लोकसंवाद संवाददाता | समाचार | माघ ०७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा आज पदबहाली गर्दै उहाँले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग समन्वय र छलफल गर्दै आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीलाई आफूले सिफारिश गर्ने जानकारी दिनुभयो ।
मुलुकमा लगानी अभिवृद्धि गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने तथा वर्तमान आर्थिक चुनौती सामना गर्ने कामका लागि आफूले सबैसँग सल्लाह एवं सुझाव लिने जानकारी पनि दिनुभयो । “बजेटको सही विनियोजन, खर्च क्षमता अभिवृद्धि गर्दै फ्रिज हुन नदिनेतर्फ मेरो जोड रहने छ”, रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।
पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगड आइतबार मन्त्रीसरहको सो पदमा नियुक्त हुनुभएको हो । नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा९एमाले० र नेपाल कम्युनिष्ट पार्टी९नेकपा०मा आबद्ध दुगड यसअघि प्रतिनिधिसभाका सदस्य तथा वर्तमान ओली नेतृत्वकै सरकारमा राज्यमन्त्री हुनुहुन्थ्यो ।