वसन्त बस्नेत | दृष्टिकोण | माघ २०, २०७७
किन असफल हुन्छ अधिनायकवाद ?
नेपालमा राजनीतिक वृत्तमा सबैभन्दा बढी उच्चारण गरिने शब्दजाल भित्र पर्दछ, अधिनायकवाद ! यसको बेफाइदा के छ ? र यसले मुलुकलाई कुन सीमासम्म असफल बनाउँदा वा यसको गलत प्रयोग तथा अलिकति पनि असावधानी कत्तिको जोखिमयुक्त छ भन्ने बारेमा धेरै व्याख्या गर्न पर्दैन । यस अनुच्छेदमा अधिनायकवादका सकारात्मक पक्ष के हो भन्ने सम्मको संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ । यद्यपि यसका सकारात्मक विषयको संक्षिप्त करणको उद्देश्य अधिनायकवादलाई प्रश्रय दिने भन्ने पक्कै होइन ।
कतिपय प्रजातान्त्रिक मुलुकमा जनताहरू मनोमानी गर्न स्वतन्त्रताबाट आजित भएर अधिनायक तन्त्रको कामना गर्छन् । अधिनायकतन्त्रको कसरी शुरुवात हुन्छ भन्ने कारणलाई खोजी गरियो भने जुन देशमा निराशा, अव्यवस्था, असन्तोष तथा अभाव हुन्छ त्यहाँ अधिनायकवादको उदय भएको देख्न पाइन्छ । प्रजातान्त्रिक व्यवस्थाले जनतामा निराशा तथा अभाव उत्पन्न गरेसँगै अधिनायकवादको मनोविज्ञान तयार हुन्छ । आज पनि अनेकौँ राज्यमा जनता अधिनायकवादलाई राम्रो मानेर निरंकुश शासकलाई पूर्ण समर्थन गरेको देखिन्छ । यसबाट यो स्पष्ट हुन्छ कि अधिनायकवादमा केही यस्तो गुण छ जुन अन्य व्यवस्थाहरूको सैद्धान्तिक श्रेष्ठताको बाबजुद यस व्यवस्थालाई अपनाउन प्रेरित गर्दछ ।
अधिनायकवादको विभिन्न गुणहरू छन् । यसले शासनमा कुशलता ल्याउनुका साथै शासन शक्ति एक व्यक्तिको हातमा निहित हुने भएकाले, निर्णयहरू शीघ्र लिई त्यसको तत्काल कार्यान्वयन गर्न सकिन्छ । अधिनायकवादी व्यवस्थामा शासकबाट सबै भयभीत हुने हुँदा काममा ढिला, सुस्ती नभई शासक प्रति सम्पूर्ण प्रशासन उत्तरदायी, सतर्क, सचेत र सक्रिय पनि रहन्छन् । यसबाट शासनमा दक्षता आउँछ । विभिन्न दल तथा विरोधीको दमन गरेर देशमा एक दल वा एक नेता हुनाले सबै जना उ प्रति नै वफादार हुन्छन् । हिट्लर र मुसोलिनी यसैगरी जर्मनी र इटालीलाई एक गर्ने काममा सफल भएका थिए भने केही समय भएता पनि बेलायतमा वलिभर क्रमवेल गणतन्त्रका संस्थापक बन्न सफल भएका थिए ।
संसारको कुनै पनि देशमा सबै भन्दा सजिलोसँग बिक्री हुने नारा भनेको राष्ट्रियता नै हो र यसकै माध्यमबाट संसारका संसदीय वा असंसदीय तानाशाहरुको उदय भएको देखिन्छ । मोदी, ट्रम्प जस्ता प्रजातान्त्रिक मुलुक भनिने देशका प्रधानमन्त्रीहरु समेत राष्ट्रियताकै नारा बेचेर नेता भए । राष्ट्रियताको भावना र अधिनायकवाद एक अर्काको परस्पर सहयोगी तत्व हुन् । राष्ट्रियताको नाराले अधिनायकवाद जन्माउन