका मानिस अझ बढी अशान्त, चिन्तित र अस्वस्थ जीवन बिताइरहेका छन् । दिनरात खटेर मेशिनले जस्तै काम गरेका हुन्छन् । कृत्रिम जीवन बिताइरहेका छन् । यस्तै तितो यथार्थलाई ‘वधशालामा बूढो मजदुर’ कथाले प्रस्ट्याउन खोजेको छ । डेभिस नाम गरेको ७४ वर्षे सहकर्मीसँगको भलाकुसारीले बेलायतस्थित वेल्स राज्यको जनजीवन कस्तो हुन्छ भन्ने कुरालाई कथामा अति नै कलात्मक तरिकाले उतारिएको छ । बुढेसकालसम्म जोतिन परेको, तीन श्रीमतीहरुबाट ५ सन्तान जन्मेका र तिनीहरुसँगको सम्बन्ध सुखमय नरहेको ती बूढा मजदुरले बताउँछन् । जो औसत बेलायतीले भोगेको यथार्थ हो यो । 

साहित्यिक बर्गीकरणको हिसाबले यो कथा पूर्ण विदेशी नभएर नेपाली डायस्पोरिक कथा पनि हो । यसभित्र बेलायती जनजीवनसँग नेपाली जनजीवनलाई तौलिने कार्य गरिएको छ । जसलाई कथाभित्रको यस प्रकारको संवादले प्रस्ट्याउँछ– ‘हेर मलाई तीनवटीले छाडिसके । चौथीको पनि कुनै भर छैन । अनि तिमीलाई कतिवटीले छाडिसके ?’

‘हाम्रो स्वास्नी मान्छे लर्तराले त्यसो गर्दैनन् ।’
‘कसरी ? यहाँ त मौसम र स्वास्नी मान्छको भरोसा हुँदैन ।’ 
‘यहाँ प्रेम र दाम्पत्य जीवनलाई शरीरसँग मात्रै जोडियो र हाम्रामा पूर्वजन्म र पुनर्जन्मसम्मका लागि भनेर आत्मासँग ।’ 

यसरी यस सङ्ग्रहभित्रका प्राय कथामा वैदेशिक परिवेशलाई केन्द्रबिन्दु बनाइए तापनि तिनमा केही मात्रामा नेपाली माटोको सुगन्ध पाइन्छ नै । 

७.  पुरुष वेश्यालय

पल्टनीया जीवन चट्टानजस्तै निक्कै कठोर हुन्छ । कहिलेकाहीँ भन्ने गरिन्छ नि– ढुङ्गा बरु पग्लिन्छ, तेरो मन पग्लेन । कमलो हृदयको पल्टने सितिमिती पाइन्न । पल्टनघरमा आफू कठोर मनको नभएपनि कठोर भएको नाटक गर्नुपर्छ । यस्तै कठोरताको आगोको भुँग्रो हो तालिम केन्द्र । त्यही तालिम केन्द्रमा भर्खरै भर्ती भएर आएको एक रेक्रुट (सैनिक) ले केकस्तो परिस्थितिको सामाना गर्नुपर्छ भनेर ‘पुरुष वेश्यालय’ कथामा पोखिएको छ । 

मैले स्वयम् पनि त्यस्तै आगोको भुँग्रोमा टेक्दै कुनै जमानामा आफूलाई तालिमप्राप्त सैनिक बनाएको थिएँ । कति पाठकले यो कथा पढेपछि ‘त्यस्तो निर्दयी ठाउँ पनि होला र !’ भनेर जिब्रो टोक्ने छन् । म पनि त्यस विकृति र विसङ्गतिको भोगी भएको हुनाले यस कथामा लेखिएका प्रत्येक वाक्य, देखाइएका प्रत्येक दृश्य सबै सत्य हुन् भनेर भन्न चाहन्छु । 

‘यो ढुङ्गा हो कि आलु, तँ ससुरालीघरमा छैनस् । यो तेरो घर होइन, आइगइस् दुम्बा, सुँगुर मोटायो भने चुत्थर मोटो हुन्छ । वेश्याहरुको दुख्न हुँदैन दुख्यो भने !’ जस्ता सुन्नै लाजलाग्ने भनाइहरु यस कथामा दोहोरिराख्ने वाक्यहरु हुन् । सन् १९८० छेका गोर्खा सैनिक तालिम केन्द्रमा प्रशिक्षकले प्रशिक्षार्थीलाई यसरी भनिने गरिन्थ्यो । मलाई लाग्छ आजकाल ब्रिटिश गोर्खामा प्रशिक्षार्थीलाई मानवीय व्यवहार गरिन्छ, यस्ता वचन लगाइन्न । 

