नयाँ वर्षमा फूलको स्वागत !

नयाँ वर्षमा फूलको स्वागत !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०१, २०७६

सिराहा । नयाँ वर्षमा सिराहामा माला आकृत फूलले स्वागत गरेको छ । 

वैशाख १ गते लहान नगरपालिकास्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको उपहार मान्छन्, मिथिलावासी । 

उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ । स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फूल फुल्दै छ । फूल हेर्न भव्य मेला लाग्ने गर्छ । 
लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रूखमा ‘माला आकृत फूल’ हरेक वर्षझैं यस वर्ष पनि आकर्षण बनेको छ ।
यस फूलवारीको असंख्य रूखमध्ये मालिनी मन्दिर दक्षिण टाँसिएको हारमको दुईवटा रूखमा प्रत्येक नयाँ वर्षको पहिलो दिन (वैशाख १ गते) माला आकृत फूल फुल्छ । 

सलहेसको गाथासँग जोडिएको माला आकृति फूल ‘सुनाखरी’को विशेष प्रजाति भएको लहानका वन तथा वातावरणविद् बताउँछन् । मन्दिरका पूजारीका अनुसार नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र कुसमा मालिनीको ‘प्रेम प्रतिक’ हो । 

यो फूल वैशाख १ गते पूर्णरूपमा फुल्छ भने वैशाख २ गतेदेखि विस्तारै हराउँदै जान्छ ।