लोकसंवाद संवाददाता | कारोबार | माघ १६, २०७७
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष डेढ करोड भित्र्याएका छन् ।
व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५० प्रतिशतले कमी आएको छ । यहाँको बगैँचामा सुन्तला किन्नका लागि काठमाडाँै, पोखरा, नारायणगढबाट व्यापारी घरघरमै आएका थिए ।
कृषकले दुई वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएका थिए । स्थानीय माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि निजी हिसाबले नै बिक्री गर्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईँले बताउनुभयो । यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उहाँको भनाइ छ । “गएको वर्ष रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ, यस वर्ष मुस्किलले डेढ करोडजति आम्दानी भएको अनुमान छ”, अध्यक्ष चापागाईँले भन्नुभयो ।
सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैँचाबाटै खरिद गरेपछि कृषकलाई पनि सहज भएको स्थानीय शिक्षक भूमिराज शर्माले बताउनुभयो । देउपुरका कृषक ख्यामराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताउनुभयो । उहाँले गत वर्ष रु चार लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको बताउनुभयो ।
गत वर्ष हिउँदमा पटक–पटक आएको असिना, विभिन्न रोग र किराको प्रकोप र यस वर्ष वर्षायाममा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् । परम्परागतरूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका १६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् ।
साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा शुरु गरेको माछापुच्छ«े सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईँले बताउनुभयो । उहाँले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताउनुभयो । शुरुमा कोदो, मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको रु दुईदेखि पाँच लाखसम्म कमाइ हुन थालेको उहाँको भनाइ छ । मकै, कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा पाँच लाख कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “अहिले देउपुरका सबै घरमा दुई लाखभन्दा बढी कमाउने कृषक छन् ।”