रक्ष राई | साहित्य | माघ १०, २०७७
आमा !
तपाई सोंच्नु होला
म परको देशमा छु
तर हैन,
म त नयाँ देशमा छु
नयाँ नेपालमा छु ।
तपाई सोंच्नु होला,
नेपालभन्दा बेलायत टाढा छ
र बेलायत भन्दा नेपाल पर छ
तर हैन,
बेलायत हिजो पनि
नालापानीसंग जोडिएकै थियो
आज त झन्
कालापानीको आकाशसंग गाँसिएको छ ।
फेरि तपाई सोंच्नु होला,
देश भूगोलमा हुन्छ
र राष्ट्र माटोमा हुन्छ
आमा !
देशलाई मैले
भूगोलबाट उखेलेर छातीमा सारी सकेँ
राष्ट्रलाई मैले
माटोबाट झिकेर मुटुमा राखी सकेँ
अब मेरो देश
भूगोलको सीमाभित्र बन्दी छैन
अनि मेरो राष्ट्र
माटोको रङभित्र कैदी छैन।
देश के हो ?
राष्ट्र के हो ?
राष्ट्रियता के हो ?
देशको भूगोल ढलिसक्यो
राष्ट्रको सीमा हराई सक्यो
राष्ट्रियताको रङ खुइली सक्यो
र सबै अर्थहरु मेटिसक्यो
आमा !
सारा संसारलाई मैंले
एउटै आँगनमा जोडिसकें
सारा मानव फूलहरुलाई मैंले
एउटै फूलबारीमा गोडिसकें
र यो भूगोललाई मैंले
सारा प्राणीको साझाघर बनाइ सकेँ।
तपाई चिन्ता गर्नु होल,
म देशबिहिन भएँ
र राष्ट्रबिहिन भएँ
आमा !
हजुरको माया पनि एउटा देश हो
हजुरको आशिर्वाद पनि अर्को राष्ट्र हो
बेलाबेलामा
हजुरको मायासंगै देश बनेर आउँछ
हजुरको आशिर्वादसंगै राष्ट्र बोकेर आउँछ
कहिले त्यो,
गुन्द्रुकको कोशेलीमा पोकोपरेर
मधेस र पहाड उचालिएर आउँछ
किनेमाको पार्सलमा सजिएर
हिमाला र नेपाल बोकेर आउँछ
गुन्द्रुक पनि कस्तो चिज रहेछ
त्यो घरदेशमा पो तरकारी हुँदोरहेछ
परदेशमा त त्यो नयाँ देश हुँदोरहेछ
हजुरले जतनगरी पठाएको पार्सालको पोको खोलें
र आफूलाई बेलायतभरी फिजाएँ
आमा !
गुन्द्रुकको गन्धलाई मैले जिन्दगीको सुवास बनाएँ
नुनिलो पसिनालाई मैले जिन्दगीको स्वाद बनाएँ
हिजो छिमेकीको ढल नाली फूट्यो
र बेस्सरी दुर्गन्ध फैलायो
त्यसलाई पनि मैले किनेमाको सुगन्ध बनाएँ
आमा !
बेलायतमा मैले पसिनाको अर्को नेपाल बनाएँ
आमा !
हजुरले पार्साल पठाएको गुन्द्रुकको पोको
झन्डै हिथ्रो एयरपोर्टको कुकुरले खाई दियो
धन्य, तपाईको आशीर्वाद बलियो थिएछ
कसो, खैरे कुकुरले थाहा पाएन
किनेमाको गन्ध र गुन्द्रुकको स्वाद !
नत्र कहाँ बनिन्थ्यो होला र !
बेलायतमा नयाँ नेपाल !