हरिविनोद अधिकारी | साहित्य | पुस १८, २०७७
हामी नेपालीहरूका लागि विदेश जाने भनेको सजिलो पनि छ, सजिलो पनि छैन । सम्मानका साथ विदेश जाने, मुलुकलाई प्रतिनिधित्व गर्ने गरी जाने भनेको त्यति सजिलो छैन पदमा नहुने र पहुँच नहुनेका लागि । झन् कूटनीतिकरुपमा प्रतिनिधित्व भनेको एक प्रकारले प्राविधिक कुरा हो र सबैलाई त्यो स्थान प्राप्त हुने पनि होइन, हुनु पनि हुँदैन तर संयुक्त सरकार हुँदा प्रायशः सरकारमा हुनेहरूमध्येबाट बुद्धिजीवी, सांसद, उच्च प्राविधिकहरूको छनोट हुने रहेछ । मेरो बारेमा त्यस्तो त केही पनि थिएन तर यहाँनिर मैले आत्मालोचनाका साथ भन्नै पर्छ, अमेरिकाका विश्वविद्यालयहरूको भ्रमण र संयुक्त राष्ट्र सङ्घको अवलोकन गर्ने मेरो तीव्र इच्छालाई मेरो व्यक्तिगत सम्बन्धका कारणले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पठाउनु नै भएको हो । मैले त्यसो गर्नु ठिक हो कि होइन ? तर मैले गरेँ ।
यसमा राससका तत्कालीन अध्यक्ष तारानाथ दाहाल, गिरिजाबाबुका स्वकीय सचिव बालकृष्ण दाहाल, तत्कालीन परराष्ट्र मन्त्री सहाना प्रधान र त्यो बेलामा यु एन महाशाखाका प्रमुख डाक्टर दिनेश भट्टराईको प्रत्यक्ष सहयोग रहेको थियो । पछि तत्कालीन सांसद मीठा राम विश्वकर्माले पनि आफूले पनि गिरिजाबाबुलाई भेटेर दाजुलाई यु एन पठाउनु पर्यो भनेको थिएँ भनेका थिए । त्यो सिलसिलामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका उपाध्यक्ष वामदेव ढुङ्गाना पनि त्यो राष्ट्रसङ्घ जाने समूहमा पर्नु भएको रहेछ । सायद, नेपाल शिक्षक सङ्घको संस्थापक तथा विद्यालय शिक्षकका रुपमा म जान लाग्दा सहानाजीले पनि सङ्गठनका साथीलाई पनि पठाउनु भएको होला ।
वास्तवमा शिक्षकले हेर्ने ठाउँ नै हो रहेछ राष्ट्रसङ्घीय कारबाही किनभने शिक्षकले त त्यो सन्देश आम विद्यार्थीमाझ साझा गर्छ जस्तो कि मैले उताबाट आएपछि आफ्ना विद्यार्थीका बिचमा त्यहाँका प्रक्रियाको बारेमा जानकारी गराएँ । मैले जानेको कुरा मसँगै मात्र रहेन । एउटा शिक्षकले जब कुनै नयाँ कुरा थाहा पाउँछ, त्यो जसरी पनि सम्प्रेषण गर्छ गर्छ । सायद, एउटा विद्यालयको शिक्षकको रुपमा पहिलो वक्तव्य दिने म हुनुपर्छ मैले थाहा पाएसम्म । हामी विद्यालय शिक्षकको कसरी पहुँच पुग्ने र राष्ट्र सङ्घको महासभामा मुलुकको प्रतिनिधित्व गर्न पाउने ? तर त्यो सौभाग्य मैले ६२ औँ महाधिवेशनमा पाएँ । मन्त्रिपरिषद्को विवादका कारणले प्रतिनिधि मण्डल छान्न नै ढिला भएकाले पनि त्यो मौका मैले र वामदेवजीले पाएका हौँँ ।
जब म गिरिजाबाबुसँग वार्ता गरेर बाहिर आएँ र तारा भाइलाई फोन गरेँ, के के कुरा भयो भनेर । अनि भाइले भने-गिरिजाबाबुले व्यक्तिगत विवरण मागेपछि पक्का हुन्छ दाजु, ढुक्क हुनुहोस् र अमेरिका जाने तयारी मानसिक रुपमा गर्नुहोस् । अनि दाजु भाइको भेट भयो । कुरा भयो । तर धेरै दिनसम्म कुनै खबर आएन । अनि मलाई लाग्यो, सायद नहुने भएछ । माओवादीहरू सरकारमा सामेल भए फेरि अनि सांसदहरूको नामसहित जानेहरूको सूची तयार भएछ । अचानक सायद त्यो बेलामा उहाँ शाखा अधिकृत हो कि उप सचिव