८. पल्टनेको फोटो

‘पल्टनेको फोटो’ यस सङ्ग्रहको शीर्षक कथा हो । त्यसैले पनि ‘पल्टनेको फोटो’ कथाले विशेष महत्व राख्छ । वडा, जिला, अञ्चल, क्षेत्र भनेझैँ सैनिक सङ्गठनमा सेक्सन, प्लाटुन, कम्पनी र बाटलियन हुन्छन् । ब्रिटिश–इन्डियाको पालामा भर्ती भएर गएका गोर्खालीलाई ‘प्लाटुन‘हरुमा वर्गीकरण गरियो र त्यही ‘प्लाटुन’ शब्द अप्रभंश हुँदै ‘पल्टन’ भएको हो । पछि आएर सैनिक बस्ने ब्यारेक र एउटा बाटलियनलाई नै ‘पल्टन’ भनिन थाल्यो । पल्टनबाट पल्टनघर, पल्टनीया र पल्टनेजस्ता अन्य शब्दहरु पनि जन्मे । यसर्थ पल्टनेको अर्थ हुन्छ लाहुरे, सिपाही वा सैनिक । यसरी गोर्खा भर्तीले हाम्रो समाजमा संस्कार र संस्कृति मात्रै सिर्जना गरेको छैन, नेपाली भाषाको भण्डार पनि भर्ने काम गरेको छ । 

गाउँघरमा लाहुर गएको छोरो, दाजुभाइ, लोग्नेको फोटो घरको मूल ढोकामाथि टाँग्ने प्रचलन हुन्छ । दशैँतिहार चाडपर्वमा सँघारमाथि झुन्ड्याइएको फोटोलाई टीका लगाइदिएर सम्झने गरिन्छ । यस कथामा पल्टने आफ्नो लोग्नेको फोटोलाई उसकी स्वास्नीले बिहानबेलुका भित्रबाहिर गर्दा सम्झिरहेको संवेदनालाई अति कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । 

यही सँघारको फोटोलाई आमाले दशैँमा टीका लगाइदिएर आशीर्वाद दिनुहुन्छ । तिहारमा चेलीले भाइटीका लगाइदिएर दीर्घायुको शुभकामना दिन्छिन् । त्यसो भएर यो सँघारको पल्टनेको फोटो यो घरको छोरो हो, यो घरको माइती हो र लोग्ने पनि हो । 

हेर्दछु, घाम छल्न या बम छल्न टाउकामाथि ओढेको छ गोर्खा हेट । त्यो गोरखा हेटमुनि थिचिएको अदपको आदिवासी अनुहार । हात्तीले एकैफालमा पछार्न नसक्ने र चारओटा बाघले एक छाकमा सिध्याउन नसक्ने ज्यानको मालिक हो, मेरो पल्टने । अहिले त्यो पल्टने मलाई यहाँ एक्लै छाडिराखेर पल्टन गएको छ । ती नौँ डाँडाभन्दा पा... रि.... र सात समुन्द्र भन्दा प...।र....! जहाँ सम्झना मात्रै पुग्छ । 

यसै कथाबाट उद्धृत गरिएका यी माथिका पङ्क्तिले के दर्साउन खेजेका छन् भने कथाकार एक पुरुष भएर पनि कथाकारमा नारी संवेदना पोख्न सक्ने ठूलो कला छ । पाठकलाई यो कथा कथाकारको नाम र लिङ्ग नखुलाई पढ्न दिइयो भने अवश्य नै लेखक महिला हुनुपर्छ भनी ठान्ने छन् जस्तो मलाई लाग्छ । एक पुरुष लेखकले आफू महिला पात्रको भूमिका निभाएर लेखेको योजस्तो अर्को कथा मैले पढ्न पाएको छैनँ भने पनि हुन्छ । यो कथा नारीवादी कथा त होइन किनकि यसले नारी हक र अधिकारको उठान भने गरेको छैन । तर निश्चय नै नारी पीडा र संवेदनालाई अपेक्षा गरिएको भन्दा बढी नै उच्चस्तरमा प्रस्तुत गरिएको छ । यो कथा हाम्रा आमा, बजै, र जिजुबजै जस्ता आम लाहुरेनीले भोगेको वास्तविक कथा हो । अनि फ्रायडवाद र युद्ध सौन्दर्य दर्शनले पोतिएको एक सुन्दर कथा हो । अनि साँच्चि नै यस कथासङ्ग्रहलाई प्रतिनिधित्व गरेको कथा हो यो । 