वा दिगो राख्न मदत गर्दछ भने अधिनायकवाद भित्र राष्ट्रियताको नाराले बढी फल्ने फुल्ने मौका पाउँदछ । हिट्लरको उदयदेखि र जर्ज डब्ल्यु बुसको बाबु छोराको शासन हेर्ने हो भने पनि यसको पुष्टि हुन्छ । नेपालका राणा शासक जङ्गबहादुरले आफ्ना सेना लिएर लखनउ विद्रोह दबाउन गएकोले उनको पारिवारिक शासन सहितको अभिनायकत्वको आयु बढ्न गएकोमा दुई मत नहोला ।
अधिनायकवाद सफल भएमा एक राष्ट्र र एक झन्डाको मुनी सबैलाई गोलबन्द हुन्छ बनाउन सहज हुन्छ । अधिनायकवादमा राष्ट्रवाद यति प्राबल्य हुन्छ कि नागरिक आफ्नो देश, नेताको लागि बलिदान गर्नको लागि तयार हुन्छन् । तर एक नेताको अधिनायकवाद हो वा समग्र पार्टी प्रणाली भित्रको अधिनायकवाद हो भन्ने कुराले यसको आयु निर्धारण गर्दछ । मार्सल टिटोको युगोस्लाभिया होस् वा सदाम हुसेनको इराक, लिबियाका कर्णेल गद्दाफि होस् व्यक्ति प्रभावित अधिनायकवाद भएको हुँदा व्यक्तिको अवसानसँगै अधिनायकवादको अन्त्य भएको उदाहरण पाउन सकिन्छ । किन कि त्यहाँ संस्थागत अधिनायकवाद भन्दा पनि व्यक्तिगत अधिनायकबाटको प्रभाव बढी थियो । खास गरी विकासशील राज्यमा राजनीतिक र आर्थिक विकासको सङ्क्रमणकालीन परिस्थितिमा पनि अधिनायकवाद उपयोगी मानिन्छ ।
अधिनायकवाद भित्र शासक र उसका कार्यकर्ता, सहयोगीहरू आफैँ अनुशासित, नैतिक, सह्रदयी, मिलनसार, सहयोगी, आर्थिक अनुशासनमा बस्ने भएमा अधिनायकवाद दिगो रहन्छ । दम्भी, अहङ्कारी, निरंकुश, भ्रष्ट, नातावादमा लिप्त, आत्मकेन्द्रित आचरण भएको, सामाजिक हैसियत नभएको, क्षमताको अभाव र पूर्वाग्रही रहने व्यक्तिले अधिनायकवाद स्थापित गर्न वा टिकाउन सक्ने अवस्था रहँदैन । समग्रमा विश्वासको आधार खडा नगरी स्थापना गर्न खोजियो भने यस्तो अधिनायकवाद पूर्ण आकार ग्रहण नगर्दै खरानी हुन्छ । संसारका अधिनायकवादीहरुले आफ्नो शासन सत्ता टिकाउन आवश्यक पर्ने आधारहरू बिस्तारै नष्ट गर्दै दम्भी, अहङ्कारी, तानासाही, एकतन्त्रीय, हुकुमी शासन सञ्चालन गर्ने कुचेष्टा गर्दा नै अधिनायकवाद समाप्त भएको उदाहरण भेटिन्छ ।
हिट्लरको संसदीय अधिनायकवाद र यसको पतन
विख्यात जर्मन शासक अडोल्फ हिट्लर १८८९ मा जन्मिएर १९४५ मा परलोक भएका थिए । अस्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्सलर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए, भने उनी विश्वका क्रूर शासकहरूमा गनिन्छन् । हिट्लर नाजीवाद तथा दोस्रो विश्वयुद्धका कारक मानिन्छन् । पहिलो विश्वयुद्ध लडेका कारण उनलाई युद्धको राम्रो अनुभव समेत थियो । उनले सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी)को