हो, रित्ता धितालजीको फोन आयो परराष्ट्र मन्त्रालयबाट । मेरो नाम साधारण सभामा जाने सूचीमा रहेकाले तत्काल सम्पर्कमा आउनु पर्यो नागरिकता र फोटोसहित । सायद, कमल ज्ञवाली पनि त्यो बेलामा त्यहीँ हुनुहुन्थ्यो जसले पासपोर्ट, भिसा, टिकटको सम्पूर्ण व्यवस्था गर्नुभएको थियो । मलाई तत्काल जाने कि पछि जाने भन्ने सोधियो । मैले तत्कालै जाने भनेर भनेपछि पासपोर्ट बन्यो र मन्त्रालयका तर्फबाट अमेरिकी राजदूतावासमा भिसाका लागि त्यही दिन तयारी गरियो । म आफ्नो स्वरै कल्पना पूरा भएको देखेर अलमल परेको थिएँ । न मैले भिसाका लागि अन्तर्वार्ता दिन नै जानु पर्ने भयो, न टिकट नै आफ्नो तर्फबाट किन्नु पर्ने भयो । अनि जाने दिन तोकियो २०६४ साल कात्तिक १ गते फूलपाती अथात् महासप्तमीका दिन । दसैँको मुखमा घर छोडेर जान लागेको थिएँ । त्यसको भित्री कारण के पनि थियो भने माओवादी सांसदहरूलाई भिसा दिने हो कि होइन भन्ने पनि थियो, त्यसको कारण थियो अमेरिकाले माओवादीलाई आतङ्ककारीको सूचीमा नै राखेकै थियो त्यो बेलासम्म । सायद त्यो बेलामा माओवादीबाट जनार्दन शर्मा र सुरेश आलेजी जानु भएको होला महासभामा भाग लिन ।
मेरो पासपोर्टको नम्बर थियो कूटनैतिक राहदानी ००८७२० । भिसाको म्याद थियो जनबरी ९, २००८ सम्म । किनभने म २००७ को साधारण सभाका लागि प्रतिनिधि थिएँ र मात्र ३ महिनाको म्याद दिइएको थियो । मेरो पासपोर्ट बनेको थियो ८ अक्टोबर २००७ मा र त्यसको म्याद थियो बढीमा ७ अक्टोबर २००८ सम्म । भिसा हानेको मिति ११ अक्टोबर, २००७ अनि म्याद ९ जनबरी २००८ सम्म । त्यस्तो कूटनैतिक पासपोर्टको दुरुपयोग हुने कुरा हामीले सुन्दै आएकाले होला, सरकारी सिफारिसविना त्यो पासपोर्टको कतै भिसाका लागि जान पाइँदैन रे ! हुन त कतिपय देशमा रातो पासपोर्ट लिएर जानेलाई अन अराइभल भिसा पनि दिन्छ क्यारे ! तर हाम्रो समूहलाई न त त्यो पासपोर्टको दुरुपयोग गर्नु थियो, न त उतै हराउनु नै थियो । हरियो पासपोर्टमा भए सायद ५ वर्षको भिसा हुन्थ्यो होला तर त्यो नेपाल सरकारको कूटनैतिक पासपोर्ट थियो जुन तोकिएको काममा बाहेक प्रयोग गर्न पाइँदैन थियो । मेरो पासपोर्टमा स्पष्ट लेखिएको थियो
कूटनीतिक रातो पासपोर्ट, अमेरिकी सरकारले दिने भिसा, नेपाल सरकारको तर्फबाट आव जावत टिकट, दैनिक भत्ता, लुगा भत्ता आदि उपलब्ध गराइएको थियो । पहिलो पल्ट जानेमा त हामी चार जना शिक्षकमा तीन जना विश्व विद्यालयका अनि म विद्यालयको । वामदेवजीले दसैँ मनाएर जाने हुनुभएछ । म (शिक्षक,माध्यमिक,गुह्येश्वरी बाल शिक्षा मावि थापाथली, काठमाडौँ, प्राध्यापक डाक्टर गोपालप्रसाद पोखरेल(तत्कालीन निर्देशक, परराष्ट्र मामिला प्रतिष्ठान),प्राध्यापक डाक्टर हरि थपलिया (त्रिचन्द्र क्याम्पस) प्राध्यापक ज्योति भण्डारी प्याकुर्याल(पद्म कन्या क्याम्पस) पहिलो डफ्फाको प्रतिनिधि मण्डल बनेछौँ । परराष्ट्र मन्त्रालयको आफ्नै प्रक्रिया हुने नै भयो । हाम्रो रुट थियो—काठमाडौँ, दिल्ली, फ्र्यांकफुर्ट हुँदै न्युयोर्कको जोन एफ केनेडी विमानस्थल ।