९. छुटेको साथी

युद्धपूर्व, युद्धअवस्था र युद्धपश्चातका पीडा, व्यथा, घटना कविता र कथामा उतार्नु युद्ध साहित्यको परिभाषाभित्र पर्छ । तर युद्ध साहित्यको मेरुदण्ड भनेको युद्धरत अवस्थाको चित्रण गरिनु हो । ‘छुटेको साथी’ कथामा पूर्वयुगोस्लाभमा गोर्खाली पल्टनको युद्धरत अवस्थालाई वर्णन गरिएको छ । युद्ध मैदानमा कसरी सूचना प्रवाह गरिन्छ र युद्धको रणनीति कस्तो हुन्छ भन्ने कुराको यसमा व्याख्या गरिएको छ । विशेष गरेर एकै मोर्चाका सहयोद्धाबीच जीवन र मरण दोसाँधमा उत्पन्न हुने भय तथा संवेदनालाई हृदयविदारक तरिकाले अभिव्यक्त गरिएको छ । 

१०. बत्ती निभेपछि 
सन् १९९५ भन्दा पहिला ब्रिटिश गोर्खा पल्टन हङकङमा अवस्थित थिए । अहिले सबै पल्टनलाई बेलायतमा सारिएको छ । ‘बत्ती निभेपछि’ शीर्षकको यो कथा हङकङको भूगोलमा केन्द्रित छ । सिपाहीहरु युद्ध अभ्यास र युद्ध मात्रै गर्दैनन् । आत्मबल बलियो राख्न छाउनीभित्र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गर्छन् । सप्ताहन्तको छुट्टीमा ब्यारेकबाट बाहिर निस्केर सर्वसाधारण नागरिकसरह स्थानीय परिवेशमा रमाउँछन् । 

हङकङमा अवस्थित रहेको बेला एक गोर्खा सैनिकको व्यक्तिगत जिन्दगी कस्तो थियो त भनेर बुझ्न यो कथा पढ्नुपर्छ । विदेशी प्रेमिकासँग पिकनिक खाएको, क्लबमा पिएको र नाचेको, समुद्रमा पौडी खेलेको जस्ता समयका प्रेमिल क्षणहरुलाई निकै रमाइलोसँग बुनेर अभिव्यक्त गरिएको छ ।  

ताइमोशान डाँडामा बीबीक्यु खाएर ५२ नम्बरको बसबाट चुनवान झरेको । अनि भूमिगत रेल एमटिआर चढेर वानचाई उत्रेपछि पुसिकेट नाइटक्लबमा मत्थु हुँदै पिएको र नाचेको । अर्को सप्ताहन्त तिनै प्रेमिकासँग सेको बिचमा पौडी खेल्न पुगेका जस्ता सिपाहीका वास्तविक घटनामा आधारित यो कथाले हङकङमा सैनिक जीवन बिताएका पाठकलाई त ती दिनहरुको सम्झना दिलाउँछ नै, गैरसैनिक पाठकलाई पनि यस कथाले अवश्य नै मनोरञ्जन दिन्छ भन्ने मलाई लागेको छ । 

११. राइफलम्यान यवाहाङ

आ ! दुई दिनको जिन्दगी हो । कहिले मरिने हो ! बाँचुञ्जेल मोजमस्ती गर्नुपर्छ । धनसम्पत्ति किन जोर्नुपर्‍यो ? भन्ने आम सैनिकको मनोविज्ञान हुन्छ । यस्तो दोधारे मनोविज्ञान किन पालेको हुन्छ त ? किनभने कुनैपनि समय ऊ युद्धमा होमिन सक्छ । रणभूमिमा कुनै समय ऊ मृत्युवरण लिनसक्छ, युद्धबन्दी बनाइन सक्छ, घाइते हुनसक्छ । उसको मन यस्तै अनिश्चित भविष्यबाट विचलित भैरहन्छ । 

