एउटा प्रश्न मेरो भगवानलाई

एउटा प्रश्न मेरो भगवानलाई

पुरुषोत्तम ढकाल  |  साहित्य  |  पुस २५, २०७७

मेरो आत्माले परमात्मा भेटेको दिन
मान्छे भेटिनु वा भेट्टाउनु पूर्ण नहुनखसक्छ
हाम्रो मिलन विजय उत्सव नहुन सक्छ
मभित्रको मेरो म
उन्मुक्त नहुन सक्छ
स्वच्छन्द नहुन सक्छ
तर निःशब्द निराकार शून्यताको त्यो पल
हो, त्यही पल
मभित्रको भगवान् मुक्त र मोक्ष दुवै हुन सक्छ ।

नभेटिएको पनि हुन सक्छ
भेट्नै पर्ने पनि नहुन सक्छ
टुट्नु र छुट्नु वियोग हो भने
जुट्नु र जोडिनु माया हो भने
नसोधिएको, नभेटिएको, नखोजिएको 
नदेखिएको एउटा आकृति
जहाँ निराकार, निष्पट्ट मात्र हुन्छ
तर पूर्ण जीवन जिउन सक्छ मान्छे
र बोध गर्छ मान्छे
टुट्नु र छुट्नुभन्दा पर पो रहेछ माया
जुट्नु र जोडिनुभन्दा नजिकै रहेछ माया ।

भेट्नै पर्ने यो कस्तो चलन ?
जोडिनै पर्ने यो कस्तो मोह ?
एउटा आकाशको अनगिन्ती प्राणी
एउटा छतभित्र सीमित मायाको इहलीला
ठोक्किँदै रमाउने मान्छेको हाँसो र खुसी
होइन है यो माया, मात्र हो जीवनलीला ।

नदेखेको पनि हुन सक्छ
नजिकै तर नपुगेको त्यो ठाउँ
माया मिलन हो भने पनि नमिलेको हुन सक्छ
त्यो मिलन जहाँ,
अदृश्य नहोस्– दृश्यविनाको
शरीर नहोस्– आत्माविनाको
आत्मा नरहोस्– परात्माविनाको
एउटा ठाउँ, परमात्मा भेट्ने मेरो भगवान् को गाउँ ।

बक्दै गरेको वाचनको भरमा
कोरिएको सीमारेखालाई
डोरिएको यात्रीले
पहिल्याउन धौधौ पर्ला
बग्दै गरेको नदी र झर्दै गरेको झरना
पौडँदै तर्ने हामी अभिलाषी
पारि पुग्न बल पर्ला
तर बगेर नदीमा सागर चुम्न
मेरो भगवान्लाई न गाह्रो पर्ला, न साह्रो पर्ला ।

भूगोलको वल्लो छेउमा
पल्लो छेउले हल्लाउँछ
यताको आकार उता निराकार सलबलाउँछ
मान्छेको बगरभरि लास
तर कलकल झरना निरन्तर कलकलाउँछ ।

जन्माएँ भन्छे आमा
हुर्काएँ भन्छ बाबु
माया सिकाएँ भन्ने प्रियतमा
तर म एक्लोएक्लो, रित्तोरित्तो
जब मेरो आत्माले परमात्मा भेट्यो
मेरो भगवान्ले भन्छ–
‘म फगत एउटा प्राणी, तुच्छ मान्छे
बन्न सकिनँ पूर्ण प्राणी
हुन सकिनँ जीवित, रहेँ जगत्को ऋणी ।

यता दक्र्यो झरी
उता प्रचण्ड घाम
हिउँ खस्दा बेँसी रमाउने
गाउँ बगेरै सकियो
म कल्पिएरै सकिएँ
सग्लो शरीर छ बाँकी
कस्तो बनायौ भगवान् मलाई
मनमुटु जलेरै सकिएँ ।

सकिएँ म ठानेर जल्नु माया
जल्यो आत्मा नभेटेर परमात्मा
बोल्न सक्दिनँ निस्फिक्री
बग्न सक्दिनँ सहर्ष
बन्यो जीवन घामछाया
मानेर मन्दिर धाएँ
ठानेर देवतुल्य सारा सुख पाएँ
देह यस्तै रहेछ, सुखसँगै दुःख
यो त फगत मृगतृष्णा रहेछ
मेरो भगवान्लाई एउटा प्रश्न
एउटा वृक्षको छहारी आत्मा त पाएँ
मेरो परमात्मा वृक्षहरूको वाटिका
मभित्रको मेरो भगवानलाई मैले किन ढिलो पाएँ ?


लसएन्जल्स, अमेरिका