हामी सबै एक अर्कासँग परिचित थियौँ र हामीलाई त्यो अमेरिकासम्मको भ्रमण रमाइलो भयो । दिल्लीको ट्रान्जिटमा अलिकति झन्झट रहेछ त्यो बेलामा । हाम्रो जिम्मा त्यहाँबाट लुफथान्साको थियो, तर लुफथान्साका एजेन्टले हामीलाई भन्सारमा गएर सामान चेक गराउनुस् भन्दै थियो, हामीेले भन्यौँ - अब हामी हाम्रो सामान न्युयोर्कमा मात्र लिन्छौँ । एक छिन मानेन तर आफ्ना सामान चिन्नका लागि भनेर कता हो कता अँध्यारो स्टोरतिर लग्यो । अरु सामान थिए तर ज्योतिको सामान थिएन । अनि एजेन्टले दुई दिनपछि अमेरिकाको राजदूतावासमा पठाउने त भन्यो तर पछि ५महिनापछिमात्र सामानको क्षतिपूर्ति दिएछ ज्योतिलाई दिल्ली गएको बेलामा ।
हामीले बल्ल सुरक्षा जाँचका बारेमा थाहा पायौँ दिल्लीमा, फ्र्याँकफर्टमा । कडा थियो मोजा पनि खोल्नु पर्ने, बेल्ट खोल्नु पर्ने, घडी खोलेर मात्र, मोबाइल, औँठी आदि खोल्नुपर्ने । शङ्का लागेमा नाङ्गे झार गराउने, नपठाउने, टिकट रद्द गर्ने, पासपोर्ट लिएर हिँड्ने आदि गरिँदो रहेछ । रातो पासपोर्टका लागि लाइन बेग्लै भए पनि सुरक्षा जाँच भने उस्तै कडा नै रहेछ । फ्याँकफर्टमा पनि हाम्रो लामै ट्रान्जिट थियो । भोलिपल्ट अर्थात् कात्तिक १गते (१८ अक्टोबर)का दिन नेपाल छोडियो र १९ अक्टोबरका दिन न्युयोर्कमा पुगियो ।
स्थायी नियोगका तर्फबाट लिन आउनु भएको रहेछ । एकै पटक दसौँ प्लेन जोन एफ केनेडी विमानस्थलमा उत्रेकाले लामो लाइन थियो यात्रुको । मैले हरि थपलियाजीलाई बिस्तारै भनेँ -हरिजी, पक्कै पनि कूटनैतिक पासपोर्टका लागि बेग्लै लाइन होला, सोधौँ न । अनि एक जना प्रहरीले हाम्रो खासखुस के बुझेर हो, आएर सोधे -तपाईँहरू साधारण सभामा भाग लिन आउनु भएको हो ? कूटनैतिक पासपोर्ट हो ? अनि उनले हामीलाई छोटो लाइनमा राखे र खासै वास्ता नगरेर हामीलाई प्रवेश दिए ।
तर सामान पर्खेर बसेका थियौँ बाहिर । त्यहाँ त कुकुरले पो सामान सुँघेर पठाउँदै थियो । एक जना सायद, दक्षिण अमेरिकी महिलाको सामानको वरिपरि कुकुर घुम्यो, अनि पुरै सुटकेस खोल्दा के पाइयो भने बासी पाउरोटी रहेछ । त्यो मिल्काएपछि कुकुर अर्कैतिर गयो अनि सुरक्षा जाँचले उनलाई छोड्यो । कडा थियो सुरक्षा जाँच तर मेसिनले हेर्ने, कुकुरले सुँघ्ने अनि मात्र पठाउने । हामीलाई लिन हाम्रो राजदूतावासको ड्राइभर सायद समालियाको हुनुपर्छ, आएका थिए खोज्दै । ढिला भएकाले होला । अनि हामीलाई उनले सिधै राजदूतावासमा लगे, सायद प्रकाश अधिकारी भाइ पनि आएका जस्तो लाग्छ हामीलाई लिन दूतावासका तर्फबाट ।
दूतावासमा पुगेपछि एक छिन आराम गरियो, झोलाहरू त्यहीँ राखियो र परिचय पत्र बनाउनका लागि महामहिम राजदूत मधुरमणजीले हामीलाई लिएर जानु भयो । वास्तवमा उहाँ जानु जरुरी थिएन तर हरि थपलियाजीका कारणले हामीलाई त्यहाँ परिचय पत्र बनाएपछि संयुक्त राष्ट्रसङ्घ भवनमा घुमाउनु भयो । परिचय पत्र नभए त कुनै ढोका पनि खुल्दैन थियो, सायद त्यसैले होला पहिले परिचय पत्र बनाइयो । परिचय पत्र त ‘कुञ्जी !’ पो रहेछ, ढोका खोल्न, कतै प्रवेश गर्न र डग्या ह्याकर कोल्ड पुस्तकालयको प्रयोग गर्न पनि, क्यान्टिनका प्रवेश गर्न पनि । अर्थात् परिचय पत्र नभई त्यो विश्व भवनमा प्रवेश पाउने कुनै आधार पनि थिएन र त्यो अनुशासन पनि होइन ।
