लोकसंवाद संवाददाता | समाचार | बैशाख ०३, २०७६
निर्वाचन आयोगले आदर्श आचारसंहिता उल्लंघनका लागि केन्द्रीय मन्त्री मेनका गान्धी तथा उत्तर प्रदेशका पूर्वमन्त्री आजम खानमाथि सीमित समयका लागि प्रतिबन्ध लगाएको छ ।
काठमाडौं । भारतमा चुनावी प्रचारको क्रममा नेताहरूले विवादित बयान दिने क्रम बढ्दो छ । विवादित बयान दिने नेताहरूलाई निर्वाचन आयोगले नसिहत दिने क्रममा सीमित समयका लागि चुनाव प्रचार गर्न नपाउने निर्देशन जारी गरेको छ । यस क्रममा निर्वाचन आयोगले केन्द्रीय मन्त्री मेनका गान्धी र सपा नेता आजम खानमाथि क्रमशः ४८ र ७२ घन्टे प्रतिबन्ध लगाएको छ । यी दुवै नेताले मंगलबार बिहानदेखि चुनाव प्रचार गर्न पाउने छैनन् ।
मेनकाले मुस्लिम समुदायलाई कटाक्ष गर्दै अभिव्यक्ति दिएकी थिइन भने आजमले चुनावी प्रतिद्वन्द्वी जयाप्रदामाथि अभद्र टिप्पणी गरेका थिए ।
यसअघि निर्वाचन आयोगले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बसपा नेत्री मायावतीमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो ।