गिरिजाबाबु ! यहाँको संसद्मा तपाईँले मलाई बोल्न चाँजोमा पार्नु भएन, सायद विश्व संसद्मा बोल्न पाइएला कि ?

फर्केलान् र ती दिनहरू

गिरिजाबाबु ! यहाँको संसद्मा तपाईँले मलाई बोल्न चाँजोमा पार्नु भएन, सायद विश्व संसद्मा बोल्न पाइएला कि ?

हरिविनोद अधिकारी  |  साहित्य  |  पुस ११, २०७७

मनमा उठ्ने लहरहरूलाई कसले पो  नियन्त्रण गर्न सक्छ र ? मन छिन छिनमा कता पुग्छ कता ? त्यसैले ध्यानको कुरा आयो र हाम्रा पुर्खाले कुनै कुरा अनुसन्धान गर्न पनि वनको एकान्त खोज्थे । त्यहीँ ध्यानमग्न भएर एकमन हुन कोसिस गर्थे र त वेद, उपनिषद, पुराणहरू तयार गरे जुन आज पनि अनुपम कोसेलीको रुपमा मानव जातिले  पाएको छ । त्यहाँ जुन कल्पना गरिएको छ र जुन बाटो देखाइएको छ, त्यो कुनै धर्मको लागि मात्र नभएर मानव जाति र ब्रह्मको खोजीको बारेमा छ । मलाई त अरूभन्दा पनि खगोलका बारेमा गरिएको अनुसन्धान र ज्योतिषको प्रमाणले सधैँ आकर्षण गर्छ । वायुलाई प्राणको रुपमा, सूर्यलाई यो ब्रह्माण्डको पिताको रुपमा र पृथ्वीलाई माताको रुपमा जसरी प्रमाणित गरेर जीवन र जगतको व्याख्या गरिएको छ, त्यो नै  विश्वका लागि पूर्वीय दर्शनको सबैभन्दा ठुलो कोसेली दिएको हो भन्ने लाग्छ । 

पूर्वीय दर्शनमा जे खोज्यो, त्यही देखिन्छ, त्यही पाइन्छ । अनि कुनै पनि दर्शनमा जीवनका सबै प्रश्नहरूको उत्तर हुनुपर्छ भनेर नै श्रुति, स्मृतिको माध्यमबाट जीवनलाई डोर्‍याउने उपायहरूको बाटो तय गरिएको हुनुपर्छ । सायद वेदको क्लिष्टताका कारणले वेद कसले पढ्ने भन्नुभन्दा कसले कार्यान्वयन गर्ने भन्नेमा अनुसन्धाताहरू केन्द्रित भएको पाइन्छ । भारतका महान् राजनीतिज्ञ तथा राष्ट्रपिता मोहनदास करमचन्द गान्धीले महाभारतभित्रको भीष्म पर्वमा श्रीकृष्णले अर्जुनलाई भनेको कुरा जसलाई हामी  श्रीमद्भागवत गीताको रुपमा जान्दछौँ, त्यसैको अध्ययन गरेर आफूमा रहेको ज्ञानको भोक र तिर्खाबाट पार पाउनका लागि बारम्बार अनुरोध गर्नु भएको छ र गीताको अध्ययन मात्र होइन कि त्यसको परिपालन गर्नु पनि अत्यावश्यक छ भन्नुभएको छ ।

