लोकसंवाद संवाददाता | विदेश | पुस २२, २०७७
अमेरिकासहितका देशसँग भएको परमाणु सम्झौतका कुनै पनि शर्त नमान्ने घोषणा गरेको एक वर्षपछि इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो परमाणु संवर्द्धनको कार्यक्रम पुनः सुरु गरेको घोषणा गरेको छ । सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग मध्यपूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित महत्वपूर्ण परमाणु सम्झौता भएको थियो ।
तर ओबामा कार्यकालका महत्वपूर्ण सम्झौता उल्टाउने क्रममा डोनाल्ड ट्रम्प इरानसँगको परमाणु सम्झौता र पेरिस सम्झौताबाट समेत पछि हटे । जसबाट मध्यपूर्वमा पुनः अशान्ति र अस्थिरताको कालो बादल मडारिएको छ । गत वर्ष ३ जनवरी, २०२० मा इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा परी इरानका सर्वोच्च कमाण्डर आयतोल्लाह अलि खमेनीपछिका शक्तिशाली मानिने सैनिक जनरल कासिम सुनेमानीको मृत्यु भएपछि इरानले परमाणु सम्झौताका कुनै पनि शर्त नमान्ने घोषणा गरेको थियो ।
त्यसको एक वर्षपछि इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो परमाणु संवद्र्धनको कार्य पुनः सुरु गरेको हो । पश्चिमा नजरबाट हेर्ने हो भने यो सन् २०१५ मा विश्वका शक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लंघन हो । तर इरानी नजरबाट हेर्ने हो भने सम्झौता कार्यान्वयनका लागि पश्चिमा शक्तिहरु कहिल्यै पनि इमान्दार भएनन् । बरु सम्झौताको आडमा इरानमाथि असीमित दबाब थोपर्ने काम गरे । इरानका सैनिक जनरल कासिम सुनेमानीमात्रै होइन गत नोभेम्बरमा वरिष्ठ परमाण वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या भयो । सुनेमानीको हत्यामा अमेरिका जिम्मेवार थियो भने फख्रिजादेहको इजरायलले हत्या गरेको थियो । यसबाट इरानलाई पश्चिमा शक्तिविरुद्ध उभिनु आवश्यकता मात्रै होइन जरुरी नै भइसकेको थियो ।
अमेरिकाले सम्झौताबाट पछि हट्दै प्रतिबन्धहरू पुनः लगाएपछि इरानको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । त्यसमाथि कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा झन ठूलो क्षति पुगेको छ ।
सोही अनुसार नै राष्ट्रपति हसन रुहानीले परमाणु संवद्र्धनका लागि आदेश दिएका हुन् । उनी आफ्नो परमाणु कार्यक्रम अघि बढाउन बाध्य छन् । किनकि नयाँ कानुनअनुसार शान्तिपूर्ण उद्देश्यका लागि २० प्रतिशत शुद्ध गरिएको युरेनियम हरेक वर्ष १२० किलो भण्डारण गर्नुपर्नेछ ।
गत नोभेम्बर अन्त्यमा इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय हत्या भएपछि इरानको संसद्ले नयाँ कानुन पारित गरेको थियो । सो कानुन कार्यान्वयन गर्न पनि राष्ट्रपति रुहानीले नै नेतृत्व गर्नुपर्नेछ । सम्वन्धित युरेनियम रिएक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ । तर त्यो परमाणु बम निर्माणका लागि समेत प्रयोग हुनसक्छ । अस्त्र बनाउन प्रयोग हुने युरेनियम ९० प्रतिशत शुद्ध हुनुपर्छ ।
सम्झौताको उद्देश्य
अमेरिकासहितका शक्ति राष्ट्र र इरानबीच भएको परमाणु सम्झौताअनुसार इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पार्ने लक्ष्यसहित प्रतिबन्ध खुकुलो पारिएको छ । जसको बदलामा इरानले आफ्नो परमाणु संवद्र्धनको कार्यक्रम रोकेको थियो । तर वाशिङ्टन सम्झौताबाट पछि हटेपछि इरान–अमेरिका तनाव चुलिएको छ । अमेरिकाले सम्झौताबाट पछि हट्दै प्रतिबन्धहरू पुनः लगाएपछि इरानको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । त्यसमाथि कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा झन ठूलो क्षति पुगेको छ ।
इरानले यो सम्झौता अमेरिकासँग मात्रै गरेको होइन । सम्झौताका आफ्ना बाँकी हस्ताक्षरकर्ताहरू फ्रान्स, जर्मनी, रुस, चीन र बेलायतलाई समेत अमेरिका सम्झौताबाट पछि हटेपछि आफूपनि परमाणु सम्झौताबाट पछि हट्ने र परमाणु कार्यक्रम सुरु गर्ने एक वर्षअघि नै जानकारी गराएको थियो । त्यसको प्रतिक्रियामा फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले युरोपेली शक्ति राष्ट्रले सम्झौतालाई जीवित राख्न गर्न सक्ने सबैकुरा गर्ने बताएका थिए । तर युरोपले यो सम्झौतालाई जीवित राख्न र इरानमाथि अमेरिकाले लगाएको अमानवीय प्रतिबन्ध हटाउन भूमिका खेल्न सकेनन् । चीन र रुसले भने वर्तमान परिस्थितिका लागि वाशिङ्टन दोषी रहेको बताइसकेका छन् ।
कसले के प्रतिक्रिया दिए ?
अमेरिकाले इरानमाथि ‘धम्कीपूर्ण परमाणु अभियान’ सञ्चालन गरेको आरोप लगाएको छ । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । इरान सन् २०१५ मा भएको परमाणु सम्झौताअनुसार परमाणुसम्बन्धी धेरै कार्यक्रमबाट पछि हटेको थियो । सन् २०१८ मा अमेरिकालाई सो सम्झौताबाट बाहिर राख्दै राष्ट्रपति डोनल्ड ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले त्यसको प्रत्युत्तर दिने बताएको थियो । सो सम्झौतालाई ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन (जेसीपीओए) पनि भनिन्छ ।
इरानी सरकारका प्रवक्ता अलि राबेईले युरेनियमलाई २० प्रतिशत शुद्ध पार्ने काम फोर्दो केन्द्रमा सुरु भएको बताएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले आफ्ना सदस्य राष्ट्रहरूलाई समेत इरानले परमाणु संवद्र्धनको कार्यक्रम सुरु गरेको जानकारी दिएको छ । कतिपयले इरानको यो घोषणा आगामी २० जनवरीमा पद सम्हाल्न लागेका जो बाइडनलाई दबाव दिन चालेको कदमका रुपमा यसलाई लिएका छन् । इरान पुरानै अवस्थामा फर्किए र थप सहमतिहरू गर्न तयार भए आफू पुनः परमाणु सम्झौतामा सामेल हुने बाइडनको भनाई छ । इरानसँग परमाणु सम्झौता हुँदा उनी अमेरिकाका उपराष्ट्रपति थिए ।
युरोपेली संघका प्रवक्ताले भने इरान परमाणु प्रतिबद्धताबाट निकै टाढा गएको रूपमा यो कदमलाई हेरिएको बताएका छन् । यद्यपि इरानले पुनः परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै युरेनियम संवद्र्धनको कार्य अघि बढाएपछि यसले मध्यपूर्वमा पुनः शान्तिको सम्भावनालाई पछि धकेलिदिनेछ । एजेन्सीको सहयोगमा