लोकसंवाद संवाददाता | समाचार | बैशाख ०३, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार राती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले पराजित गरेको छ ।
बैंग्लोरले दिएको १७२ रनको लक्ष्य मुम्बईले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । १९ औं ओभरमा मुम्बईका हार्दिक पाण्ड्याले २१ रन ठोकेपछि मुम्बईले चालू आइपिएलमा पाँचौँ जित निकालेको हो । पाण्ड्याले १६ बलमा ३७ रन जोडे । उनले आफ्नो पारीमा पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै, मुम्बइका प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डि ककले सर्वाधिक ४० रन जोडे । कप्तान रोहित शर्माले १९ बलमा २८ रनको पारी खेले ।
बैंग्लोरका युजभेन्द्र चहल र मोइल अलीले समान दुई विकेट लिए । मोहम्मद सिराजको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको बैंग्लोरले निर्धारित २० ओभरमा १७१ रन जोड्यो । उसका लागि मिस्टर ३६० को उपमा पाएका एबी डिभिलियर्सले सर्वाधिक ७५ रन जोडे । ५१ बल खेलेका उनले आफ्नो पारीमा ६ चौका र चार छक्का प्रहार गरे । उनलाई १९.२ ओभरमा क्यारोन पोलार्डले रनआउट गरे ।
त्यस्तै अलराउन्डर मोइन अलीले ३२ बलमा ५१ रनको आक्रामक पारी खेले । कप्तान विराट कोहली ८ रनमा पेवेलियन फर्किए ।
मुम्बईका लासिथ मालिंगाले ३१ रन खर्चेर चार विकेट लिए । यस्तै, हार्दिक पाण्ड्या र जेसाने बेन्ड्रोफले समान एक विकेट लिए ।