उहाँले सके सबै गीता कण्ठ गरेर सधैँ गाउनू , नभए पहिला तीन अध्यायलाई बुझ्नू , नभए गीताको महत्वलाई मनन गरेर जीवनमा प्रयोग गर्नू भन्नुभएको थियो । नेपालमा पनि गान्धीवादी नेताको रुपमा र सन्त नेताको रुपमा परिचित कृष्णप्रसाद भट्टराईले आफूलाई जीवन चक्रलाई गीताको सारको रुपमा प्रयोग गर्नु भयो । उहाँको सबैभन्दा सार सङ्ग्रहको रुपमा लिने पछिल्लो मन्तव्य बनेको थियो , आफू प्रधानमन्त्रीको पदबाट पछिल्लो पटक राजीनामा दिने बेलामा प्रतिनिधि सभामा बोलेको मार्मिक सम्बोधन । महात्मा गान्धीले त सत्ताको बाटोमा अरूलाई मात्र पठाउनु भयो तर किसुनजीले त आफैँ त्यो सत्ताको महाजालमा पसेर पनि निःस्पृह, सत्तारुपी गाजलको कालो लामो सुरुङमा पसेर पनि आफ्नो सेतो मलमलको लुगामा कुनै कालो दाग लगाउन दिनु भएन । आफू कसैप्रति पनि कुनै पूर्वाग्रह नराख्ने भनेर सबैलाई एकमुष्ट धन्यवाद दिनुभयो जसले उहाँलाई सत्ताबाट समयभन्दा पहिले नै बाहिरिन बाध्य पारेका थिए । त्यो मन्तव्य अपरिग्रह र समभावको साह्रै राम्रो उदाहरण थियो । 

जुन बेलामा अहिलेको विश्वलाई उदार शासकीय स्वरूप र अर्थतन्त्रमा पहिलो शक्तिका रुपमा स्थापित भएको संयुक्त राज्य अमेरिका पत्ता  लागेकै थिएन, त्यो बेलामा पूर्वीय दर्शनले संसारलाई ज्योति दिइरहेको थियो र अरु दर्शनहरूले विश्वमा प्रभाव पार्न सकिरहेका थिएनन् । र आज पनि के देखिन्छ भने पूर्वीय सभ्यताले सबै सभ्यतालाई पथ प्रदर्शन गरिरहेको देखिन्छ । आजको विश्वमा अमेरिकाले एउटा आकर्षण दिएको छ । अमेरिका भन्ने बित्तिकै संयुक्त राज्य अमेरिका नै बुझ्न सकिन्छ र यहाँ पनि म त्यही संयुक्त राज्य अमेरिकालाई नै अमेरिका भनेर सम्बोधन गर्नेछु ।

आज समृद्धि, दर्शन र उदार शासन प्रणालीको नमुनाको रुपमा त्यही अमेरिकालाई लिइन्छ । शक्ति राष्ट्रको रुपमा, धनी देशको रुपमा, उदार प्रजातान्त्रिक शासन प्रणालीका रुपमा । फेरि संसारबाट जो जो आए पनि स्वागत गर्ने उदार देशको रुपमा पनि त्यही अमेरिका देखिएको छ । कानुनको राज्य स्थापना गरिएको छ र विधिभन्दा कोही पनि ठुलो हुँदैन भन्ने प्रजातान्त्रिक सिद्धान्तलाई कडाइका साथ प्रतिपादन गरिएको छ । हुन त हामी त्यो सिद्धान्तको प्रतिपादन वैदिक समय, उत्तर वैदिक समय र पौराणिक समयमा पाउँछौँ जसलाई पछि युरोपका कतिपय सभ्यताले अङ्गीकार गरेका थिए । अमेरिका करिब ६सय वर्ष अघि मात्र पत्ता लागेको भए पनि यत्ति छिटो आफ्नो विकास गर्‍यो कि आज शिक्षा , विज्ञान, सामाजिक विकास र भौतिक विकासका लागि अग्रणी भएर देखिएको छ । 

