लोकसंवाद संवाददाता | समाज | पुस १५, २०७७
दाङ । दाङमा चालू आर्थिक वर्ष २०७७/७८ मा १९ नयाँ जलाशय निर्माण हुने भएका छन् । बृहत् दाङ उपत्यका सिँचाइ आयोजना कार्यालय तुलसीपुरका अनुसार दुई क्रमागत र १७ थप नयाँ जलाशय निर्माण हुन लागेका छन् ।
कार्यालय प्रमुख राजु आचार्यका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिमा–८, घोराही उपमहानगरपालिकामा पाँच बबई गाउँपालिकामा एक, शान्तिनगर गाउँपालिकामा–तीन र दङ्गीशरण गाउँपालिकामा दुई जलाशय निर्माण हुने भएका छन् । त्यसका लागि तीन करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका लागि एक करोड ८९ लाख रुपैयाँ, घोराही उपमहानगरपालिकाका लागि ८६ लाख रुपैयाँ बबई गाउँपालिकामा १० लाख रुपैयाँ, शान्तिनगर गाउँपालिकाका लागि ६८ लाख रुपैयाँ बजेट र दङ्गीशरणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–१ को जम्मुचिरा, वडा नं २ को मनिकापुर कुइरेपानी, ८ को खोटीखोली, वडा नं ११ को हस्नापुर, १४ को अकमी, वडा नं १७ को गेगतिया, वडा नं १८ को पिर्थली कुईरे सोता र वडा नं १९ को दूधेगजेरीमा जलाशय निर्माण गर्न लागिएको हो ।
त्यस्तै घोराही उपमहानगरपालिका–२ को ज्यामिन सोता, वडा नं २ र ४ मा पर्ने सरेसोता, वडा नं १७ को बर्गदी, वडा नं १७ कै ओखर स्याउली सोता र वडा नं ९ को एकलघरुवा सोतामा जलाशय निर्माण हुने भएका छन् ।
बबई गाउँपालिका–४ तालगैरा, शान्तिनगर गाउँपालिका–१ गुद्रुगखोला, वडा नं २ को अमुवा र वडा नं ३ को फलाटेखोलीमा तथा दङ्गीशरण–१ बाँघेचिरा र वडा नं ३ को बघिगन्धिमा जलाशय निर्माण हुने भएका हुन् । यीमध्ये केही स्थानमा निर्माण शुरु भएको छ, केही स्थानमा भने सर्वे गर्ने काम भइरहेको प्रमुख आचार्यको भनाइ छ । यी सबै जलाशय निर्माणको काम चालू आर्थिक वर्षभित्रै सक्नुपर्ने छ ।
अहिले निर्माण हुन लागेका जलाशयका लागि विनियोजन भएको यो बजेट भने पर्याप्त नभएको उहाँको भनाइ छ । उहाँका अनुसार एउटा ड्याम निर्माण गर्नका लागि रु ६० देखि ९६ लाखसम्म बजेट लाग्ने गरेको छ । थप बजेट ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो ।
जलाशय निर्माण भएपछि जिल्लामा ३० देखि ६० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने अपेक्षा रहेको सूचना अधिकारी शान्तराज गौतमले बताउनुभयो । साथै थप २१ जलाशय निर्माण गर्नका लागि आफूहरुले माग गरेको सूचना अधिकारी गौतमले बताउनुभयो । दाङमा कार्यालय स्थापना भएदेखि ४१ जलाशय निर्माण भएका छन् ।