साधारण सभामा भाग लिन आएकाले कम्तीमा पनि कुनै समितिमा नेपालको तर्फबाट भाषण त गर्नु नै थियो । मेरो पालो परेछ चौथो समितिमा २२ अक्टोबरमा बोल्ने पालो । नेपालको सूचनाको अवस्थाका वारेमा । त्यो भाषण नेपाल देशको हो । तर मैले केही कुराहरू थप्न पाएँ र हालैको सूचनाको हकसम्बन्धी कानुनको बारेमा जानकारी दिएँ दूतावासका साथीहरूलाई र मेरो भाषणमा त्यसलाई थप्न लगाएँ । अर्थात् मैले आफैँले हेरेँ आफ्नो भाषण र ठिक छ भनेँ ।
त्यो बेलामा स्थायी प्रतिनिधिका रुपमा मधुरमण आचार्य हुनुहुन्थ्यो । मैले सामान्य मात्र चिनेको तर उहाँले एकदम चिनेको जस्तो गर्नुभयो । त्यसको कारण हुनुपर्छ कोको आउँदै छन् भन्ने पूर्व जानकारी पाएकाले र एउटा सफल कूटनीतिज्ञको विशेषता नै के हो भने सबैलाई उस्तै व्यवहार गरेर प्रभाव पार्ने । हरिजी र मधुजी त कक्षाका साथी पनि हुनुहुन्थ्यो क्या हो विश्वविद्यालयको प्राणी विज्ञानको स्नातकोत्तर तहमा पढ्दा । मेरो त पहिलो पटक नै हो दोहोरो कुरा भएको तर लाग्थ्यो उहाँसँग मेरो धेरै पहिलेदेखि नै चिनजान थियो । त्यसको एउटा कारण त मेरो पत्रकारिताको पृष्ठभूमि पनि हो कि ? थाहा छैन तर उहाँले जुन व्यवहार हरि थपलियाजीसँग, गोपाल सरसँग, ज्योति बहिनीसँग गर्नुभयो, मलाई पनि त्यस्तै अपनत्व दिनुभयो । सायद दोस्रो वरीयतामा कूटनीतिज्ञ मधुवन पौडेल हुनुहुन्थ्यो । उहाँलाई मैले साहित्यकारका रुपमा चिनेको हुँ, तर उहाँ त कूटनीतिज्ञ पनि पो हुनुहुँदो रहेछ । त्यहाँ तीर्थ वाग्ले पनि हुनुहुन्थ्यो । उच्च सैनिक अधिकृतमा देवेन्द्र मेधासीजी हुनुहुन्थ्यो जस्तो लाग्छ । अरु साथीहरूको नाम बिर्सेँ पनि अब । करिब १३ वर्ष बितिसकेको छ ।
मलाई लिन बहिनी बन्दना कोइराला राजदूतावासमा नै आई र टीकाका दिनसम्म दाजुलाई मसँगै राख्छु भनेर लिएर हिँडी । म पनि ऊसँग रेलमा उसको बासस्थान क्विन्समा पुगेँ । पहिलो पटक अमेरिका पुगेको, त्यत्रो ठुलो सहर न्युयोर्क, भूमिगत रेल त मैले, पेइचिङ्, टोक्यो र सिउल, हङकङमा चढेको थिएँ तर अमेरिकामा पहिलो पटक पुग्दै थिएँ, त्यहाँको स्वचालित तरिकासँग परिचित हुँदै थिएँ । राती त भाइ रोसन पनि सियाटलबाट आइपुगेछ राती । टीकाका दिन त हामी दाजु बहिनी र भाइ भयौँ टीका लगाउनेमा ।
दसैँको मुखमा घरबाट हिँडेको, आमाको हातबाट टीका लगाउन छोडेर, केटाकेटीलाई टीका लगाउन छोडेर । अनि बहिनी जगदम्बासँग पनि कुरा भयो राती । ऊ त्यो बेलामा ज्वाइँ कोविद बाबु पिताजी र माताको हातबाट टीका लगाउन भान्जा भान्जी आश्विन र आर्यासहित ह्युस्टन आउनु भएको रहेछ । ह्युस्टन पछि एउटा तालिम कार्यक्रममा ड्यालस सहरमा बस्नु पर्ने रहेछ केही दिन । बहिनी ह्युस्टन आएकी, म न्युयोर्कमा रहेँ ।
साधारण सभामा भाग लिन आएकाले कम्तीमा पनि कुनै समितिमा नेपालको तर्फबाट भाषण त गर्नु नै थियो । मेरो पालो परेछ चौथो समितिमा २२ अक्टोबरमा बोल्ने पालो । नेपालको सूचनाको अवस्थाका वारेमा । त्यो भाषण नेपाल देशको हो । तर मैले केही कुराहरू थप्न पाएँ र हालैको सूचनाको हकसम्बन्धी कानुनको बारेमा जानकारी दिएँ दूतावासका साथीहरूलाई र मेरो भाषणमा त्यसलाई थप्न लगाएँ । अर्थात् मैले आफैँले हेरेँ आफ्नो भाषण र ठिक छ भनेँ ।