सदस्यता लिई १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक 'कु' को असफल प्रयास समेत गरेकाले जेलमा परे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गरी तथा बृहत् जर्मन (विशेष गरी भाषिक कारणले), यहुदी विरोधी र कम्युनिस्ट विरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तित्व कलाद्वारा समर्थन प्राप्त गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलर भएपछि भएपछि १९३४ देखि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे ।
असफल अधि नायकत्व पश्चात् पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरूलाई साथ लिई सेनाको सहयोगमा धार्मिक आवरणमा लामो तानासाही चलाउने आकाङ्क्षा केपी ओलीले साँच्चै लिएको हो भने केपी त यो माटोमा छोटो समयको मात्र पाहुना हुन्, केपीवादीहरूको भविष्य अन्धकारमय हुने निश्चित छ । देशलाई तानासाहीको गर्भबाट मुक्ति दिँदा केपीवादीहरूको नामो निसान मेटिनेमा कुनै शङ्का छैन ।
सेनाको जागिर हुँदै पार्टी राजनीति मार्फत संसद् प्रवेश गरी राज्य शक्ति हत्याउन सफल हिट्लर एक कुशल अधिनायकवादी थिए । विश्व विजेता बन्ने अभीष्ट त्यागी नस्ल नासो अभियानमा नलागेको भए उपजको अधिनायकवादी शासन सत्ताले दीर्घकाल पाउनुका सार्थ विश्वले नै एउटा त्रासदीबाट मुक्त पाउने सम्भावना थियो । सोभियत शासक स्टालिनको हातबाट पराजित नभएको भए अझै उक्त युद्ध कति लम्बिन्थ्यो भन्न सकिने अवस्था थिएन । यद्यपि रुससँग भएको अनाक्रमण सन्धिको अवज्ञा नै हिट्लरको विनाशको कारण बन्यो । सांसदभित्र प्रवेश गर्ने महत्त्वाकाङ्क्षी व्यक्तिको अभीष्ट बेलैमा बुझ्न सकिएन भने त्यसले कालान्तरमा कस्तो भयावह परिणाम निम्त्याउँछ भन्ने उदाहरण हिट्लर स्वयं नै हुन् ।
वलिभर क्रमवेलको अधिनायकवाद र बेलायतको पहिलो गणतन्त्रको पतन
वलिभर क्रमवेलको बारेमा यस अघिको आलेखमा विस्तृत चर्चा गरिसकिएको भएता पनि संक्षिप्त पुनरावृत्ति गर्दा सान्दर्भिक हुने हुँदा केही अंश प्रस्तुत गरिएको छ । वलिभर क्रमवेल १७ औँ सताब्दिका एक राजतन्त्र विरोधी नेताको रुपमा आफूलाई उभ्याउँदै बेलायतको पहिलो गणतन्त्रात्मक शासक बन्न सफल भएका थिए । सांसदबाट निर्वाचित भएता पनि आफू शक्तिमा आएपछि उनमा उन्माद बढ्दै गयो र जन आकाङ्क्षा तथा संसदीय परिपाटी लगायत कानुन भन्दा माथि आफूलाई उभ्याउँदै उनी निरंकुशतातर्फ उन्मुख भए । फलस्वरूप पुनः उनको अवसान पश्चात् राजतन्त्र पुनर्स्थापित भयो । सन् १६४९ मा उनको संसदीय तानासाहीले उनले नै उन्मुलन गरेको राजशाही बेलायतमा