यस्ता उथलपुथल मनलाई सम्हालेर बाँच्ने क्रममा एक सैनिक पिएर, कसैसँग जिस्किएर आफ्ना दिनहरु बिताउन चाहन्छ । 

यस्तै जीवनको परिदृश्य प्रस्तुत गर्छ ‘राइफलम्यान यवाहाङ’ कथाले । अविवाहित सैनिकको एक सुन्दर युवतीप्रति कस्तो मनोभाव हुन्छ भनेर बुझ्न यो कथा पढ्नुपर्छ । यवाहाङ दिनभरि गधाजस्तै दलिएको हुन्छ र कमान्डरका अपशब्द सुनेर अघाएको हुन्छ । थकित शरीरलाई राहत दिन साँझ परेपछि ब्यारेकभित्रको बार धाउँछ । अनि पीडाका घाउलाई बियरको मातले पखाल्छ । बियर सारेर दिने सुन्दरी गोरेनी युवतीको अनुहार र जिउडाल हेरेर थुक निल्नुबाहेक यवाहाङ अरु के नै गर्न सक्छ र ! एक प्रिय ग्राहक बनेर इत्तरिँदै उससँग कुराकानी गर्नबाहेक अरु के नै गर्न सक्थ्यो ! ती युवतीलाई देखेर कल्पना त कस्तो कस्तो गर्दो हो ऊ, तर मनको रहर मात्रै !

यो कथा पढ्दा मलाई ब्रिटिश इन्डियाछेकाका लाहुरेहरुको याद आयो । लाहुरे छुट्टीमा घर आउँथे लखनौ, गोरखपुर हुँदै नौतनवा भएर । बटौली खसौली आइपुग्दा जुवातास, रन्डिबाजी र रक्सीमा पैसा सिध्याएर घरै नपुगी उतैबाट पल्टन फर्किन्थे रे ! गोर्खालीका यस्ता कुव्यवहार देखेर लाहुरे स्रष्ठाद्वय मास्टर मित्रसेन र बहादुरसिंह बराल चिन्तित भए । अनि गोर्खाली समाजमा सुधार ल्याउन भजनकृतन गर्ने, गीतसङ्गीत गाउने र नाटक प्रदर्शन गर्नेजस्ता अभियान चलाएका थिए । 

यो कथा पढेपछि मलाई उन्नाइसौँ र एकाइसौँ शताब्दीका लाहुरेमा त्यति भिन्नता छैन जस्तो लागेर आयो । 

१२. गोरखा 

गोरखा नाम युद्ध र सैनिकसँग मात्रै सम्बन्धित छैन । गोरखा एउटा विश्व प्रख्यात ब्रान्ड भएको छ । झट्ट हेर्दा गोरखा इतिहासको सकारात्मक पक्ष मात्रै देखिन्छ । तर त्यसो होइन, यसका नकाराम्मक अँध्यारा पाटा पनि छन् । एकातिर इमान्दार र बहादुर ठहरिएर गौरवशाली इतिहास रचिएको छ भने अर्कोतर्फ यस वर्गले आफ्नै देशमा आप्रवासीसरह पहिचान गुमाउनुपरेको छ । त्यति मात्रै होइन, गोर्खाली विदेशीको गुलाम गरेर बाँचेको हुन्छ भनेर पनि भन्ने गरिन्छ । 

एक व्यापारिक मालसामानजस्तै ‘गोर्खा’ नेपालको उत्पादन हो । नेपाल सरकार ‘गोर्खा‘लाई निर्यात गर्छ र बेलायती पाउण्ड भित्र्याउँछ । सुगौली र त्रिपक्षीय सन्धि एक व्यापारिक सन्धि थियो बेलायत, नेपाल, इन्डियाबीच पैठारी र निर्यातको । 

गोर्खालीको यस्तै विरोधाभास परिवेशलाई रक्षले यस्तो चलाखीपूर्ण तरिकाले यस ‘गोरखा’ कथामा दर्शाएका छन् कि पाठकको साधारण आँखाले ठम्याउन गाह्रो पर्छ । यद्यपि यस कथाको तात्पर्य बुझ्न नसकिएला तर पनि नौलो लेखन शैलीले गर्दा यस कथाले पनि पाठकको मन जित्न सफल हुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु । 

