कविता राई | साहित्य | पुस ११, २०७७
रगत र पसिनाको मसीले
लेखिसकेपछि समयको इतिहास
बल्ल भेट भएको होे तिमीसँग ।
दर्बिला पाइला टेक्ने जमिन
श्वास फेर्ने कञ्चन हावा
फैलिने स्वाधिन आकाश
त्यसपछि पाएकी हुँ मैले
र, भएकी हुँ पूर्ण मानिस ।
टपरी गाँसे जसरी गाँसेकी हुँ
मुटुका एक एक पत्रहरू
र, भएका हौँ हामी
एउटै स्वप्नमा एकाकार ।
ए ! मेरो स्वप्न–युग
लोग्नेको बलिदान चढाएर
एउटी विधवाले
शोकलाई शक्तिमा बदल्दै
गाएकी थिइन् तिम्रै नाममा
कालजयी विजय–गीत
कि, उदाउने छ एक दिन
एउटा सिङ्गो घाम ।
त्यसपछि
सघन अन्धकार चिरेर
जन्मिएको हो एक तेजस्वी शिशु
र, उभिएको हो नवीन युग बोकेर
हाम्रा स्वप्न–वृक्षहरूको बगैँचामा ।
म एक स्वप्नदर्शिनी
हिँडिरहेकी छु यात्रामा
ताकेर एउटा सुन्दर संसार ।
परास्त गर्नुछ आँधीको युद्ध
पन्छाउनु छ बाटामा खसेका
अवरोधका सहस्र ढिस्काहरू
र, तयार हुनु छ
चुम्न स्वप्न–यात्राको गन्तव्य,
उः हेर्नाेस् त—
रङ्ग्याइरहेको छ युवक घामले
युवती–पहाडको कुमारी सिउँदो ।
टेम्केमैयु गाउँपालिका–७, भोजपुर
९८४२०७९६७१