त्यो अमेरिका यस्तो ठाउँ भएको छ, जहाँ जान जो पनि लालायित हुन्छ । जसरी पनि जानेहरूको होडले होला, लाखौँ आप्रवासीहरू अझै अमेरिकाका वैधानिक बासिन्दा हुन सकेका छैनन् । खोइ किन हो, अमेरिकाले त्यस्तो मोहनी लगाएको ? थाहा छैन र पनि सबैको चाहना अमेरिका भएको देखिन्छ खास गरी विकासोन्मुख र अविकसित मुलुकहरूका बासिन्दाहरूको । सायद त्यहाँको कमाइको सहज र राम्रो उपायका कारणले होला, कतिलाई त्यहाँको शिक्षाको स्तरले तानेको होला, कतिलाई त्यहाँको उदार प्रजातान्त्रिक शासन प्रणालीले खिचेको होला त कतिलाई एक पटक अमेरिका जाउन् र आफ्नो भाग्य अजमाउन् भन्ने पनि लागेको होला ।

अझ संयुक्त राष्टसंघको मुख्य कार्यालय भएर पनि होला । हुन त राष्ट्र सङ्घको अर्को कार्यालय स्विटर ल्यान्डको जेनेभामा पनि छ । भनिन्छ, खाना जेनेभामा बन्छ, तर खाने कामचाहिँ न्युयोर्क हुन्छ । 'कुकिङ् इन जेनेभा एन्ड डाइनिङ इन न्युयोर्क '। यसो भन्नुको तात्पर्य होला धेरै कामका गृहकार्य गरेर तयार गरिएका प्रतिवेदन तथा निर्क्याेलहरुलाई साधारण सभामार्फत पारित गरेर विश्वभर कार्यान्वयन गर्ने भनेको होला । दुवैतिर राजदूतावास छन्, नेपालका स्थायी प्रतिनिधि अर्थात् राजदूतहरू छन् र नेपालको विश्व राजनीतिलाई त्यहीँबाट सम्पादन गरिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय प्रख्यात र आर्थिकरुपमा अत्यन्त गर्विलो न्युयोर्क न्युयोर्क राज्यको चाहिँ राजधानी नै हो जबकि त्यो विश्वकै राजधानी पनि हो किनभने संयुक्त राष्ट्र सङ्घको साधारण सभा त्यहीँ हुन्छ जहाँ विश्वका सरकार  प्रमुख या राष्ट्र प्रमुखले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने गर्छन् । न्युयोर्क राष्ट्र सङ्घको साधारण सभा सेप्टेम्बरको तेस्रो मङ्गलवार सुरु गर्ने चलन छ । 

अमेरिकाको राजधानी कोलम्बिया जिल्लाको वासिङ्टन भन्ने ठाउँमा छ, जसलाई वासिङ्टन डी सी भनिन्छ अर्थात् बासिन्न डिस्ट्रिक्ट अफ कोलम्बिया । जनसङ्ख्या, तडक-भडक, आर्थिक चलायमान र समावेशी सहरको रुपमा विश्वको राजधानी न्युयोर्क शैक्षिक तथा प्राज्ञिक केन्द्रसमेत भएको छ । विश्व प्रसिद्ध कोलम्बिया विश्व विद्यालय न्युयोर्कमै छ जसलाई प्रगतिशील प्रजातन्त्रवादीहरूको उत्पादन स्थलको रुपमा गणना गरिन्छ । त्यसो त त्यही नै त्यसको लक्ष्य नहोला तर वैश्विक अन्तरक्रियाले समावेशी र सामाजिक न्यायको पाठशाला बनेको चाहिँ पक्कै हो । 

त्यस्तो अमेरिका म पनि पुगेँ विक्रम सम्वत २०६४ सालको कार्तिक महिनामा अर्थात् इस्वी सन् २००७ को अक्टोबर महिनामा । सबैको चाहना हुन्छ एक पटक अमेरिका पुग्ने , त्यस्तै मेरो पनि चाहना थियो । मेरी कान्छी बहिनी जगदम्बा उहीँ थिई वासिङ्टन राज्यको सियाँल सहरमा । ज्वाइँ कोविद र भान्जा भान्जीसहित । भान्जी आर्या त्यो बेलामा ४ वर्षकी थिइन् भने भानिज आश्विन ३ वर्षका थिए । एउटा कल्पना हुन्छ, त्यस्तो भ्रमणमा जान पाइयोस् जहाँ अमेरिका भन्ने देशको भिसा स्वतः हातमा आओस्,  कुनै अन्तरवार्ता पनि दिनु  नपरोस् ।

