डिल्लीरमण नेपाल | साहित्य | पुस १८, २०७७
गाथा नै गाथाले भरिएको
गौरवशाली इतिहास बोकेर
एक नासले उभिएको छ
बाइस सय वर्ष बुढो
किचकबधमाथि मेरो देश ।
पटक पटक उत्खनन् गरिएको
पुरातात्विक माटोको सुगन्ध सुँघेर
इतिहासको गहना बनेर
आफैँले आफ्नो अनुहार हेरिरहेछ
किचकबध ।
हो, किचकबध !
विश्वविद्यालयमा भविष्य
र, महाविद्यालयमा संस्कृति खोज्दै
आफ्नै देशको विरासत सम्झँदै
देशजस्तै छाती बोकेर
उभिएको छ,
महाभारतकालको साक्षी भई ।
कल कल झर्ने झरना
टह टह लाग्ने जून
उज्यालो बस्ती, भन्ज्याङ र चौतारीमा
मनमनै सयर गर्छ किचकबध
अनि, इतिहास र सम्पदाको बगैँचामा
मसुक्क हाँस्न खोज्छ
तर, निस्कँदैन मुस्कान ।
हे किचकबध !
तिमी हाँस दिल खोलेर
तिमी नाच ताल समाएर
यो देश मेरो देश हो
यो देश तिम्रो पनि देश हो !