खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर : ठेकेदारले उठायो १५ लाखसम्म सलामी

खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर : ठेकेदारले उठायो १५ लाखसम्म सलामी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०२, २०७६

काठमाडाैं । खुलामञ्चस्थित अस्थायी बसपार्कका दुई छेउमा अवैध रूपमा सटर बनाएर ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले व्यापारीसँग १५ लाखसम्म सलामी रकमसमेत उठाएको छ । सलामी रकम नबुझाउने व्यापारीलाई बसपार्क प्रवेशमै रोक लगाएको छ ।सटर प्रयोग गरेबापत ८ देखि १५ लाखसम्म सलामी रकम उठाएको र रकम नदिने व्यापारीलाई बिल्डर्सले बसपार्कभित्र प्रवेश निधेष गरेको बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेले बताए । बसपार्कभित्रका नाङ्लो व्यापारीसँग भने प्रतिनाङ्लो ५० हजार रुपैयाँ उठाउने गरेको छ । सलामी रकम सुरुमा ठाउँ लिएबापतको मात्रै हो । भाडाबापत हरेक महिना छुट्टै रकम बुझाउनुपर्छ । 

‘दैनिक रोजीरोटीका लागि व्यापारको विकल्प छैन । वर्षौँदेखि बसपार्कमै व्यापार गर्दै आएका हौँ । पुरानो बसपार्कमा हुँदा महानगरपालिकालाई भाडा दिन्थ्यौँ । बसपार्क खुलामञ्चमा सरेपछि व्यापार चौपट भयो,’ अध्यक्ष पाण्डेले भने, ‘बसपार्कको पेटीमा सानोतिनो कारोबार गर्दैै आएका थियौं । अहिले बिल्डर्सका कर्मचारी आएर हामीलाई निकाले ।

व्यापार गर्न सलामी रकम ८ देखि १५ लाख रुपैयाँ माग्दै आएका छन् । नाङ्लो व्यापारीसँग पनि सलामी रकम मागेको छ । कतिपयले रकम दिइसकेका छन् । रकम नदिनेलाई बसपार्कभित्र छिर्नै रोकेको छ । दुवैतर्फ गेटमा गार्ड नै राखेको छ ।’जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले भने यस विषयमा बोल्न चाहेनन् । नयाँ पत्रिकाले टोलिफोन सम्पर्क गरेर प्रतिक्रिया माग्दा उनी पछि बोल्ने भन्दै पन्छिए र मोबाइल अफ गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।