सुनिन्थ्यो, अमेरिकी राजदूतावासमा भिसा लिन भाग्यमै लेख्नुपर्छ रे ! कुन झ्यालमा बस्ने मानिसले छिटै दिन्छन् रे, कुनै त भिसा दिन भनेपछि जहिले पनि गाह्रो मान्ने अनि अनेक प्रश्नहरू सोध्ने गर्छन् रे ! सायद त्यही भएर पनि होला, मलाई बहिनीले  बारम्बार अमेरिका आउनका लागि बोलाउँदा पनि म उत्साहित भएको  थिइन । म जापान जाँदा पनि जापान सरकारले उपलब्ध गराएको थियो भिसा, कोरिया जाँदा कुनै पनि भिसा नलिई विमानस्थलमा नै लिएको थिएँ , त्यस्तै न्युजिल्यान्ड पनि विमानस्थलमा नै लिएको थिएँ, चीन जाँदा पनि चीन सरकारले नै उपलब्ध गराएको भिसामा गएको थिएँ । सायद त्यही भएर पनि होला, मलाई अमेरिका पनि अमेरिकी सरकारको स्वतः भिसा दिने अवस्थामा जान पाए हुन्थ्यो भन्ने कल्पना गर्ने गथेँ , जुन त्यो स्वैर कल्पना जस्तै पनि थियो । 

संयुक्त राष्ट्र सङ्घको ६२ औँ महासभाको बेला थियो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो, त्यो बेलामा परराष्ट्र मन्त्री साहाना प्रधान हुनुहुन्थ्यो र परराष्ट्र मन्त्रालयको राष्ट्रसङ्घीय महाशाखामा मेरा मित्र डाक्टर दिनेश भट्टराई हुनुहुन्थ्यो । एक दिन त्यसै कतै दिनेशजीसँग भेट भयो, सायद त्यो बेलामा उहाँ जेनेभाका लागि राजदूत नियुक्त हुने बेला पनि थियो तर प्रधानमन्त्री कोइराला राष्ट्रसङ्घ नजाने हुनुभएकाले परराष्ट्र मन्त्री प्रधानले सम्बोधन गर्नु परेकाले दिनेशजी अमेरिका गएर आउने अनि जेनेभा जाने तयारीमा हुनुहुन्थ्यो । मैले दिनेशजीलाई एउटा साथीको रुपमा र युएन महाशाखामा भएकाले जिस्क्याएँ- लौ दिनेशजी  यस पटक त मलाई पनि महासभामा लानु पर्‍यो । वास्तवमा मैले त्यो कुरा सार्थक होला भन्ने पनि सोचेको थिइन र दिनेशजीले मन्त्रिपरिषद्मा त्यो नाम त्यहाँबाट पठाउन पनि पाउनु हुन्थेन । कारण थियो साहाना प्रधानजीले मात्र त्यो नाम पठाउन सक्नुहुन्थ्यो । आखिर भागबन्डामा नै राष्ट्रसङ्घ पनि पठाउने चलन सुरु भइसकेको थियो । सरकारमा सबै दलहरू थिए किनभने त्यो संविधान सभाको निर्वाचन गराउने अन्तरिम  संसद् थियो । सबै दलका सांसद , बुद्धिजीवी तथा समाजसेवीहरूलाई पठाउने चलन थियो । अनि दिनेशजीले भन्नुभयो- हुन त यो तरिका ठिक नहोला, तर एक पटक गिरिजाबाबुलाई तपाईँ आफैँ भन्नुस्, मलाई साधारण सभामा पठाउनुस् यस पटक भनेर । 

