लोकसंवाद संवाददाता | समाचार | बैशाख ०३, २०७६
वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख रुपैयाँ मूल्यको मेगलुमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो ।
थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् । महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार रुपैयाँ पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ ।
अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाडौंको एक ल्याबमा बिक्री गरिसकेका छन् । सप्लायर्स, ल्याब इन्चार्ज र मेडिकल सुपरिटेन्डेन्टले मिलेमतोमा मेसिन साटेर बिक्री गरिएको सम्बद्ध स्रोतको दाबी छ ।
वीरगन्जको बिर्तास्थित सिटी सर्जिकलले पुरानो र नयाँ किलिया मेसिन सप्लाई गरेको हो । सप्लायर्स र प्रयोगशालाका कर्मचारीले किलिया मेसिन साटिएको स्विकारेका छन् । तर,नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले बिग्रिएको किलिया मेसिन मर्मत गरी पुनः सञ्चालनमा ल्याएको दाबी गरेका छन् । ‘अहिले प्रयोगशालामा रहेको किलिया मेसिन पुरानै हो, साटिएको छैन,’ मेसु डा. हकले भने, ‘त्यही मेसिन बनाएर चलाइरहेका छौं ।’ मेसिन सप्लाई गर्ने सप्लायर्सले नै मर्मत गरेको उनले बताए । कान्तिपुर दैनिकले याे समाचार प्रकाशित गरेको छ ।