यो कथा पनि युद्ध भूमिको सेरोफेरोमा केन्द्रित छ । बेसक्याम्पमा एक बेलायती महिला सैनिक र एक गोर्खा सैनिकबीचको उठबस र वार्तालापबाट कथाको उठान हुन्छ र अन्त्य पनि । बेसक्याम्पमा गोर्खा सैनिकले एक कुकुरको छाउरो भेट्छ र उक्त महिला सैनिकलाई पाल्न दिन्छ । यसै कथाबाट उधृत गरिएको तिनीहरुबीच कुराकानीको एक अनुच्छेद यस प्रकार छ जसले यस कथाको तात्पर्य प्रष्ट पार्छ – 

‘अनि यसको नाम के राख्यौ? ’ म उनलाई सोध्छु । 
‘गोर्खा ।’ लान्स कर्पोरल शू छोटो उत्तर दिन्छे । 
‘गोर्खा !’ म आश्चर्यमा पर्छु । 
‘हो, गोर्खा । यसलाई तिमीले दिएको कारण यसको नाम गोर्खा राखिदिएकी ।’ लान्स कर्पोरल शूले त्यसको नाम राख्नुको कारण भन्छे । 
‘ए.... हो !’ म उसको कुरालाई सही थाम्छु । तर कुकुरको छाउरो गोर्खा कि म रु म भ्रान्तिमा पर्छु । 
‘कम वन गोर्खा, लेट्स गो ।’ लान्स कर्पोरल शू यसो भन्दै गार्डरुमबाट बाहिरिन्छे ।

१३. अष्ट्रियाकी फूल

सिपाहीको जीवन इन्द्रेनीको रङझैँ विविधतापूर्ण हुन्छ । अनि हुन्छ पहाडका उकालीओरालीसरी अप्ठ्यारा कान्लाहरुझैँ । बेलायती गोर्खा सैनिकको जीवन कहिले गुज्रिन्छ ब्रुनाईको चारकोसे जङ्गलमा त कहिले ठोकिन्छ हङकङको कङ्क्रिट जङलसित ! कहिले इराक अफगानिस्तानको रेगिस्तानी तातो हावा फेर्दै त कहिले बेलायत र जर्मनको युरोपियन चिसो हिउँमा सेकिँदै । 

यस्तो यात्रावत जीवनमा कहिल्यै नसोचेका मानिसहरु पनि कसरी हो ठोक्किन आइपुग्छन् । सिपाहीका पाइलाले जुनजुन माटो टेक्छन् त्यहीँका युवतीहरु परी भएर बहार छर्दै आउँछन् । सिपाहीलाई जहिले पनि प्रेमको तिर्खा लागिरहेको हुन्छ । 

‘अष्ट्रियाकी फूल’ शीर्षकको यस कथाले एक सैनिकको प्रेमतिर्खालाई वर्णन गरेको छ । कर्कलाको पातमाथि शीतको थोपाजस्तै एक सुन्दर प्रेम कथा । यो कथाको स्थान परिवेश हो लण्डन शहर । समय परिवेश हो फेब्रुवरी महिनाको भेलेन्टाइन डे । अनि मानवीय परिवेश हो एक गोर्खे सिपाही र युरोपेली राष्ट्र अष्ट्रियाकी एक सुन्दरी युवती । तर ती जोडीको सामाजिक परिवेश कथाकारले यति विषम भएको प्रस्तुत गरेका छन् कि युवक तेस्रो मुलुकको जिरे खुर्सानी त युवती प्रथम मुलुककी सुनगाभा १ 

यस कथाले कताकता नियात्राको रुप लिएको पनि भान हुन्छ । पढ्दै जाँदा पाठक स्वयम् लन्डन घुमेको अनुभव गर्छ । बकिङ्हम प्यालेस, पार्लियामेन्ट बिल्डिङ, थेम्स नदीको किनार डुल्दै गर्दा ती जोडीका प्रेमिल अभिव्यक्तिले पाठक स्वयम्लाई भेलेन्टाइन डे मनाएको अनुभूति हुन्छ । अनि तत्कालीन बेलायतको राजनैतिक तथा सामाजिक परिवेशको चित्रण गरेर शिक्षा पनि प्रदान गर्ने प्रयत्न गरिएको छ । यसरी यो एक रोमान्टिक युद्ध कथा मात्रै नभएर ज्ञानवद्र्धक सामाजिक कथा पनि हो । 

