लोकसंवाद संवाददाता | समाचार | बैशाख ०३, २०७६
काठमाडौं । विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले ऋण लिएबापत बुझाएको यो ब्याज रकमले बैंकको आम्दानीसँगै अहिले देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावमा समेत केही कमी ल्याउने छ।
‘चैत मसान्तमा ब्याजबाट मात्र बैंकले करिब १३ अर्ब रुपैयाँ आम्दानी गरेका छन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले आएको ब्याजको रकमले लगानीयोग्य पुँजी अभावलाई कम गर्न सहयोग पुग्नेछ।’
पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन्। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चैत २४ सम्म वाणिज्य बैंकहरुले २७ खर्ब सात अर्ब निक्षेप संकलन गरेर २४ खर्ब १३ अर्ब लगानी गरेका छन्। तिनै लगानीबाट १३ अर्ब रुपैयाँ चैतमा ब्याज मात्र आएको हो। बैंकहरुले लामो सयमदेखि लगानीयोग्य रकम अभाव खेप्दै आएका छन्। त्यो अभाव कम गर्न ब्याजबाट उठेको रकमले सहयोग गर्नेछ। आजको नागरिक दैनिकमा खबर छ ।