दशगजाबाट भारतीय एसएसबीले अस्थायी पोष्ट हटायो

दशगजाबाट भारतीय एसएसबीले अस्थायी पोष्ट हटायो

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २३, २०७७

कञ्चनपुर। नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो । 

बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए । सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउना साथ तत्कालै हटाउन लगाइएको बताउनुभयो । 

'एसएसबीको स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा क्षेत्रमा पोष्ट राखेको रहेछ' , उहाँले भन्नुभयो, ' एसएसबीका अधिकारीसँग समन्वय गरी बिना विवाद पोष्ट हटाउन लगाएका छौँ । भारतीयले गल्ती स्वीकार गर्दै पोष्ट हटाएका छन् ।'  दशगजा क्षेत्र नेपाल भारतको सीमा छुट्याउने विन्दु भएकाले दुवै देशले कुनै पनि किसिमको गतिविधि गर्न पाउँदैनन् ।