पुनः जीवित भयो र बेलायतको पहिलो गणतन्त्र टिक्न सकेन । क्रमवेल १६२८ मा पहिलो पटक संसद्मा निर्वाचित भएका थिए । १६२९ मा भङ्ग भएको संसद् १६४० मा चार्ल्स प्रथमले पुनः स्थापना गरेपछि क्रमवेल पुनः सांसद भएका थिए । कमजोर उपनिवेश र सांसदप्रति वफादार सैनिकहरूको अधिकतम सङ्ख्याका कारण राजा कमजोर हुँदै जाँदा शैन्य नेतृत्वमा क्रमवलेलले बलियो पकड जमाए ।
१६४४ मा क्रमवेलले आफूलाई प्रजातान्त्रिक नेताबाट सैनिक नेताको रुपमा रुपान्तरण सैनिक विद्रोह सुरु गराए । संसद् समेत आफ्नो पकडमा भएको मौका छोपी उनले १६४८ निर्णायक लडाई लडी गिरफ्तार गरिएका राजा चार्ल्स प्रथमलाई सांसदबाट पास गरेर १६४९ मा टाउको काटेर मृत्युदण्ड दिएका थिए । प्रजातान्त्रिक शक्ति संसद्लाई प्रयोग गर्दै राज शक्ति हत्याएर तानासाह भएका क्रमवेलले साही समर्थकहरू हजारौँ सेना तथा आम नागरिकहरूको कत्लेआम गरी १६५० मा पूर्ण राज्यशक्ति हत्याए । आफू अनुकूल पटक पटक संसद् भङ्ग गर्ने तथा स्थापना गर्ने खेल खेल्दै क्रमवेलले १६५७ मा पुनः आफ्नो नियन्त्रित संसद्लाई राजाको रुपमा राजाको पर्यायवाची लर्ड प्रोजेक्टरको रुपमा स्थापित भएका थिए । १६५८ मा क्रमवेल किड्नीको रोगबाट निधन भए पश्चात् २ वर्ष उनकै छोरा रिकर्डलाई शासन सुम्पिए पनि चल्न सकेन र १९६० मा निर्वासनमा रहेका चार्ल्स द्धित्तियलाई पुनः राजा बनाइयो । संसदीय नेताबाट संसदीय तानासाहको रुपमा मृत्युपर्यन्त काम गरेका वलिभर क्रमवेललाई चिहानमा पुगेपछि पनि छाडिएन । बेलायती जनताले १६६१ मा क्रमवेलको हड्डीलाई चिहानबाट फिर्ता निकालेर फाँसी दिए र २० वर्ष सम्म उसको शिरलाई सार्वजनिक प्रदर्शनीमा राखे ।
यसरी राजतन्त्रलाई अन्त्य गर्दै प्रजातान्त्रिक बेलायत निर्माण गर्ने अगुवाइ बोकेका वलिभर क्रमवेलले आफूलाई संसदीय तानासाहमा रुपान्तरण गर्दाको परिणाम बेलायतमा पहिलो गणतन्त्र लामो समय टिक्न सकेन । उनलाई साथ दिने हजारौँ प्रजातान्त्रिक योद्धाहरूको जीवन निरर्थक मात्र भएन, बेलायत सदाका लागी शाही सर्वोच्चतातर्फ स्थापित भयो । जुन अझसम्म चल्दै छ ।
माओ त्सेतुङको चिनिया अधिनायकवाद र असफल सांस्कृतिक क्रान्ति
कम्युनिस्ट अधिनायकवाद चीनमा सफल र लोकप्रिय मानिन्छ । अधिनायकवाद सफल बनाउनको लागी आवश्यक पर्ने सबै किसिमका तत्त्वहरूलाई सावधानीपूर्वक अवलम्बन गरिएकैले यतिका लामो समयसम्म एउटै पार्टी सत्तामा रहन सफल भएको हो । अन्य गैर कम्युनिस्ट पार्टीको अस्तित्वलाई अस्वीकार गरे पनि अन्य कम्युनिस्ट पार्टीको विद्यमानता र पार्टीभित्रको आन्तरिक जनवादले प्रश्रय पाउने तथा पार्टी निर्णय सर्वोच्च स्थानमा रहने भएकोले नै चीनमा कम्युनिस्ट शासन आर्थिक उन्नतिसँगै सफलतापूर्वक अगाडी बढिरहेको छ ।
