लोकसंवाद संवाददाता | समाज | माघ ०७, २०७७
सप्तरी । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयो ।
रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उहाँकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो ।
स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताउनुभयो । बालिकाका बुवाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको वडाध्यक्ष यादवले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा छलफलपश्चात आरोपितलाई बालविवाह नगराउने शर्तमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार उमेर नपुगेकाले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने शर्तमा छाडिएको छ ।
प्रहरी नायब उपरीक्षक साहका अनुसार विवाहका लागि छलफल गरिरहेको सूचना पाएर नियन्त्रणमा लिइएको चार जनालाई बालविवाहसम्बन्धी कानूनी जानकारी दिई सम्झाइबुझाई उमेर नपुगी विवाह नगर्ने, नगराउने कागज गराई छाडिएको छ ।