सुनिता सूर्यबङ्शी | समाचार | पुस १२, २०७७
त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको बौद्धिक चोरीका थप प्रमाणहरू एकपछि अर्को फेला पर्ने क्रम जारी छ । लोकसंवाद डटकमले २०७७ असोज १६ गते ‘प्राध्यापक खगेन्द्र लुइटेलमाथि लज्जास्पद बौद्धिक चोरीका आरोपै आरोप’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा उल्लेखित तथ्यलाई गलत साबित गर्नका लागि डा.लुइटेलले अनेकौँ हतकन्डाहरू अपनाउँदै आइरहनु भए पनि उपराेक्त तथ्यलाई खण्डन गर्न सक्नु भएको छैन् ।
प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलले लिखित रुपमा समाचारको खण्डन गर्नुभएको थियाे र सो खण्डनलाई लोकसंवादले उचित स्थान दिएको थियो । यस क्रममा प्रा.डा.लुइटेलले अनेकौँ अप्रकृतिका समाचार र लेखहरू आफैँले लेखेर विभिन्न व्यक्तिका नाममा छपाउनेसम्मका हर्कतहरू गर्दै आउनु भएको छ । प्रा.डा.लुइटेलले अहिले पनि लोकसंवादका सम्पादक तथा प्रकाशकहरू ‘पीत पत्रकारीत’ गरेको ‘रकम लिएर समाचार लेखेको’ भन्दै कपोलकल्पित अनेक आरोपहरू लगाएर नेपालबाहिरबाट प्रकाशन हुने केही अनलाइनहरूमा 'चोरीबाटो र चोरी मार्ग'बाट समाचारहरू प्रकाशन गर्न लगाइरहनु भएको छ । तर प्रा.डा.लुइटेलले गरेका ‘प्राज्ञिक मर्यादा’ विपरीतका हर्कतका विरुद्ध लेखेको समाचारको जवाफ दिन नसकेपछि ‘कपोलकल्पित आरोप’ को समाचारको शरण लिदै आफु ठुलै शक्तिशाली भएकाे र आफ्ना बिरुद्ध रकम खर्च गरेर लेखाएको भन्दै अफैले समाचार लेखी आफुले गरेक 'बौद्धिक चोरी'लाई ढाकछाेप गर्ने अफल प्रयास गरिरहनु भएको छ ।
आफूलाई समाचार लागेको आरोपलाई ढाकछोप गर्नका लागि गरिएको प्रा.डा.लुइटेलका कृत्यहरू कुकृत्यमा परिणत हुँदै गएका छन् । गुवाहाटी विश्वविद्यालयको नेपाली पाठ्यपुस्तकको चोरी, डा. दैवकीदेवी तिमल्सिनाको रचनाको चोरी, घनश्याम तिम्सिनाको समालोचनात्मक लेखको चोरी आदि जस्ता विषयमा समाचार बाहिर आएपछि प्रा.डा.लुइटेलले सम्बन्धित व्यक्तिहरूलाई समेत विभिन्न आरोप लगाउँदै विभिन्न अनलाइनमा समाचार लेखेर वा लेखाएर आफू चोखिने प्रयास गरिरहनु भएको छ । डा. दैवकी र घनश्यामका रचनाहरू चोरी भएको विषयमा हामीले समाचार प्रसारण गरेपछि हामीलाई गुवाहाटी विश्वविद्यालयका नेपाली पाठ्यपुस्तकहरूबाट अरू पनि धेरै सामग्रीहरू चोरी भएको जानकारी प्राप्त भएका छन् । यसपछि त्यस विश्वविद्यालयमा पढाइ हुने नेपाली विषयका सबै पाठ्यपुस्तकहरू अध्ययन गर्दा डा.लुइटेल कतिसम्मका धेरै घृणित कार्यहरू गर्दै आएका छन् भन्ने विषयमा हामीले धेरैवटा तथ्यहरू फेला परिरहेका छन् ।