लगभग एक दशक चलेको चीनको संस्कृति क्रान्तिले विश्वको कम्युनिस्ट आन्दोलनलाई नै प्रतिरक्षात्मक बनाएको थियो र अझै छ । १९५९ को अनिकाल पश्चात् असफल भएको समाजवादी मोडेलको सहकारी करणबाट उब्जिएको अन्तरबिरोधले थुप्रौ क्रान्तिकारी नेताहरू अपदस्त हुनुका साथै जीवन समेत उत्सर्ग गर्नुप्रर्यो । माओको व्यक्तित्वको आडमा सीमित व्यक्तिहरूले चलाएको सांस्कृतिक क्रान्तिको चपेटामा पुरै चीनको जनजीवन अस्तव्यस्त भएको, पार्टी सङ्गठनहरू तानासाही र अलोकतान्त्रिक भएको, सङ्गठन पद्धतिबाट पार्टी अलग भएको थियो । १९६६ मा माओको अवसान पश्चात् तानासाही समूह (ग्याङ अफ फोर) लाई पक्राउ गरी जेल हालियो चीनले पुनरागमन गर्न सफल भयो । पार्टी निर्णय र लोकतान्त्रीकरणलाई अवज्ञा गरी बहुमतको शासन बर्खिलाप गएको कारण नै चीनमा सांस्कृतिक क्रान्तिको त्रासदी सुरु भएको थियो । कम्युनिस्टहरू तानासाह हुन्छन् भन्ने एउटा उदाहरणको रुपमा अहिले पनि संसारका कम्युनिष्टहरुले सोही सांस्कृतिक क्रान्तिको परिघटनालाई लिने गरेका छन् । यद्यपि पछि चिनिया कम्युनिस्ट पार्टीले सांस्कृतिक क्रान्ति माओको जीवनकालको एउटा गल्ती थियो भनी आत्मालोचना समेत गरिसकेको छ ।
सम्पूर्ण कृषि व्यवस्थालाई सहकारीकरण गरी नौलो जनवादी क्रान्ति सम्पन्न गरी समाजवादतर्फ फड्को मार्दै गरेको तत्कालीन चिन आधुनिक औद्योगिक चीनको रुपमा स्थापित भई विश्व अर्थ व्यवस्थाको प्रमुख पात्रको उदाउँदै समृद्ध चिन बनाउन सफल कम्युनिस्ट पार्टी सोही एक घटनाको कारण हालसम्म पनि विश्वभर आलोचित छ । तसर्थ असफल अधिनायकवाद तथा तानासाहीको छाप कति दूरगामी हुन्छ भन्ने उदाहरण चीनको सांस्कृतिक क्रान्तिको प्रभावलाई हेर्न सकिन्छ ।
भारतका मोदी र अमेरिकाका ट्रम्प अधिनायकवाद
हिन्दु अभिनायकत्वको नारा दिँदै सँसदमा अभूतपूर्व बहुमत प्राप्त गर्ने भारका मोदी सरकारले अल्पसङ्ख्यक समुदायहरूमाथि गरेको बर्बर दमन जगजाहेर नै छ । जम्मु कश्मीरमा भएको जाति हत्या र मानवअधिकार हननको स्थिति अध्ययन गरेका जो कहिले पनि भारतमा अङ्ग्रेजले चलाएको दमन चक्र पश्चात् पहिलो संसदीय तानासाहको उदय भएको स्वीकार गर्दछन् ।
छिमेकीहरूसँग बिग्रँदै गएको सम्बन्ध, पाकिस्तान र चीनसँगको झन्डै युद्धको अवस्था, राजधानी दिल्ली लगायत विभिन्न प्राप्तमा राज्य स्तरमा भएको राजनीतिक असफलतासँगै मोदीको तानासाही अस्ताउँदो नै छ । खासगरी धार्मिक मनोविज्ञानमा चलेको राजनीति जनताको चेतना स्तर बुद्धिसँग असफल हुनेमा कुनै शङ्का छैन ।
