पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय

पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०५, २०७७

तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्वअध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो ।

सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि पाँच हजार रहेको छ । 

टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि  १० हजार रहेको छ । 

यसैगरी भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि १० हजार रहेको छ । 
    
तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएबापत उहाँहरुलाई पुरस्कृत गर्न लागिएको हो । माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिने महासङ्घका अध्यक्ष ओमकार आचार्यले जानकारी दिनुभयो । बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । 

शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।