काँकडभिट्टामा पनि पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर शिलान्यास !

काँकडभिट्टामा पनि पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर शिलान्यास !

लोकसंवाद संवाददाता  |  पर्यटन  |  माघ ०२, २०७७

झापा । नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर शिलान्यास  शरु भएको छ ।

काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख विमल आचार्यले  जानकारी  दिनु भएकाे हो  ।

२०७७ माघ १ गते बिहिबार  प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाली कांग्रेसका नगर सभापति इन्द्र बुढाथोकी, नेकपाका नगर इञ्चार्ज देवकुमार राई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाका नगर अध्यक्ष सुशील आचार्यले भ्यूटावरको संयुक्तरुपमा शिलान्यास गर्नुभएको हाे  ।

मेचीनगर नगरपालिका वडा नं ६ को सबैभन्दा अग्लो स्थानमा रहेको शिवालय मन्दिर परिसरमा शिलान्यास भएको भ्यूटावरको कूल लागत रु चार करोड ५३ लाख ४७ हजार ३७० रहेको आयोजना प्रमुख इञ्जिनीयर कमलप्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।

कनकाई इन्टरनेशनल बिल्डर्स प्रालीले निर्माण कार्यको ठेक्का पाएको छ । आयोजना प्रमुख कोइरालाका अनुसार २०७८ मङ्सिर २८ गते काम सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । निर्माणस्थल काँकडभिट्टाको नेपाल प्रवेशद्वारबाट २०० मिटरको दूरीभित्रै रहेको छ ।

काँकडभिट्टाकै सबैभन्दा अग्लो स्थान भएकाले त्यहाँ धेरै पहिलेदेखि नै आन्तरिक पर्यटक दृश्यावलोकनका लागि जाने गर्दथे । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाटा०को प्रदेश नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठले यहाँ निर्माण हुने भ्यूटावरबाट तराईको मनोरम फाँट मात्र नभएर इलामको हरियाली डाँडाकाँडा र भारतको दार्जीलिङ, सिलिगुडी र सिक्किमसम्मको दृश्यावलोकन गर्न सकिने सम्भावना रहेको जानकारी  दिनु भएको  थियो ।  'काँकडभिट्टा नेपाली पर्यटन क्षेत्रका लागि प्रमुख प्रवेशद्वार मध्येमा पर्दछ', नाटाका अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “उनीहरुलाई घुमफिर गर्न र रमाउन मन लाग्दा भ्यूटावर महत्वपूर्ण ठाउँ बन्ने हाम्रो विश्वास छ ।'

 प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले पर्यटन क्षेत्र कोभिड– १९ का कारण सुस्ताएको भए तापनि सो क्षेत्रलाई ब्युँझाउन प्रदेश सरकारले विगतमा विनियोजन गरेको सबै बजेट पर्यटनमै खर्च गर्ने नीति लिएको बताउनुभयो । काँकडभिट्टामा पर्यटकीय आकर्षणका लागि विगतदेखि नै आफूले भ्यूटावरको वकालत गर्दै आएको र बल्ल सपना पूरा भएको प्रदेश सभा सदस्य राधा थापाकाे थप भनाई थियो  । 

 मेचीनगर नगरपालिकाले भ्यूटावरलाई नगरको गौरवको आयोजनामा सूचीकृत गरेको हुँदा यसको निर्माणमा कुनै ढिलासुस्ती हुन नदिइने नगरकी उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । भ्यूटावर नमूनाकारुपमा सजाइने उनको भनाइ छ । झापामा यसअघि बुद्ध शान्तिको धारागोलामा पाँचतले भ्यूटावर निर्माण भइसकेको छ भने दमकमा नेपालकै सबैभन्दा ठूलो भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको छ ।

मेचीनगर मुलुककै प्रवेश नाकामा रहेको शहर भएकाले यहाँ पर्यटकीय विकासका पूर्वाधारको निर्माणमा विगतदेखि नै जोड दिइँदै आएको छ । हाल काँकडभिट्टामा पर्यटकका लागि देवकोटा पार्क, पुष्पलाल–बिपी बाटिका, पातालगङ्गालगायतका केही रमणीयस्थल छन् । दश किलोमिटर वरपर चाहिँ ठूला पर्यटकीयस्थल रहेका छन् । बाहुनडाँगीमा मिनी माउन्टेन, बेंसीबजार र कृष्णथुम्की चर्चित पर्यटकीयस्थल हुन् भने बाँसबारी, कालिका, मागुरमाडी, खुट्टेडाँगी, निचाझोडी सिमसार क्षेत्रले वर्षेनी लाखौँ आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ ।

भ्यूटावरको निर्माण पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण भए तापनि पर्यटक लोभ्याउन प्रवेश विन्दुको शहर काँकडभिट्टालाई सफा, स्वच्छ, हरियाली र पर्यटकमैत्री बनाउन जरुरी रहेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीको धारणा छ । पर्यटकलाई लक्षित गर्दै काँकडभिट्टाको पाँच किलोमिटर वरपर ठूला होटल र रेस्टुरेन्टको स्थापना भइरहेका छन् । काँकडभिट्टामै दुई वटा र धुलाबारीको जोरसिमलमा एउटा क्यासिनो सञ्चालित छ ।

धुलाबारीको जोरसिमलमा होटल ‘मेची क्राउन’ नामक पाँच तारे सुविधा सम्पन्न होटल गत वर्षदेखि सञ्चालित छ । अब पूर्वीद्वार काँकडभिट्टाबाट प्रवेश गर्ने विदेशी पर्यटकले खान बस्नका लागि अन्तरराष्ट्रियस्तरको होटल सुविधा पाउन थालेका छन् । पर्यटकीय आकर्षणका लागि अर्को महत्वपूर्ण पूर्वाधार मानिएको हवाइसेवाको सुविधा चन्द्रगढी विमानस्थलले पूरा गर्दै आएको छ । हाल नियमितरुपमा चन्द्रगढी विमानस्थलबाट विभिन्न एयरलाइन्सहरुले सात वटा उडान भरीरहेका छन् ।