नेपालमा संविधान सभाको निर्वाचन कहिले हुने भन्नेमा विवाद थियो र २०६४ सालको मङ्सिरमा निर्वाचन गर्ने भए हामी सरकारबाट बाहिरिन्छौँ भनेर माओवादी पक्षले राजीनामा दिएर बसेको बेला थियो । परराष्ट्र मन्त्री पनि न्युयोर्क जाने तयारीमा हुनुहुन्थ्यो । तत्काल क्याबिनेटको बैठक हुने पनि अवस्था थिएन र केही नामहरू भागबन्डामा पठाउन पनि सांसदहरूको नाम र अरूको नाम तयारी भएको थिएन । तर साधारण सभामा पठाउनु त पर्थ्याे । कुरो मिल्दा र माओवादीहरूले मङ्सिरमा निर्वाचन नगर्ने सर्तमा फेरि सरकारमा सहभागिता जनाउँदा मान्छे तोक्न ढिलो भएको थियो । अनि दिनेशजीको सल्लाहलाई मैले त्यो बेलामा राष्ट्रिय समाचार समितिका अध्यक्ष रहेका भाइ तथा पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहाललाई अपत्यारिलो तरिकाले कुरा राखेँ । भाइले त मलाई तत्काल जानका लागि लिएर पो हिँडे, गिरिजाबाबुको प्रधानमन्त्री निवासतिर । मैले भनेँ-  भाइ, आज होइन, भोलि जाउन् । दाहाल भाइले भने - होइन दाजु, आजै जाउन्, सके भेटौँ, नभए पुरुषोत्तम बस्नेत दाजुलाई गिरिजाबाबुसँग समय मिलाउनका लागि अनुरोध गरौँ ।

नभन्दै हामी एक छिनमा नै बालुवाटार पुग्यौँ । म अलमलमा  परेको थिएँ, सपना र बिपनाको बिचमा परेको थिएँ  किनभने भाइ तारालाई राससमा पनि गिरिजाबाबुले पठाउनु भएको थियो तत्कालीन सञ्चार मन्त्री दिलेन्द्रप्रसाद बडूको अनुरोधमा । तारा राससमा जागिर खान जान्न भन्ने, म र बडूसर राससको नयाँ प्रबन्धका लागि पनि जानका लागि दबाब दिने । अनि मलाई ताराले स्पष्ट शब्दमा भनेका थिए त्यो बेलामा, एक पटक सुशील दाइसँग नसोधी जान्न । हामी दाजु भाइ र बडू सर सबै सुशील दाइकोमा गयौँ र सोध्यौँ ।सुशील कोइरालाले एउटा सर्त के राख्नु भयो भने मलाई जब चाहिन्छ, ताराजीले तत्काल राजीनामा दिएर मलाई पार्टीमा सहयोग गर्नुपर्छ किनभने निर्वाचन छिटै आउँदै छ । ताराले त्यो सर्त मानेर तत्कालै राससमा अध्यक्ष भएर गएका थिए । त्यो भन्दा पहिले राससमा अध्यक्ष शिक्षक नेता मीठाराम विश्वकर्मा भएका थिए र अन्तरिम संसदमा विश्वकर्मा सांसद बनेका थिए काँग्रेसको कोटामा । 

त्यो दिन भदौको सायद १७ गते थियो, मैले र ताराले गिरिजाबाबुलाई भेट्न पाएनौँ किनभने त्रिपुरेश्वरमा बम पड्केर दुई ओटी किशोरीहरूको निधन भएको थियो र उपत्यकाको शान्ति सुरक्षाका लागि सुरक्षा  समितिको बैठक प्रधानमन्त्रीजीको भइरहेको रहेछ । एकातिर माओवादीहरूले सरकारबाट बाहिरिने धम्की दिएका, अर्कोतिर काठमाडौँ  र बाहिर पनि बम पड्कन थालेकोले कुरो गम्भीर थियो । अनि हामीले पुरुषोत्तम बस्नेत दाइलाई गिरिजाबाबुसँग भेट्नु थियो, समय मिलाउनु पर्ने थियो भनेर भन्यौँ । कारण पनि बिस्तारै भन्यौँ । तारालाई सम्भव जस्तो लागेको थियो तर मलाई असम्भव जस्तो लागेको थियो र पनि कोसिस गर्ने भन्ने लाग्यो ।

