लोकसंवाद संवाददाता | समाचार | बैशाख ०२, २०७६
पेप्सिको को पूर्व सीइओ इन्दिरा नुईले सारा अनुमानहरुलाई गलत साबित गर्दै भनिन्, हाललाई औपचारिक रुपमा कुनै जिम्मेवारी ग्रहण गर्ने मनशाय छैन्। सीइओ पदबाट राजीनामा गरेपछि उनलाई नयाँ जिम्मेवारी दिने सम्भावना रहेका समयमा उनको यो भनाई आएको हो । ६३ वर्षीय नुईले अब आफ्नो ध्यान अनाथ बालबालिका तथा वृद्धहरुको हेरविचारमा बिताउने बताइन् ।
विश्व शिखर सम्मेलनका क्रममा उनले अबका आउने केही वर्षमा अमेरीकामा बालबालिका तथा वृद्धहरुको देखभालमा ठूलो समस्या देखा पर्ने भएकोले यो क्षेत्रमा काम गर्नुपर्ने बताइन् । उनले यो विषयमा कुरा होइन काम गर्नुपर्ने जरुरी रहेको बताइन् । समय रहँदै यो क्षेत्रमा काम नगर्ने हो भविष्यमा यसले विकराल रुप लिने उनको भनाई छ । यो क्षेत्रमा कसरी हात बढाउने त, के कुनै कार्यालय खोलेर यसमा काम गर्ने सोच छ कि भन्ने सवालमा उनले भनिन्, यो व्यवहारिक समस्या भएकोले यसको समाधान पनि व्यवहारिक रुपमै खोज्नुपर्ने तथा टेबुलको चारैतिर सही मानिसको खाँचो रहेको उनले बताइन् ।
उनको नाम विश्व बैंकको प्रमुखको रुपमा अमेरीकी राष्ट्रपति ट्रम्पको सल्लाहकार तथा उनकी छोरी इवांका ट्रम्पले सबैभन्दा अगाडी सारेको पनि बताइएको छ । उनले यो पद स्वीकार गर्ने नगर्ने विषयमा अहिलेसम्म केही बताइएको छैन् ।
१२ वर्ष पेप्सिको को नेतृत्व गरेकी नुई भारतीय मूलकी महिला हुन् । भारतको चेन्नइमा जन्मिएकी नुईको पिता स्टेकट बैंक ऑफ हैदराबादमा मैनेजर थिए भने हजुरबुबा जिल्ला जज थिए ।
आइआइएम कोलकाताबाट म्यानेजमेन्टको कोर्स पूरा गरेकी उनी २००१मा पेप्सिकोसँग आवद्ध भएकी हुन् । उनको कार्यकालमा पेप्सिको को मुनाफा २.७ विलियन डलरबाट वृद्धि भई ६.५ विलियन डलर भएको थियो ।
२००७ ०८ मा उनलाई टाइम म्यागाजिनले संसारको प्रभावशाली एक सय व्यक्तिको रुपमा समावेश गरेको थियो , भने सन् २००७ मा भारत सरकारले उनलाई पद्म विभूषणले सम्मान गरेको थियो ।