प्रा. डा. शरद वन्त | दृष्टिकोण | माघ १६, २०७७
सफल शुरुवात
अहिले देश संसद् विघटन सिर्जिएको संवैधानिक सङ्कटको भुमरीमा निसास्सिरहेकाे र जनता कहाली लाग्दो अनिश्चित भविष्यको त्रासले छटपटाइरहेका बेला नेपालमा कोभिड -१९ विरुद्ध खोपको शुरुवात अँध्यारो सुरुङमा झुल्किएको प्रकाश जस्तै आशाको किरण जगाइ दिएको छ । कोभिड प्रकोपको व्यवस्थापनमा सरकारको विगतको अन्यौलता र ढिला सुस्तीलाई सम्झेर देशमा यति छिटै खोप आउने बारे धेरैको मनमा भएको शङ्काको घेरालाई भत्काएर यो सुरुवातलाई सम्भव बनाउन सरकारले गरेको प्रयास र मित्र राष्ट्र भारतले आफ्नै आवश्यकतालाई कटाएर नेपालीहरूप्रति देखाएको अतुलनीय सदाशयताको हामी सबैले भित्रै मनदेखि हार्दिक सराहना गर्नु पर्छ ।
। खोप अभियानको सुरुवातलाई सार्थक रुपमा कार्यान्वयन गर्न अथक मेहनत गर्ने व्यवस्थापन कार्यमा संलग्न पदाधिकारीहरू, स्वास्थ्यकर्मीहरू, सहयोगीहरू सबै प्रति हार्दिक आभार व्यक्त गर्नु पर्दछ । यही मेहनत र परिश्रमको फल हो– हामीले कोभिड १९ विरुद्ध खोप प्रयोगको सुरु गर्ने विकासोन्मुख देशहरूमा अग्रपङ्तिमै भएको र दक्षिण एसियामा दोस्रो राष्ट्र भएको गर्व गर्न पाएका छौँ । हामी आशा गर्छौँ आउँदा दिनहरूमा पनि कोभिड प्रकोपको चुनौतीहरूलाई प्रभावकारी सम्बोधन गर्न सरकारको र स्वास्थ्य प्रणालीको यो चुस्तता कायमै राख्ने छ । हाम्रो स्वास्थ्य प्रणालीमा संरचना हुँदा हुँदै पनि नयाँ खोपको प्रक्रियामा कहीँ कतै त्रुटिहरू छन् भने तिनीहरूलाई सच्याउन सकिन्छ । समुच्चमा यो सुखद शुरुवात हो ।
हाम्रो आवश्यकता यति मात्रै होइन
यति बेला हामीलाई अनुदानमा प्राप्त भएको खोपको मात्रा कोभिड सङ्क्रमितहरूको सेवामा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरू लगायत सङ्क्रमणको जोखिममा काम गर्नु पर्ने व्यक्तिहरूको लागि मात्रै पर्याप्त हुनेछ । यो सङ्ख्या खोप लगाउनु पर्ने जनसङ्ख्याको सानो अंश मात्रै हो । स्पष्ट छ, हाम्रो आवश्यकता यो भन्दा धेरै गुणा बढी छ । यो आवश्यकताको सानो हिस्सा विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स योजना मार्फत आपूर्ति होला । तर, मूल रुपमा हाम्रो आवश्यकताको व्यवस्थापन हामी आफैले गर्नु पर्छ । खोपको लागि योग्य सम्पूर्ण नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता सरकारको विभिन्न तहबाट पटक पटक अभिव्यक्त भएको छ । यो राज्यको दायित्व पनि हो ।
सबै नागरिकहरूको लागि खोप कहिले उपलब्ध होला त्यसको निश्चितता नभै सकेको हाम्रो स्थितिमा जनस्वास्थ्यका यी विधिहरूलाई छोड्ने त टाढाको कुरा खुकुलो बनाउने सानो छुट पनि हामीलाई छैन । यसको लागि सरकारले सकेसम्म चाँडो सबै नेपालीहरूलाई खोप उपलब्ध गराउने प्रयाससँगै स्वास्थ्य सुरक्षाका विधिहरू पालना गराउन सहज गराउनुको साथै यसको निगरानी र अनुगमन गुनै पर्दछ र नागरिकहरू पनि जिम्मेवार हुनु पर्दछ ।
आवश्यकता पर्ने कुनै पनि नागरिक कुनै पनि कारण वा बहानामा खोपको पहुँचबाट वञ्चित हुनु हुँदैन । त्यो सुनिश्चित गर्ने जिम्मेवारी पनि राज्यको हो । आफनो प्रतिबद्धताप्रति सरकार इमानदार र गम्भीर नभए सरकारको लागि यो त्यति सहज हुँदैन । अहिले विश्वमा खोपको उत्पादन भन्दा यसको माग अत्यन्तै धेरै भएकोले धेरै देशहरूमा पर्याप्त आपूर्ति हुन सकेको छैन । त्यसैले हामीले हाम्रो आवश्यकता अनुसार खोप ल्याउने मुद्दालाई हल्कासँग सतही रुपमा कदापि लिनु हुँदैन । सरकारले खोप खरिद गर्नको लागि आर्थिक व्यवस्थापन भैसकेको बारे हामीलाई आश्वस्त गराएको छ । तर हामीसँग आर्थिक श्रोत भएकै कारणले मात्रै खोप सहजै प्राप्त हुन्छ भन्ने सोच भ्रमपूर्ण हुन सक्छ । आफूले बाचा गरे जस्तो खोप आपूर्ति गर्न नसकेको वास्तविकता उत्पादकहरूले स्विकारेका छन् । पूर्व भुक्तानी गरेर सहमति गरेका देशहरूले समेत समयमा खोप प्राप्त गर्न नपाएकोमा केही देशहरू उत्पादकहरूसँग रुष्ट भएका छन् ।