वास्तवमा मेरो र गिरिजाबाबुका बिचको सम्बन्ध भनेको निःस्वार्थ सम्पर्कको थियो किनभने उहाँ आममाफी पाएर नेपाल आएदेखि मैले उहाँसँग सम्पर्कमा रहेर नै शिक्षकहरूको सङ्गठनलाई विस्तारित गरिरहेको थिएँ । त्यसैले पनि मेरो र गिरिजाबाबुको सम्बन्ध सुमधुर थियो र पनि म केही माग्न लज्जा बोध गर्थेँ किनभने उहाँसँग अपेक्षा गर्ने धेरै थिए र म त आफ्नो पेसा गरेर बाँचेकै थिएँ आरामसँग । तर शिक्षा क्षेत्र, पत्रकारिता क्षेत्रबाट प्रजातन्त्रलाई मैले जे गर्न सकेको थिएँ, त्यसमा मलाई सन्तोष नै लागेको थियो । त्यसका लागि कुनै फिर्ता व्याज मलाई चाहिएको त थिएन तर नभनीकन कसरी थाहा हुन्छ र मेरा मनका कुरा भनेर त्यो दिनचाहिँ साधारण सभाका लागि प्रतिनिधि मण्डलमा सदस्य बनाउन भनेर भन्न गएकै हुँ दिनेशजीको पथप्रदर्शन र ताराको ढिपीमा ।

मेरो चाहनाचाहिँ अमेरिकाका केही विश्वविद्यालयहरूमा चाहारे विद्यावारिधिका लागि निवेदन दिने पनि थियो । बहिनीको अनुरोध, नयाँ अनुभव र टिकट भिसा  सरकारले दिने हुँदा मेरो आर्थिक अवस्थाको पनि सुरक्षा हुने । त्यो दिन सम्भव भएन र केही दिनसम्म कुनै खबर आएन । पुरुषोत्तम दाइसँग सम्पर्क गर्दा गिरिजाबाबुसँग त्यसबारेमा कुनै कुरा हुन सकेको छैन भनेपछि मैले आशा छोडेँ तर ताराले भने - दाजु एक पटक समय नलिईकन जाऊँ, मेरो गाडीलाई बालुवाटार प्रवेश पाइन्छ, त्यसैले सके भेटौँला, नसके समय लिएर आउँला । नभन्दै गिरिजाबाबुलाई त भेट्न पाइएन किनभने त्यो दिन विदेशीहरू भेट्न आएका थिए तर स्वकीय सचिव युवा नेता बालकृष्ण दाहाललाई मैले र ताराले सबै कुरा भन्यौँ, अनि उनले भने- दाजुहरूले यो कुरा मलाई पैले नै भनेको भए सहानाजीलाई नै भनेर नाम राख्न लगाउँथेँ तर उहाँ फर्केपछिमात्र अब त्यो नाम राख्न सकिन्छ । ठिक छ, भोलि बिहानै आउनुस् तर व्यक्तिगत विवरण दुई प्रति  पनि ल्याउनु होला नि !