रैथाने अमेरिकीहरूको राष्ट्रियताको भावनामाथि खेलबाड गर्दै आप्रवासनको विरोध गर्ने र खास गरी मेक्सिकोमा पर्खाल लगाई विदेशीहरूलाई अमेरिका आउनबाट रोक्ने नाराका साथ ट्रम्प सत्तामा आएका थिए । अन्ध राष्ट्रवादी अमेरिकीहरूको मन जित्ने उनले चिनसँग व्यापार युद्ध नै गरे भने रुससँग अझै सितयुद्धि जारी छ । आफ्नै देशभित्र कालाजातीहरुलाई दमन गरी चर्चा कमाएका ट्रम्पको अधिनायकवाद अन्ततः गत वर्ष कालाजीताका एक जना व्यक्तिलाई राज्यले हत्या गरेसँगै ओरालो लाग्न थालेको थियो, र त्यही घटना नै ट्रम्पको हारको मुख्य कारण बन्यो । हार स्विकार्न नसकेका ट्रम्प अन्ततः कुर्सी छाड्नु अघि राष्ट्रपति भवनमा हिंसा मच्चाउँदै चार जनाका ज्यान लिन सफल समेत भए । उनको अभिधनायकत्वको चाहनालाई असफल बनाउँदै अमेरिका पुनः पुरानो लिकमा फर्किसकेको छ ।
केपी ओलीको असफल अधिनायकत्व र तानासाही तर्फको 'आरोहण चेष्टा '
नेपालमा पनि अधिनायकवादको लामो परीक्षण भई असफल सावित भएको हुँदा त्यसलाई हाल छलफलको घेरा बाहिर राखिएको छ । केही हदसम्म सफल पञ्चायती अधिनायकत्वले नेपालको भौतिक विकासको प्रारूप नै तयार गरेको भएता त्यो लामो समय टिक्न सकेन । महेन्द्रको अवसान र वीरेन्द्रका सहयोगी पञ्चहरूको व्यक्तिगत आचरणका कारण पञ्चायती अभिनायकत्वको शीघ्र पतन भएको देखिन्छ । अधिनायकवादको दिगोपनाको लागी आवश्यक पर्ने तत्त्वहरूको राजा महेन्द्रको अवसानसँगै स्खलन हुँदै जानु नै पञ्चाचायती अधिनायकवादको पतनको कारण हो ।
पञ्चायतपछि नेपालमा अभिनायकत्वको सपना देख्ने व्यक्ति केपी ओली नै हुन् । नेपालमा हालको शासन व्यवस्था र सामाजिक संरचनामा उनको खासै योगदान रहेको छैन । तसर्थ पनि होला बेला बेला गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता माथि नै बन्देज लगाउने उद्देश्यका अभिव्यक्तिहरू आउने गरेका छन् । पार्टीको भित्रको आन्तरिक लोकतन्त्रको हत्या गर्दै अन्य प्रतिपक्षहरू समेतलाई निस्तेज गर्ने एकल व्यक्तिको शासन सञ्चालन गर्ने अभीष्ट केपी ओलीको देखिन्छ ।
अघिल्लो २ वर्ष नेपालमा केपी युग हाबी रह्यो । प्रत्येक विषय, राजनीतिक मुद्दा र परिघटनालाई आफू अनुकूल प्रयोग गर्दै राजनीतिक कार्डको रुपमा प्रयोग गर्न सफल केपी ओली दुई वर्ष नेपालको राजनीतिमा एकछत्र छाए । उनको विरोध गर्नेहरूले ठाउँको ठाउँ खप्की खानुपर्ने अवस्था समेत थियो । नेपालमा मात्र नभएर छिमेकी देशहरूमा समेत केपी ओलीको चर्चा चुलिन थालेको सत्य हो । पार्टीको आन्तरिक राजनीतिमा उनको विरोध नगन्य थियो र विरोध भइहाले पनि केही दिनमै मन्थर भई हाल्थे ।