१४. शहरको केटो
काल्पनिक काल्पनिक वास्तविक वास्तविकजस्तै लाग्ने कथा हो ‘शहरको केटो’ । यो कथा अन्य कथाभन्दा धेरै पृथक् देखिन्छ । यसमा साहित्यका युद्धरस र डायस्पोरिक रस अलि कमै पाइन्छन् । 

सबैलाई थाहा भएको कुरा हो शहरका मानिस गाउँकाभन्दा चतुर स्वभावका हुन्छन् । शहरको केटो गाउँ गएर गाउँले केटाहरुलाई गफ लगाउँछ । ‘हवाइजहाज चलाउन त मैले मम्मीको पेटमा छँदै बेलायती अङ्कलमार्फत सिकिसकेको हो ।’ भन्नेजस्ता दोहोरिरहने वाक्याङ्शले पाठकमा कौतुहल जोगाइरहन्छ । 

शहरीया गफाडी केटोको गफलाई सुनेर मख्खै पर्ने एकजना गाउँले केटो पछि भर्ती भएर लाहुरे बन्छ । यतिबेला मात्रै कथाले युद्ध साहित्यको अलिकति छनक दिन्छ । अन्यथा यो नितान्त नेपाली सामाजिक परिवेशमा लेखिएको कथा हो । 

यो कथा पढ्दा मलाई सञ्जीव उप्रेतीको ‘हंस’ उपन्यासको सम्झना आयो । आफ्नी पूर्व स्वास्नीकी लोग्ने अर्थात् जार अमेरिकाबाट काठमाडौँ आएको हुन्छ । जारलाई भेटेर झोलामा बोकिराखेको खुकुरी झिकेर ‘अब छप्काउँछु, अब छप्काउँछु ।’ भनेर गरेको वार्तालापले मलाई खुबै कौतुहल जगाएको थियो । 

कथामा गहन विषयवस्तु नभए पनि पाठकमा रहस्यको भावना जागृत गराइराख्नसक्नु कथाकारको ठूलो कला हो । यस हिसाबले ‘शहरको केटो’ एक सफल कथा हो । 

१५. मरेको बाघ

पल्टनघर कलमका लागि होइन, बन्दुकका लागि हो । वास्तविकता यो हो कि बन्दुकले विनाश गर्छ, कलमले सिर्जना गर्छ । तर पल्टनघरमा कलमको निब भाँच्ने काम हुन्छ । पल्टन र पल्टनीयासँग यस्तो मानसिकता हुने थिएन भने सायद गोर्खाली आफ्नै देशमा पहिचानबेगरको हुनुपर्ने थिएन । 

यसै यथार्थलाई बोध गरेर होला रक्षले यो कथा ‘मरेको बाघ’ लेखेको । विषयवस्तु र प्रस्तुतिको दृष्टिकोणले यो एक नायन्टिनायन क्यारोटको सुनजस्तै अब्बल दर्जाको कथा हो । 

सेनामा बलिया मात्रै होइन, बौद्धिक ज्ञान भएका ठिटालाई पनि भर्ती गरिन्छ । तर ती पढेलेखेका युवालाई लेखनमा प्रोत्साहन गरिँदैन । लेखनमा रुचि राख्ने सैनिकलाई प्रोत्साहन गर्ने संस्कारको गोर्खा पल्टनमा विकास भएको भए मलाई लाग्छ, अहिलेसम्म राष्ट्रिय स्तरका उत्कृष्ट पुरस्कार पाउन सक्ने साहित्यिक सिर्जना लेखिसकिएका हुन्थे । अहिले आएर हामी निवृत्त केही लाहुरे साहित्यकारले यो गोर्खा युद्ध साहित्य भनेर आन्दोलन चलाउनुपर्ने नै थिएन । 

सन् २०१८ मा विश्व नेपाली साहित्य महासंघको अन्तर्राष्ट्रिय सम्मेलनमा मैले ‘वेल्पाली लाहुरे स्रष्ठा र युद्ध साहित्य’ शीर्षकको एक कार्यपत्र पेस गरेँ । मेरो उक्त कार्यपत्रले पनि रक्षले यस कथामा उठान गरेको तितो यथार्थलाई प्रकाश पारेको छ । 