त्यो त दूतावासले बनाउने हो, मुलुकको सूचनाको बारेमा बताउने हो तर भर्खरै मात्र सूचनाको हकको कानुन कार्यान्वयन हुन थालको अवस्था थियो त्यो जानकारी विश्व समुदायलाई दिनु जरुरी थियो आधिकारिकरुपमा । करिब ९ मिनेटको भाषण थियो, मैले समय हेरेर करिब ८ मिनेटमा पढेर सिध्याएँ । रातो बत्ती बल्न पाएन । साँच्चै विश्व संसद्मा मैले बोलेँ । धेरैले धेरै पटक बोलेको ठाउँ हो र पनि मेरा लागि त्यो ठाउँ न पहिले बोल्न पाएको थिएँ, न पछि फेरि बोल्ने मौका पाएको छु ।
टीकाका दिन सामान्यतया राजदूतावासले त्यहाँका नेपालीहरूलाई पर्वको महत्त्वका लागि भेला गराउने चलन रहेछ, त्यो दिन महामहिम राजदूत मधुरमण आचार्यका निवासमा पनि भोज थियो दसैँको जसमा हामी साथीहरू फेरि भेटियौँ । त्यसै दिनदेखि मेरोलागि वासस्थान राजदूतावासका अधिकृत (कूटनीतिज्ञ) सुधीर भट्टराईजीको वासस्थानमा व्यवस्था गरिएको रहेछ । साथीहरूचाहिँ कहीँ होमस्टेमा पर्नु भएको रहेछ । सामान्यतया आउने अतिथिहरूका लागि बासका व्यवस्था मिलाउने चलन रहेछ ।
सायद, ज्वाइँ साहेब कोविद दाहाल र बहिनी जगदम्बाले सुधीर बाबुकोमा मेरो व्यवस्था गरेको अनुमान गरेको छु । तर भयो के भने सुधीर बाबुले त सोनु अधिकारीसँग विवाह गर्नु भएकाले मैले बहिनी पो पाएँ अनजानमा नै । कस्तो रमाइलो भयो भने बहिनीले साह्रै माया गरिन् । न्युयोर्कको ३३ स्ट्रिटको घर नम्बर २००को २१ औँ तलामा बसियो न्युयोर्कमा पहिलो पटक ।
मलाई लाग्छ, त्यो मेरो अनुपम र अविस्मरणीय क्षण थियो जुन कुरा मैले बारम्बार विद्यार्थीहरूलाई सुनाएको छु । यसबारेमा अरु संस्मरण आगामी यादहरूमा दिने नै छु ।
तर अहिले साथी कृष्णबहादुर कार्कीको बारेमा ।
मैले यो संस्मरण लेख्न बस्दा मेरो अर्को प्रिय साथी कृष्णबहादुर कार्की जसलाई हामी आफ्नो गाउँले बोलाइमा सबैले सान्जेठो भन्ने गर्थ्यौँ । सुनेअनुसार कोरोना भाइरसले नै कडा निमोनिया भएछ र साथीले २०७७ साल पुस १२ गते राती त्रि.वि. शिक्षण अस्पतालमा यो मृत्यु भएको पापी संसारबाट सदाका लागि महायात्रा रोजेछ । हुन त यो संसार अपार छ, र पनि जन्मेपछि मर्नै पर्ने नियति भने छँदै छ ।
मेरो साथीको महायात्राको जानकारी सामाजिक सञ्जालमा अत्यन्त सक्रिय युवा समाजसेवी गौरव कार्कीले दिएका हुन । त यो संसारमा आएपछि एक दिन त जानै पर्ने रहेछ । तर प्रिय साथीको महायात्राले एउटा तरङ्ग ल्याउने रहेछ । अहिलेको जस्तो खेलकुद विकासको व्यवस्था आजभन्दा ५५—६० वर्ष अघि गाउँ गाउँमा पनि हुँदो हो भने पक्कै मेरो साथीले सबै प्रकारका दौड, छेलो हान्ने, कपर्दी र उकालो चढ्नेमा राष्ट्रिय पदक तथा एसियन पदक पाउँथ्यो होला । अझ राम्रो तालिम पाउँथ्यो भने पक्कै नै ऊ अन्तर्राष्ट्रिय खेलाडी हुन्थ्यो होला, त्यस्तो थियो छरितो ।
