अहिलेसम्म पूरा हुन सकेन तमागर लघु जलविद्युत् आयोजना

अहिलेसम्म पूरा हुन सकेन तमागर लघु जलविद्युत् आयोजना

लोकसंवाद संवाददाता  |  समाज  |  पुस १७, २०७७

रुकुम । पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । विसं २०६५/६६ मा निर्माण थालिएको उक्त विद्युत आयोजनाले अहिलेसम्म विद्युत उत्पादन गर्न सकेको छैन ।  

विद्युत् आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका सबै अहिले दियोको भरमा बसिरहेका छन् । बिजुली बल्न नसक्दा गाउँपालिकाको वडा नम्बर ५ सँगै  वडा नं १ र ६  का ती घरधुरी प्रभावित बन्न पुगेको वडा नं ५ का वडाध्यक्ष कालीप्रशाद रोकाले जानकारी दिनुभयो ।

उक्त विद्युत् आयोजना निर्माणको लागि एचए हाइड्रो पावरले दुई करोड २९ लाख रुपैयाँमा जिम्मा लिएको थियो ।  कम्पनीले टर्वाइन, जेनेरेटर, यलसी बोर्ड, ट्रन्सफर्मरका साथै थोरै तार मात्र उपलब्ध गराएको थियो । पछिल्लो समय कम्पनीले काम अलपत्र छोडेर सम्पर्कविहीन बनेको छ ।  सामग्रीमा पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । गाउँमा स्थानीय सरकार गठन भएपछि भने स्थानीय सरकारले नै आयोजनाको पुनःनिर्माणको काम शुरुआत गरेको थियो ।  

गाउँपालिका र वडाको बजेटबाट आयोजनाको मर्मत कार्यका साथै खिया लागेका सबै सामग्री फेरबदल गरिएको वडाध्यक्ष रोकाले जानकारी दिनुभयो । गाउँपालिकाको दुई आर्थिक वर्षको ६६ लाख रुपैयाँ र वडाको  १० लाख रुपैयाँ गरी कूल ७६ लाख रुपैयाँमा अलपत्र विद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ । 

लामो समयदेखि अलपत्र रहेको विद्युत् आयोजना पुनःनिर्माणको काम सकिएर गत साउन महिनामा परीक्षण पनि सम्पन्न भइसकेको थियो । सफलतापूर्वक परीक्षण सम्पन्न भएको विद्युत् आयोजनाको बिजुली गाउँमा विस्तारको तयारी गर्दै गर्दा बर्खे भेलले विद्युत् आयोजनाको मुहानै बगाएपछि फेरी आयोजना प्रभावित बनेको थियो ।

भेलाले मुहान बगाउनुका साथै नहर, ड्याम र हेमपाइप बगाएको थियो । अहिले वडाले फेरि पाइप मगाएको छ भने मर्मतको कार्य फेरि शुरु गर्ने जनाएको छ । विद्युत् आयोजनाको मर्मत कार्यपछि छिट्टै त्यहाँका नागरिकले बिजुली बाल्न पाउने वडाध्यक्ष रोकाले जानकारीदिनुभयो  ।