प्रा.लुइटेलले गुहावाटी विश्वविद्यालयको नेपाली पाठ्यपुस्तक लेखनका क्रममा उल्लिखित व्यक्तिहरूका मात्र होइन, अन्य आधा दर्जन बौद्धिक व्यक्तित्वका प्राज्ञिक सामग्रीहरूको चोरी गरेको तथ्य फेला परेका छन् । विश्वविद्यालयबाट प्राप्त हुने पारिश्रमिकको लोभमा आफ्नै श्रीमती लीला लुइटेललाई विज्ञ बनाई हुँदै नभएको बी. क्याम्पस, काठमाडौँको उपप्राध्यापक बनाएर लेखक समूहमा समावेश गरेको मात्र होइन पछि कृति प्रकाशन हुँदा श्रीमती लीलाले लेखेको भनिएका सामग्रीहरू पनि प्रा. लुइटेलले आफ्ना नाममा प्रकाशन गरेको तथ्य फेला परेको छ । आफूलाई अरूभन्दा सिनियर बनाउनका लागि २०६५ सालबाट लेखन कार्य सुरु गरी २०६७ सालमा छापिएका पाठ्यपुस्तकमा नै आफ्ना नामका अगाडि प्राध्यापक (लुइटेल २०७० मा मात्र प्राध्यापक भएका हुन्) लेख्न लगाउने र उनका गुरुसमेत रहेका प्रा. राजेन्द्र सुवेदी र प्रा.केशव सुवेदीका नामका अगाडिको प्राध्यापक हटाउन लगाउने हदसम्म प्रा.डा.लुइटेलले कुटिल चाल चालेको आरोप समेत लाग्ने गरेको छ ।
खुला तथा दूर शिक्षा अध्ययन संस्थान, गुहावाटी विश्वविद्यालय, एमए नेपाली, चौथो पत्र, नेपाली नाटक (समपूर्व) विषयको लेखन कार्य प्रा. लुइटेल, तिलक शर्मा, हेमकुमार गौतम, तारा क्षेत्री र घनश्याम तिम्सिनाबाट भएको देखिन्छ । यस पाठ्यपुस्तकको एकाइ एकमा रहेको नाटकको सैद्धान्तिक परिचय विश्वनाथ कलेज, विश्वनाथ चाराली, आसमका उपप्राध्यापक हेमकुमार गौतमले लेखेको कुरा उक्त पाठ्यपुस्तकमा उल्लेख छ । यो सामग्री उक्त पाठ्यपुस्तकको पृष्ठ ४ देखि १९ सम्म रहेको छ । सोही सामग्री प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित र पैरवी प्रकाशनबाट प्रकाशित ‘नेपाली नाटक समालोचना’ किताबको पृष्ठ १ देखि २५ सम्म जस्ताको तस्तै रहेको पाइन्छ । उदाहरणका लागि-
हेमकुमार गौतमको लेखको अंश
प्रा. लुइटेलको लेखको अंश
यो त एउटा नमुना मात्र हो । यसरी नै प्रा. लुइटेलले उक्त लेखका सम्पूर्ण २५ पृष्ठ अक्षरशः सारेर आफ्नो बनाएको देखिन्छ ।
यसरी नै गुवाहाटी विश्वविद्यालयको उक्त पाठ्यपुस्तकको एकाइ दुईमा रहेको नेपाली नाटकको विकास प्रक्रिया शीर्षकको सामग्री टी.एच.बी. कलेज, जामुगुरीहाट असमका उपप्राध्यापक तिलक शर्माले लेखेको पाइन्छ । यो सामग्री उक्त पाठ्यपुस्तकको पृष्ठ २० देखि २९ सम्म रहेको छ । सोही सामग्री खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित र पैरवी प्रकाशनबाट प्रकाशित ‘नेपाली नाटक समालोचना’ किताबको पृष्ठ २६ देखि ३३ सम्म जस्ताको तस्तै रहेको पाइन्छ । उदाहरणका लागि-
तिलक शर्माको लेखको अंश
प्रा. लुइटेलको लेखको अंश
यो पनि एउटा नमुना मात्र हो । यसरी नै प्रा. लुइटेलले उक्त लेखका सम्पूर्ण पृष्ठ अक्षरशः सारेर आफ्नो बनाउनु भएको देखिन्छ ।
लुइटेलले आफ्नी श्रीमतीलाई काठमाडौँमा हुँदै नभएको बी. कलेजको उपप्राध्यापक बनाएर पाठ्यक्रम विशेषज्ञका रूपमा प्रस्तुत गरेर प्राज्ञिक भत्ता खुवाउने काम मात्र गर्नुभएन, पाठ्यपुस्तकका लागि सहलेखक समेत बनाउनु भएको छ । यति मात्र होइन, खुला तथा दूरशिक्षा अध्ययन संस्थान, गुहावाटी विश्वविद्यालय, एमए नेपाली, छैटौँ पत्र, नेपाली आख्यानोतर गद्य विषयको सम्पूर्ण पाठ्यपुस्तकको लेखन कार्य लीला लुइटेलबाट भएको उल्लेख गरिएको छ । तर, यो सम्पूर्ण सामग्री प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित र पैरवी प्रकाशनबाट प्रकाशित ‘नेपाली निबन्ध समालोचना’ किताबका रूपमा जस्ताको तस्तै रहेको पाइन्छ । उदाहरणका लागि-