हामी जब गाउँको दौड, डोरी तान्ने, कपर्दीको खेलमा हुन्थ्यौँ, हामी सबैको चाहनामा सान्जेठो मेरै समूहमा परोस् या यो खेल त सान्जेठोलेमात्र खेल्न सक्छ भनेर हामी भन्थ्यौँ । समूहको रुपमा जब कपर्दी खेल्थ्यौँ, त्यो बेलामा हामी सान्जेठोको समूहमा पर्न पाउँदा त्यो खेल जित्नेमा पर्थ्यौँ । चाहे लङजम्प होस्, चाहे हाइ जम्प होस् या दौड होस् सान्जेठो नै खेलको नायक हुन्थ्यो । हामी छक्क पर्थ्यौँ, त्यति अग्लो पनि होइन तर हाइजम्प उसैले जित्थ्यो धेरै उफ्रेर । पछि भलिबल आयो, फुटबल आयो , त्यसमा पनि आफूभन्दा सानो उमेरका सँग पनि ऊ खेल्थ्यो रे र सिकाउँथ्यो रे भन्थे ।
अझ रोचक सम्झना त के हो भने उसलाई कपर्दीबाट हटाउनका लागि केही साथीहरूले उसको जनै चुँडाई दिन्थे । जनै चुँडाउनु भनेको चुँडिने बित्तिकै उसले बोल्न नपाउनु हो, तत्कालै जनै लगाउन घरमा जानु हो । नयाँ जनै नलगाईकन बोल्न पनि पाइँदैनथ्यो । जनै चुँडिने बित्तिकै ऊ भाग्थ्यो घरतिर कमिज र धोती बोकेर । अर्थात् ऊ कमिज फुकालेर खेल्थ्यो किनभने उसका हातले त्यसो गर्दा अरूको हात फुत्काउन ऊ सजिलो मान्थ्यो । अर्को कारण के पनि हो भने तानातानमा कपडा च्यातिने डर पनि थियो, त्यसैले कट्टुमात्र लगाएर खेल्थ्यौँ हामी सबै । उसको जिउ साह्रै नै छरितो थियो । पछि एउटा तरिका निकालियो, जनैलाई या त कम्मरमा बाँधेर राख्ने , या त हातमा बाँधेर राख्ने ताकि कसैले त्यो चुँडाउन नसकुन् ।
पछि गाउँमा हेल्थ पोस्ट स्थापना भयो, ऊ र चित्रबहादुर थापा दाइले त्यहीँ रोजगारी पाए । एक प्रकारले गाउँको डाक्टरको सेवा दिन्थ्यो मेरो प्यारो साथी सान्जेठाले । गाउँमा पत्रिका आउँथ्यो अतिरिक्त हुलाकमा खुर्कोटबाट । हाम्रालागि पत्रिकाको जोहो गथ्र्यो र भन्थ्यो—खोइ, पढ्न सकिएन, साथीहरूले पढेको सुन्दा पनि मज्जा लाग्छ । पछि मैले लेख्न थालेपछि गाउँमा पत्रिका पठाउन थालियो, गाउँमा नै मुख्य हुलाको स्थापना भयो । बेला मौकामा गाउँ जाँदा साथीसँग नभेट्ने कुरै भएन भेटिन्थ्यो । पछि उसको जेठो छोरो काजी भन्छौँ हामी, इन्द्र कार्की काठमाडौँमा आयो, मेरी बहिनीले अभिभावकत्वमा राखी भाइलाई केही समयसम्म । मिहिनेती थियो, राम्रो पढ्यो, अहिले राष्ट्रिय खेलकुद परिषद्मा कुनै महाशाखाको प्रमुख छ । मेरो साथीको खेलकुदप्रतिको मोह त पूरा हुन पाएन विभिन्न कारणले तर उसको छोरोले नेपाली खेलकुदको क्षेत्रमा प्रशासनिकरुपमा व्यवस्थापकको भूमिका निर्वाह गरिरहेको छ ।
बिचमा साथीलाई रोगले च्यापेर आवाजसमेत गयो तर ऊ मिहिनेतसाथ आवाजको व्यवस्थापन गथ्र्यो र कुरा गथ्र्यो । सान्जेठो भनेपछि एउटा हक्की, सत्य बोल्ने, निर्भीक तथा समाजसेवी मानिन्थ्यो । उसले कसैको पनि कुभलो चिताएन, बरु स्वास्थ्यको क्षेत्रमा काम गरेकाले धेरैको ज्यान नै बचायो अतीतमा । गाउँको स्वास्थ्य चौकी हुनाले बिहान बेलुका पनि ऊ सधैँ सेवामा हाजिर हुन्थ्यो । टाढा टाढाबाट आउने बिरामीहरूका लागि बस्ने व्यवस्था र भएका ओखतीहरूको वितरण सहज तरिकाले गथ्र्यो भन्थे सबैले ।
म पनि धेरै वर्ष बाहिर रहेर केही वर्ष पहिले गाउँमा जाँदा ऊ भन्थ्यो—खोइ र हाम्रा साथीहरू नै छैनन्, यसो कुरा गर्न पनि । तिमी पनि कहिलेकाहिँमात्र आउँछौ । बाक्लै आउने गर न ! अनि म पनि भन्थेँ— तँ पनि त काठमाडौँ आइरहन्छस् साथी, छोराको घरमा, ओखती गर्न, आउँदैनस् म भएको ठाउँमा । अनि भन्थ्यो—छोरालाई पु¥याइ दिनु त भन्छु, ऊ पनि व्यस्त देख्छु ।