विषयवस्तुको हिसाबले यो कथा पूर्णतः पल्टनीया साहित्य हो । तर यसले प्रदान गर्न खोजेको ज्ञान के हो भने सैनिकलाई बन्दुकसँगै कलम पनि चलाउन देऊ । किनकि कलम अभिव्यक्त गर्न पाउनुपर्ने अधिकारको प्रतिबिम्ब हो । आफ्ना कथाव्यथा कलमद्वारा अभिव्यक्त गरेर कागजमा छापिन सक्यो भने आफ्नो इतिहास बाँच्न सक्छ । आफैँद्वारा लेखिएको इतिहास साँचो इतिहास हुनसक्छ । इतिहास अरुले लेखिदियो भने बाङ्गिन्छ, जानीजानी बङ्ग्याएर लेखिन्छ । 

अहिलेका उत्तरआधुनिक युगका गोर्खा सैनिक बेलायतजस्तो मानव अधिकारसम्पन्न राष्ट्रमा सेवारत छन् । यस्तो परिवेशमा उपल्लो दर्जाका सैनिकले पुरानो मानसिकतालाई फालेर उदारवादी, अग्रगामी र प्राज्ञिक सोच राख्दै पल्टनघरमा साहित्यलाई प्रोत्सान हुने खालका कार्यक्रम ल्याउनुपर्छ भन्ने यस कथाको मूल तात्पर्य हो भन्ने मेरो ठहर छ । 

१६. बाटोको ढाकर

रक्ष देश खाएर शेष परेका कथाकार हुन् । उनमा जन्मभूमि र कर्मभूमि दुवैको गहिरो चेतना छ । जन्मभूमिमा घटेका घटनालाई कर्मभूमिमा आफूले बिताएका दिनानुदिनसँग मिश्रण गराउँदै ‘बाटोको ढाकर’ कथा लेखिएको छ । 

कति जन्मभूमिमा जन्मन्छन् र त्यहीँ नै आफ्नो कर्मभूमि बनाउँछन् । बाह्य देश भ्रमण गर्ने अवसर पाएका हुँदैनन् । त्यस्ता कथाकारले लेखेका कथा एकाङ्की हुनसक्छन् । तर रक्षको एउटै कथामा नेपाल, हङकङ अनि बेलायतको परिवेश समेटिएको पाइन्छ । किनकि यी तीनै स्थानमा उनले आफ्नो जीवनको लामो अवधि बिताएका छन् । 

यो कथा जनयुद्धबाट पीडित एक छोराको वास्तविक घटनावरिपरि घुमेको छ । जसका बुबालाई माओवादीका सिपाहीले अपहरण गरी लगेर हत्या गरिदिएका छन् । ती माओवादी सिपाहीलाई आफू हङकङमा बोर्डर ड्युटी गर्दाको परिवेशसँग जोडेर रक्षले कथालाई अगाडि बढाएका छन् । चाइनिज आप्रवासी बोर्डरको तार नाघेर हङकङ छिर्न खोज्दा तिनलाई छिर्न नदिनु रक्षको ड्युटी हुन्थ्यो । उनमा मानवीय दया जागेर ती आप्रवासीलाई छोडिदिऊँ कि भन्ने पनि लाग्थ्यो । तर उनले उच्च ओहोदामा रहेका मान्छेको हुकुम मानेर काम गरेका थिए । माओवादीका ती सिपाहीले पनि रक्षले जस्तै कमाण्डरको आज्ञा मान्न कथाको मूल पात्र ढाक्रे केटाको बाउलाई अपहरण गरेका होलान् भन्ने सहानुभूति प्रकट गर्दै कथा लेखिएको छ । 

माओवादीको गृहयुद्ध र गोर्खाली सिपाहीको बोर्डर ड्युटीको समिश्रणमा पाठकलाई एकातिर पीडाबोध गराउन सक्ने र अर्कोतर्फ करुणा जगाउन सक्ने रक्षको यस कथा लेखनप्रति एक सलाम ठोक्नै पर्छ । 