हामी दाजु भाइ बालुवाटारबाट हिँड्यौँ । मलाई अर्को समस्या के परेको थियो भने के भनेर मैले अपेक्षा गर्ने ? न म प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, न म विश्वविद्यालयको प्राध्यापक, न म कुनै पुरस्कार पाएको मानिस, न म कुनै कूटनीतिज्ञ वा कुनै पार्टीको पदाधिकारी ? म त शुद्ध विद्यालयको शिक्षक मात्र हुँ त्यो पनि माध्यमिक विद्यालयको । हुन त त्यो बेलामा म काठमाडौँ शिक्षा क्याम्पसको क्याम्पस प्रमुख थिएँ, त्यो त सामुदायिक क्याम्पस थियो र हामी सबै त्यहाँका संस्थापक भए पनि आंशिक प्राध्यापक मात्र । तर यदि म साधारण सभामा जाँदा विद्यालयका एउटा साधारण शिक्षक र सामुदायिक क्याम्पसको एउटा क्याम्पस प्रमुखले पनि राष्ट्र सङ्घमा सहभागिता जनाएको चाहिँ हुनेथ्यो । मेरो जानकारीमा सायद मै नै विद्यालयको साधारण शिक्षकले त्यसरी साधारण सभामा जानका लागि प्रयास गरेको थियो र त्यसका लागि प्रधानमन्त्रीसँग समय लिएको थियो । 

दिनेशजी पनि अमेरिकाबाट आइपुग्नु भएको थिएन, परराष्ट्र मन्त्री साहाना प्रधानसँगै आउने कुरा थियो । भोलिपल्ट  बिहान म पुगेँ तर गिरिजाबाबुसँग भेट्न पाइने नपाइने कुरा स्पष्ट थिएन र आफैँले राससको बोर्ड बैठक बोलाएका तारा भाइले मलाई भने - यदि गिरिजाबाबुले बोलाउनु भयो भने तपाईँ जानुस्  र कुरा राख्नुस् । पछि म पनि कुरा गरौँला पर्‍यो भने । नभन्दै तारा गाडी लिएर १ किलोमिटर पर नपुग्दै तत्कालै भेट्न बोलाउनु भयो गिरिजाबाबुले र सोध्नुभयो - खोइ त ताराजी ? मैले भनेँ, तारा त बोर्ड बैठकका कारणले भर्खरै गए । कुरो त मेरो हो गिरिजाबाबु । मेरो र गिरिजाबाबुका बिचमा कुरा हुँदा सामान्यतया अरूलाई राख्ने चलन थिएन पहिले देखि नै । अनि बालकृष्ण दाहालले भने- हरिदाइ, कुरा गर्नुस् है । केही दिन पहिले बाको श्राद्ध थियो, मैले दारी काटेको थिएँ अनि मलाई  गिरिजाबाबुले  सोध्नुभयो - खोइ त दारी ? मैले भने - श्राद्ध थियो अनि काटेको । अनि साधारण सभाको कुरा राखेँ र मलाई जान मन लागेको छ विश्वविद्यालयहरू हेर्न भनेपछि भन्नुभयो- साहानाजी आएपछि सोध्नुपर्छ केके भएको छ, कोको जाने हुन्, सांसदहरूलाई पठाउने भनेका छौँ । हेरौँ अनि तिमीलाई कुन हैसियतमा पठाउन् त ? मैले भनेँ - उटा विद्यालयको शिक्षकको हैसियतमा पठाउनुस् । अनि सोध्नुभयो - बायोडाटा ल्याएका छौ त ? छ भनेपछि बालकृष्णलाई बोलाएर भन्नुभयो -बायोडाटा लिनू, साहानाजी आएपछि मलाई सम्झाउनू र क्याबिनेटको बैठकमा राख्न साहानाजीमार्फत् मुख्य सचिवलाई भन्नू । मैले व्यक्तिगत विवरण दिएँ र भनेँ - गिरिजाबाबु ! यहाँको संसद्मा त तपाईँले मलाई बोल्न चाँजोमा पार्नु भएन, सायद विश्व संसद्मा त बोल्न पाइएला कि ? हाँस्नु भयो र भन्नुभयो - हेरौँ के हुन्छ ? क्रमशः