मेरा घरका भाइ, बहिनी तथा छोरा छोरीहरूको काजीसँग राम्रो सम्बन्ध छ, त्यो कारण गाउँकै भाइ, दाइ भएर मात्र होइन, मेरो र साथीको मित्रताका कारणले पनि पारिवारिक सम्बन्ध भएर हो । हुन त मेरा बा र सान्जेठाका बाको पनि साह्रै राम्रो सम्बन्ध थियो । हाम्रो बारी सँगै थियो । ऐटनका खलक हुन्, सभ्य छन् काजी खलकहरू भनेर बाले जहिले पनि भन्नुहुन्थ्यो । खासमा उमेरका हिसाबले त मेरो साथी ज्ञानबहादुर हो माहिलो भाइ साथीको तर मेरो उमेरले ज्ञानबहादुर साथी छँदै छ, तर सँग पढेकोले र मित्रताले सान्जेठोसँगको सम्बन्ध गाढा रहिरह्यो उसको महायात्रासम्म पनि । सामाजिक सञ्जालमा देखेँ, साथीको मृत शरीर पिपिइमा थियो र टाढैबाट उसलाई श्रद्धाञ्जली दिइरहेका थिए आफन्तजनले । अनि सामाजिक सञ्जालमा नै देखेँ काजीले पिताजीसँग माफी मागेको—बुवा, मलाई माफ गर्नुस् है, मैले हजुरको अन्तिम दर्शन गर्न पाइन । म चाहिँ साथीसँग पनि माफी माग्छु साथी अन्तिम बेलामा न त खबर पाएँ, न त जान हुने अवस्थामा नै रह्यो अनि ढिलो थाहा पाएँ सामाजिक सञ्जालबाट । काजी पनि रहेनछ यहाँ । उसैले त हो भन्ने मलाई तेरो बारेमा बेला मौकामा ।
केही दिन अघि मात्र अर्थात् मङ्सिर २९गते मित्र गोपाल बास्कोटाको कोरोना भाइरसबाटै निधन भएको भन्ने सुनेको हुँ । यसबारेमा मैले यो भन्दा पहिलेकै संस्मरणमा लेखिसकेको हुँ । केही समय अघि मैले एकदमै मान्ने गरेको र दाजु नै सम्बोधन गरेर कुरा गर्ने गरेको दाजु वरिष्ठ शल्य चिकित्सक डाक्टर ध्रुव शर्मा मुडभरीको पनि कोरोना भाइरसको कारणले निधन भएको भनेर समाचार आएको थियो । त्यो पनि नेपाली स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा अपूरणीय क्षति थियो ।
मेरो चिनजान त पूर्व मन्त्री नवराज सुवेदी काकाको साथी भएका कारणले भएको थियो । पछि एकदम घुलमिल भइयो । त्यसको राजनीतिक पनि हुन पुग्यो र मैले कुनै बेला उहाँको छोरोलाई ल्याब स्कुलमा भर्ना गर्न मद्दत गरेकाले पनि हुनसक्छ । म पत्रकारितामा साप्ताहिक राष्ट्रपुकारसँग पनि सम्बन्धित भएकाले पनि हुुनसक्छ । तर जुन माया उहाँले मलाई गर्नु भयो कारण जेजे भए पनि हाम्रो परिवारको चिकित्सकको रुपमा पनि दाजुले अभिभावकत्व लिनु भयो । मेरो दाजु गणेशप्रसाद अधिकारीको मृगौलको शल्य चिकित्सा पनि २०३७ सालको वैशाखमा उहाँले नै गर्नुभयो वीर अस्पतालमा । पछि मेरी पत्नी देवकी अधिकारीको पेटको शल्य क्रिया पनि उहाँले नै गरिदिनु भयो वीर अस्पतालमा । आमा बिरामी भएर आउँदा भने उहाँले जाँचेर डाक्टर सुन्दरमणि दीक्षितकोमा पठाउनु भएको थियो । त्यस्ता धेरै पहाडबाट आउने बिरामीहरूको जिम्मा लिएर म लैजान्थेँ मुडभरी दाजुकोमा र सबैलाई उहाँले सक्दो सहयोग गरेर पठाउनु हुन्थ्यो ।