१७.  केयर होम
यस सङ्ग्रहको अन्तिम अथवा सत्रौँ नम्बरको कथा हो ‘केयर होम’ । यसमा कथाकार नारीमनोभावना व्यक्त गर्न अति नै सफल भएका छन् । हुन त यो कथा ‘मेरी स्वास्नीको लोग्ने‘, ‘टोम पाइपरको एक साँझ‘, ‘वधशालामा बूढो मजदुर’ ‘पल्टनेको फोटो‘जस्तै एक पारिवारिक तथा सामाजिक कथा हो । तर ती कथाहरुभन्दा यो केही पृथक तरिकाले लेखिएको छ । 

कथाकारले पुनः आफूलाई एक नारीपात्रका रुपमा प्रस्तुत गरेका छन् । घरमा एक श्रीमती, केयर होममा एक महिला नर्स । बेलायती बृद्धबृद्धालाई स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा तिनीहरुसँगको संवाद अति रोचक तरिकाले अभिव्यक्त गरिएको छ । आफ्नो साहित्यकार श्रीमान् र नेपालका बारेमा ती जेष्ठनागरिकसमक्ष गरिएको वार्तालापले कथालाई डायस्पोरिक रुप पनि दिन सफल भएको छ । 

पुछारमा, यसभित्रका मन छुने कथाहरु पढेर पाठकलाई यससङ्ग्रहले पक्कै राष्ट्रिय स्तरको लोकप्रियता पाउला भन्ने भान हुन्छ । यस्तो सम्मानको कल्पनाको मूल कारण यसभित्रको नवीनतम् विषयवस्तु हुनसक्छ । ती नवीनतम् विषयवस्तु भनेका युद्ध, सैन्य, लाहुरे अथवा पल्टनीया पारिवेश हुन् । नेपालमा लाहुरेको गाथा दुई सय वर्षभन्दा पुरानो छ । यसले हाम्रो समाजमा लाहुरे इतिहास, संस्कार र संस्कृति स्थापित गरिसकेको अवस्था हो । हाम्रा गाउँघरमा बरु मास्टर नभएका टोल होलान् तर लाहुरे नभएका टोल हुँदैनन् । हाम्रा लोकगीतसङ्गीतमा लाहुरे जनजीवनलाई प्रशस्तै मात्रामा प्रस्तुत गरिए तापनि नेपाली साहित्यमा विरलै लेखिएको पाइन्छ । यसअघि लाहुरे समुदायका बारेमा केही साहित्यिक पुस्तकहरु नछापिएका होइनन् । 

यस सङ्ग्रहले नेपाली डायस्पोराको विषयलाई अति नै सान्दर्भिक र रोचक तरिकाले उठान गरेको छ । नेपाली साहित्य सिर्जना प्रकाशनको सम्भवत एकतिहाइ भाग आजकल प्रवासमा बस्ने नेपाली लेखकले गरेका हुनसक्छन् । भारतीय नेपाली, भुटानी नेपालीदेखि लिएर बेलायत, अमेरिका, युरोप, खाडी मुलुक, पूर्वी एशियन मुलुक र अष्ट्रेलियामा बस्ने नेपाली लेखकले वर्षेनि सयौँ पुस्तक प्रकाशन गर्दै आएका छन् । यति हुँदाहुँदै पनि नेपाली डायस्पोराका कृतिले राष्ट्रिय स्तरमा सम्मान पाएको देखिँदैन । 

गोर्खा सैनिक स्वयम् डायस्पोराका नेपाली हुन् । इन्डिया, हङकङ, ब्रुनार्ई, सिंगापुर, बेलायतजस्ता राष्ट्रमा लाखौँ गोर्खा सैनिकको बसोबास छ । यो कृति ती डायस्पोरामा रहँदै आएका नेपाली समुदायका बारेमा रहेको छ । यसका रचयिता रक्ष राई पनि एक डायस्पोराका नेपाली सर्जक हुन् । त्यसर्थ यस पुस्तकले राष्ट्रिय स्तरको लोपप्रियता पाउनु भनेको डायस्पोरिक नेपाली लेखकको सम्मान गरिनु पनि हुने छ । फलस्वरुप डायस्पोराका अन्य नेपाली लेखकलाई पनि ठूलो प्रेरणा मिल्ने छ भन्ने मैले ठानेको छु । 

डिसेम्बर २०२०, फोक्स्टोन, केन्ट, बेलायत