आउँदा दिनहरूमा खोप उत्पादन गर्ने देशहरू र उद्योगहरू निःसन्देह उल्लेख्य रुपमा वृद्धि हुने नै छ ता पनि प्राविधिक, व्यवस्थापकीय, मूल्य आदि कारणहरूले गर्दा हाम्रो लागि ती सबै खोपहरू उत्तिकै उपयुक्त नहुन पनि सक्छन् । त्यसैले आफ्नो अनुकूलता अनुसार देश र उत्पादक छान्नु पर्ने बाध्यताले गर्दा विश्व बजारको फराकिलो फाँटको त्यो अवसर हाम्रो लागि साँगुरिन जान्छ । यसले गर्दा हामीलाई खोपको आपूर्ति अझै कठिन हुन्छ । यो चुनौतीलाई समाधान गर्न सरकारले समय मै विवेकपूर्ण रणनीतिक अभ्यास गरेर त्यसलाई उचित तरिकाले कार्यान्वयन गर्नु पर्छ । खोप उत्पादक उद्योग कम्पनीहरू सँग ब्यवशायिक सहमति त चाँडो भन्दा चाँडो हुनै पर्छ, तर समानान्तर रुपमा उत्पादक राष्ट्रसँग कूटनैतिक वार्ता पनि प्रभावकारी तवरबाट गर्नै पर्छ । त्यस बाहेक, हाम्रो जस्तो कम शक्तिशाली देशका नागरिकहरूको खोपमा पहुँच हुनु पर्ने हकलाई सुरक्षित गर्न सरकारले सम्बन्धित नागरिक समाज तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र सञ्जालहरूलाई पनि परिचालन गर्नु पर्छ । यो अनुभूत गर्न जरुरी छ कि यति बेला हामीले प्राप्त गर्न सकेको खोपको पछाडि यिनै तत्त्वहरूको अहम् भूमिका रहेको छ । र यसको सान्दर्भिकता आउने दिनहरूमा पनि निरन्तर हुनेछ ।
कोभिडको प्रकोपसँग लड्न खोप निर्णायक शस्त्र होइन
पछिल्लो दुई महिनादेखि कोभिडको नयाँ सङ्क्रमितहरूको र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्न थाले पछि धेरैलाई नेपालमा कोभिडको प्रकोप सकिएको भ्रम परे जस्तो देखिन्छ । त्यसमाथि खोपको प्रयोग सुरु भइसकेपछि अब कोभिडबाट डराउनु नपर्ने भ्रमपूर्ण विश्वासको विकास भएको पनि हुन सक्छ । डराउनु र आतङ्कित हुनुहुँदैन–यो बिलकुल सही हो, तर सङ्क्रमणको सुरक्षाप्रति लापरवाह र गैर जिम्मेवार भएर होइन । हाम्रो देशमा सङ्क्रमण घटेको छ, यो यथार्थ हो । यो पनि त्यत्तिकै यथार्थ हो कि हामीलाई सङ्क्रमणको जोखिम अहिले पनि छ ।
थोरै नै होस् अहिले पनि प्रत्येक दिन नयाँ सङ्क्रमितहरू थपिइरहेकै छन् । यसको सोझो अर्थ यही हो कि हाम्रा समुदायहरूमा सङ्क्रमणको श्रोत विद्यमान नै छ र हामी कोभिड सङ्क्रमणको जोखिमबाट पूर्ण रुपमा मुक्त भई सकेका छैनौ । कोभिडलाई दीर्घकालीन रूपबाट हराउन हामीले कोभिड सङ्क्रमणको रोकथामको विधिहरूलाई अझै प्रभावकारी र जिम्मेवारता साथ अभ्यास गर्नु पर्ने यही बेला हो । यो महत्त्वपूर्ण समयमा हामीले स्वास्थ्य सुरक्षाप्रति लापरबाही गर्यौँ भने विश्वका कतिपय देशहरूमा जस्तै हाम्रो देशमा पनि कोभिड महामारीको अर्को चरण नआउला भन्न सकिन्न ।
कोभिडको खोप यसको सङ्क्रमणलाई रोक्ने बलियो प्रविधि हो तर निर्णायक र अन्तिम विधि भने होइन । कोभिड विरुद्धको खोप विज्ञान र प्रविधिको अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक योगदान हो र खोपको विकासको लागि दिनरात प्रयोगशालामा बिताउने वैज्ञानिकहरूप्रति हामी आभारी हुनै पर्छ । खोप प्रभावकारी हुँदा हुँदै पनि यसका सीमाहरू छन् । यसले कोभिड सङ्क्रमणको विरुद्ध सत् प्रतिशत सुरक्षा दिन सक्दैन । त्यसैले खोपको प्रयोग सँगसँगै सङ्क्रमणबाट सुरक्षित हुनको लागि हामीले मास्कको उचित प्रयोग, हातको सफाइ र दुरी कायम गर्ने अभ्यास गर्नै पर्छ ।
त्यस माथि सबै नागरिकहरूको लागि खोप कहिले उपलब्ध होला त्यसको निश्चितता नभै सकेको हाम्रो स्थितिमा जनस्वास्थ्यका यी विधिहरूलाई छोड्ने त टाढाको कुरा खुकुलो बनाउने सानो छुट पनि हामीलाई छैन । यसको लागि सरकारले सकेसम्म चाँडो सबै नेपालीहरूलाई खोप उपलब्ध गराउने प्रयाससँगै स्वास्थ्य सुरक्षाका विधिहरू पालना गराउन सहज गराउनुको साथै यसको निगरानी र अनुगमन गुनै पर्दछ र नागरिकहरू पनि जिम्मेवार हुनु पर्दछ ।