जानु काम्बाङ लिम्बू | साहित्य | पुस ११, २०७७
उज्यालो खोज्न बेलायत आइपुगेको
बिर्खेको बाउ
जाडोेसित हार खाँदै भन्छ-
अब चाडै बिर्खेलाई
यता बोलाएर हामी फिर्नु पर्छ
आज टिभीमा प्रचण्डलाई देखेर
सारै याद आयो नेपालको ।
बुढी !
त्यो भाइबर कि साइबरमा फोन लगा न
म बोल्छु बिर्खेसँग ।
हिँड्ने बेला भन्थ्यो-
‘बाउ !
म आउँदा तिम्रो जिउनी बारी बेचेर
पैसा ल्याउँछु है’
भन्नु छ त्यसलाई–
‘जिउनी बारी नबेच्नू छोरा
म घाम ताप्न आफ्नै देश आउँछु ।’
यहाँ यो अँध्यारोमा आफ्नै छायाँसित
साउती मारिबस्नु भन्दा
बरू आफ्नै घरको आँगनमा
ओर्लिएको न्यानो घामलाई सुम्सुमाउँछु ।
सपनामा पनि सर्सराउँछन्
घरपर्तिर खोल्सीका मल्बाँसहरू
भन्छन्-
ए बुढामान्छे !
आऊ बुढो
आज तिम्रो आँगनमा ओर्लिएको
घामले तिमीलाई खोजिरहेछ
सेवालुंग हुँदै झरेको झरिले
तिम्रो धुरी छाम्दै
तप्किरहेछ तिमी बस्ने
सिखुवा छेउको बलेसीमा ?
साँच्ची हगि ! बिर्खेकी आमा
कति रमाईला छन्
हाम्रा घर आँगन
अनि
हामीले जवानी बिताएका
ति बनपाखाहरू.......... ?
अझै पनि गीत गाउँदा हुन्
कोइली लाकुरीको धुरी चढेर
अझै न्याउली रुँदा हुन्
घर मास्तिरको लप्सीबोट उक्लेर
भो बुढी, अब यो मनमा जमेका
बोझिल सम्झनाका तरेलीहरू
यहाँ पोखेर के काम ?
जाऊँ बरु,
यो रङ्गीन शहरमा
हामी हराउनु पहिले
आफ्नै वनपाखामा गएर बिलाई दिँऊ !!