लोकसंवाद संवाददाता | समाचार | पुस २९, २०७७
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने बताउनु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरद्वारा आज यहाँ आयोजित बालअधिकारको सुनिश्चितका लागि प्रदेशस्तरीय छलफलमा उहाँले आवश्यक कानून एवं प्रभावकारी कार्यक्रम तर्जुमा गरी प्रदेशलाई बालमैत्री बनाउने बताउनुभयो ।
मुख्यमन्त्री राईले बालबालिका आजका कर्णधार एवं साझेदार हुनाका साथै भविष्यका नेतृत्वकर्ता भएकाले उनीहरुलाई सक्षम र सबल बनाउनु आवश्यक नीति निर्माण गर्नु हाम्रो कर्तव्य भएको तर्क गर्नुभयो । उहाँले बालबालिकाका अधिकार सम्पूर्णरुपमा सुरक्षित र सुनिश्चित गर्न प्रतिबद्धसमेत व्यक्त गर्नुभयो । 'नेपालको संविधान २०७२ को धारा, ३९ अनुरुप बाल अधिकारलाई मौलिक अधिकारका रुपमा स्वीकार गरिएको छ', उहाँले भन्नुभयो,'अन्तर्राष्ट्रियरुपमा बालअधिकारको आह्वानलाई आत्मसात् गर्दै बालबालिकाकाविरुद्ध सबै प्रकारका फौजदारी र दण्डसजायलाई कानूनीरुपमा बन्द गर्ने घोषणा गर्ने नेपाल ५४औँ मुलुक हो ।'
मुख्यमन्त्री राईले नेपालको संविधानले प्रतिवाद र स्थापना गरेका बालबालिका सम्बन्धित ऐन २०७५ ले दफा ३ देखि १५ सम्म १३ वटा बालअधिकारको सुनिश्चिततालाई समुचित सम्मान र संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो । उहाँले प्रदेश नं १ लाई स्वच्छ र सुखी तथा सम्मुनत प्रदेशका रुपमा यसको सर्वाङ्गीण विकास र बालबालिकाको अधिकारको संरक्षण गरी उनीहरुको समुचित विकासका लागि आवश्यक योजना, नीति तथा कार्यक्रमलाई आगाडि सारेको चर्चा गर्नुभयो ।
मुख्यमन्त्री राईले विद्यालय केन्द्रित प्रदेशका दुई हजार विद्यालयका दुई लाख विद्यार्थीलाई सङ्गठित गरी सचेत, सभ्य र इमान्दार नागरिक उत्पादन गर्न सचेतना फैलाउने जिम्मेवारीका साथ ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लब गठन गरेर विशेष अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो । उहाँले प्रदेश सरकार बालबालिकालाई भोलिका प्रतिस्पर्धी, सक्षम, सुयोग्य बनाउन ध्यानमा राखी योजनाबद्धरुपमा अगाडि बढिरहेको चर्चा गर्दै प्रदेशमा सडक बालमुक्त अभियानको थालनी शुरु गरी प्रदेशलाई ‘सडक बालकमुक्त’ र ‘बालमैत्री सरकार’ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।