लीला लुइटेलका लेखका अंशहरू
प्रा. लुइटेलका लेखका अंशहरू
यसमा प्रा. लुइटेलको बौद्धिक चोरी स्पष्ट रूपमा देखापर्दछ । यो सामग्री लुइटेलले आफूले लेखेर श्रीमतीको नाममा विश्वविद्यालयमा बुझाएका हुन् भने पनि चोरी नै हो र श्रीमतीले नै लेखेकी हुन् र त्यो सामग्री आफ्ना नाममा छापेका हुन् भने पनि चोरी नै हो । लीला, लुइटेलकी आफ्नी श्रीमती चाहिँ हुन् तर श्रीमतीले गरेका सिर्जनाहरू चाहिँ श्रीमानका हुन सक्छन कि सक्दैनन् ? प्रतिलिपि अधिकारसम्बन्धी कानुनले श्रीमतीको सिर्जनालाई श्रीमानको बनाउने अधिकार त दिएको छैन ? भनि गम्भीर प्रश्न समेत उठेका छन् ।
यस आधारमा हेर्दा प्रा. लुइटेल अरूबाट मात्र होइन, आफ्नै घरबाट वा आफ्नै श्रीमतीको पनि ‘बौद्धिक चोरी’ को 'कर्म'मा सरिक भएको पाइएको छ । यसको जीवन्त प्रमाण प्रस्तुत कृति हो । यस प्रकारका सामग्रीहरूको खोजी कार्यलाई लोकसंवादले निरन्तरता दिइरहेको नै छ ।
यति मात्र होइन, लुइटेलले गुवाहाटी विश्वविद्यालयको नेपाली पाठ्यपुस्तकका लागि तयार गरिएका अरू लेखकका सामग्रीहरूलाई ‘चोरी’ गरी पैरवी प्रकाशनबाट आफ्ना नाममा कृतिका रूपमा प्रकाशित गरेर त्रिविमा प्राध्यापकको बढुवाका लागि बुझाएको र त्यसैका आधारमा प्राध्यापक भएको समेत लोकसंवादलाई जानकारी प्राप्त भएको छ ।
प्रा.लुइटेलका बौद्धिक चोरीका शृङ्खलाहरू दिनानुदिन थपिँदै गएका छन् । प्रा.लुइटेलले आफ्नो दोषलाई ढाकछोप गर्नका लागि पछिल्लो चरणमा चालेका कदमहरू पनि ‘चोरी’ बाटो अप्नाइ रहनु भएको छ । आफैँले समाचार लेखेर विभिन्न व्यक्तिका नाममा छाप्न लगाएका तथ्यहरू पनि सार्वजनिक हुन थालेका छन् । नेपाल राष्ट्रिय प्राज्ञ प्रतिष्ठानले प्रतिष्ठानको लागि भनी तयार गरिएको समग्र नै पिएचडी र प्रोफेसरको लागि उपयोग गरेको भनी आरोप लागेको विषयमा छानबिन समिति बनाइरहेको समयमा यो समितिको प्रतिवेदनलाई प्रभावित तुल्याउने गरी 'अनलाइन अभियान' आफुलाई केन्द्रित गर्नु भएको छ । यदि प्रा.लुइटेलको गल्ती थिएन भने नेपाल राष्ट्रिय प्राज्ञ प्रतिष्ठानलाई लान्छना लगाउने गरि अभियान केन्द्रित गर्नुले कतै ‘चोरको खुट्टा काट भन्दा वास्तविक चोरले खट्टा ताने’ जस्तै उहाँले किन तानी रहनु भएको छ ? गल्ती नगरेको भए नेपाल राष्ट्रिय प्राज्ञ प्रतिष्ठान समितिको छानबिन समितिको रिपोर्ट कुर्ने धैर्यता नहुनु र विभिन्न लाञ्छना किन लगाइरहनु भएको छ ? सरोकारवालाहरुले प्रश्न गरिरहेका छन् ।
याे पनि
प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !
'बौद्धिक चोरी' को समाचारमा टिप्पणीको प्रतिटिप्पणी : केहीको चित्त फाट्यो, केहीको हड्डी हाँस्यो
प्रा.डा. खगेन्द्र लुइटेलद्वारा 'बौद्धिक चोरी'का हरकत ढाकछोप लागि 'बौद्धिक चोरी' कै शरण !?