मलाई कहिलकाहिँ अप्ठ्यारो पनि लाग्थ्यो, मैले लिएर गएका बिरामीहरूसँग उहाँको सुन्धारमा रहेको क्लिनिकमा फिस पनि लिनु हुन्न थ्यो । एक पटक लेबोरेटरी स्कुलमा पढ्दै गरेको छोरोका फिस तिर्न आउँदा वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा शल्य चिकित्सक डाक्टर भोला रिजाल पनि आउनु भएको थियो लेबोरेटरी स्कुलमा । अनि पो थाहा भयो, मुडभरी दाजुको रिजाल दाइ त सालो पो हुनुहुँदो रहेछ । दुबै डाक्टरमा कुनै पनि अहङ्कार देखिएको थिएन । अहिले डाक्टर भोला रिजाल पनि कोरोना भाइरसबाट सङ्क्रमित भएर स्वस्थ हुनु भएको छ । उहाँलाई बधाई दिनै पर्छ । सायद केही महिना पहिले जस्तो लाग्छ, उहाँले पनि टर्कीमा गएर उपचार गरेर आउनु भएको थियो । भोला दाइ त दोहोरो सर्जक हुनुहुन्छ । एउटा चिकित्सकका रुपमा अनि गीतकार, गीत गायन अनि समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
डाक्टर भोला रिजाल शिक्षकहरूलाई कति धेरै सम्मान गर्नुहुन्छ भन्ने कुराको एउटा उदाहरण मसँग छ । हुन त मेरो र उहाँको परिचय पनि उहाँको छोरा मनीष रिजाललाई मैले पढाउने भएकाले पनि भएको हो तर सामाजिक कार्यक्रमहरूमा मलाई उहाँले पत्रकारको रुपमा चिन्नुहुन्थ्यो होला तर लेबोरेटरीमा पढाउने कुराले उहाँ खुसी हुनुहुन्थ्यो । मनीष पनि एउटा तार्किक विद्यार्थी थियो र सायद अहिले विदेशमा छ । रिजाल दाइ त्रि वि शिक्षण अस्पतालको निर्देशक हुनुहुन्थ्यो । म र नेपाल शिक्षक सङ्घका तत्कालीन महासचिव मीठाराम विश्वकर्मा दुःखीलाई लिएर उहाँसँग भेट्न शिक्षण अस्पताल गएँ र नेपालका शिक्षकहरूका लागि शिक्षण अस्पतालमा केही स्थान सुरक्षित गरेर उपचार गराउने कुरामा उहाँले सहर्ष स्वीकार गर्नुभयो र आधिकारिकरुपमा प्रतिनिधि मण्डलसहित पत्र लिएर आउन अनुरोध गर्नुभयो ।
दुर्भाग्य ! त्यो दिन फेरि किन आएन भने केही समयपछि उहाँले निर्देशक पद छोड्नु भयो । तर मलाई र विश्वकर्मा भाइलाई ठुलो प्रभाव परेको थियो । अनि उहाँले मीठारामलाई एउटा विश्वकर्मा नेपालका शिक्षकहरूको महासचिव भएकोमा बधाई पनि दिनु भएको थियो । सायद उहाँलाई अब यो कुरा सम्झना छ कि छैन, तर मलाई उहाँको व्यक्तित्वको यो पाटोप्रति अहिले पनि श्रद्धा जागेर आउँछ । नेपालका शिक्षकहरूका लागि अहिलेसम्म पनि कुनै अस्पतालमा ठाउँ सुरक्षित छैन जबकि सेनाको आफ्नै अस्पताल छ, प्रहरीहरूको आफ्नै अस्पताल छ, कर्मचारीहरूको आफ्नै सिभिल अस्पताल छ तर करिब ६ लाख जति शिक्षाकर्मीहरूको कुनै अस्पताल पनि छैन र कतै औषधोपचारका लागि स्थान सुरक्षित पनि छैन ।
सायद, इतिहासको त्यो कालखण्डमा हामीले हतार गरेर डाक्टर रिजालको सहयोगलाई लिन सकेको भए विद्यालय र विश्वविद्यालयका शिक्षकहरूलाई औषधोपचारका लागि एउटै मानक बनाइन्थ्यो कि ? सबै शिक्षकहरू एकै हुन् भन्ने मानक । एउटा सर्जकको संवेदनशीलतालाई सदुपयोग गर्न सकिएन जस्तो लाग्छ । अहिले पनि उहाँ नेपाल मेडिकल अस्पतालको अध्यक्ष हुनुहुन्छ, सायद शिक्षकहरूको महासङ्घले छलफल गरे केही सहयोगको व्यवस्था हुन सक्थ्यो कि ? मैले सुनेको छु , नेपाल शिक्षक सङ्घले एउटा अस्पतालको बारेमा कुरा चलाएको छ रे ! सायद, त्यो बन्ला र आम विद्यालय शिक्षकहरूको लागि निवृत्त हुँदा पनि औषधोपचारको व्यवस्था होला जस्तो कि सेना , प्रहरीको हुने गरेको छ ।