लोकसंवाद संवाददाता | समाचार | बैशाख ०३, २०७६
लोकसभा चुनाव २०१९ अन्तर्गत अप्रिल १८ गते हुने दोस्रो चरणको मतदानका लागि आज साँझ ६ बजेसम्म प्रचार गर्न पाइनेछ ।
काठमाडौं । लोकसभा निर्वाचन २०१९का लागि अप्रिल १८ मा हुने दोस्रो चरणको चुनाव प्रचारको आज अन्तिम दिन हो । दोस्रो चरणअन्तर्गत १३ राज्यमा ९७ सिटका लागि चुनाव हुँदैछ ।
जसमा तमिलनाडु राज्यमा सबैभन्दा बढी ३९ मध्ये ३९, विहारमा ५, जम्मू–काश्मिरमा २, उत्तर प्रदेशमा ८, कर्नाटकमा १४, महाराष्ट्रमा १०, आसाममा ५, उडिसामा ५, छत्तिसगढमा ३, पश्चिम बंगालमा ३ तथा मणिपुर, त्रिपुरा र पांडिचेरीमा एक–एक सिटका लागि निर्वाचन हुँदैछ ।
फिल्मी क्षेत्रबाट राजनीतिमा आएका राजबब्बर तथा हेमामालिनी दुवैको भाग्य फैसला पनि यही चुनावमा हुँदैछ । हेमामालिनी उत्तरप्रदेशको मथुरा र राजबब्बर फतेहपुर सिकरीबाट चुनावी मैदानमा छन् ।
चुनावपूर्वका सर्वेक्षणले उत्तरप्रदेशमा कांग्रेसले दुईदेखि चारसम्म सिट जित्ने प्रक्षेपण गरेका थिए । जसमा दुई सिट अमेठीमा राहुल गान्धी र रायरेलीमा सोनिया गान्धी रहेका छन् । अन्य दुई सिटमा भने एक सिट राजबब्बरकै क्षेत्र हो भने अर्काे सहारनपुरको सिट हो ।