राजावादीहरूसँग नजिक हुन राम जन्मभूमिको अस्त्र प्रहार भएको थियो भने भारत विरोधी भावना भएका सोझा नेपालीको ध्यान आकृष्ट गर्न लिम्पियाधुराको नक्सा काण्ड नै काफी थियो । विद्यार्थीहरुलाई पठन पाठनको लागी पाठ्य पुस्तक बाँड्ने काम प्रधानमन्त्रीको आदेशमा रोक्दै भारतको भक्ति गर्ने कार्य जनताबिच पुग्न सकेकै थिएन । पार्टी भित्र पूर्वमाओवादी खेमालाई ठिक लगाउन पूर्व एमालेको मनोवैज्ञानिक अस्त्र, माधव नेपाल पक्षलाई ठिक लगाउन कहिले बामदेव अस्त्र त कहिले प्रचण्डसँग सहमती, एका थरी माओवादी फोबिया भएकाहरूको ध्यान तान्न द्वन्द्वकालिन मुद्दाको उठान, अख्तियारको डन्डाको ज्ञानेन्द्र कालीन मोडेलको त्रास आदी विभिन्न रक्षा कवचका कारण केपी सुरक्षित थिए । भारतले विरोध गर्दा चीनको आवरणमा बस्ने र भारत बिरोधीहरुलाई तह लगाउन आन्तरिक रुपमा भारतसँग समेत सहकार्य गर्ने कार्य समेत चलिरहेको थियो ।
सांसद सदस्यहरू समेत केपीको राजीनामा वा सत्ता अवतरणको लागी हुने कुनै पनि गतिविधिमा सहभागी हुन इच्छुक देखिँदैन थिएँ । समग्रमा केपी ओली कुनै न कुनै ढङ्गले सांसदभित्र बहुमत नै रहिरहन्छ र उनलाई प्रधानमन्त्रीबाट हटाइहाल्ने मुडमा प्रचण्ड-माधव नेपाल समेत थिएनन् । उनीहरू केवल केपीले मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो कुरा सुनिउन् र नियुक्तिहरू गर्दा पार्टी नेताहरूको सुझाव र सहयोगको अवलम्बन गरुन् भन्नेसम्म अपेक्षा राख्दथे । केपी ओलीलाई सबै पदबाट हटाई शक्तिहीन गराउने आँट र बर्कत उनका विपक्षीहरूसँग छँदै थिएन । केपी ओलीमा हुर्कँदो संसदीय तानासाहीको मोहले आकार लिँदै थियो ।
एकाएक परिस्थिति परिवर्तन हुँदै आयो । केपी ओलीका समर्थकहरूको लम्पटपन, भ्रष्ट छवि, दम्भ र असहिष्णुता, दमनकारी स्वभाव, अन्ध समर्थन, व्यक्ति पुजाको अत्याधिक मोह, कमरेडी भावनाको अन्त्य, सामूहिक भावनाको अभाव समेतका कारणले केपी वलीको अधिनायकवादी हुने सपना चकनाचुर हुन थाल्यो । माथि उल्लेख गरिएको अधिनायकवादका आधारभूत तत्त्वहरूको अभावमा केपी ओलीको अधिनायकवादले पूर्ण रूप पाउन सकेन । संसारका चर्चित अधिनायकवादीहरू जे कारणले असफल भए, त्यो चरणमा नपुग्दै केपी ओली असफल हुने दिशातर्फ उन्मुख भए । नेपालका सफल संसदीय तानासाह हुने उनको सपना त्यतिखेर चकनाचुर भयो जब उनले आफ्नो पार्टीको दुई तिहाइ नजिक रहेको र पार्टीभित्र आफू बहुमतमा रहेको संसद् विघटन गरे ।
संसद्को विघटन नेपालको वर्तमान संविधान र राजनीतिक परिवेशबिच अकल्पनीय परिघटना थियो । निर्बाध काम गर्न चाहने सरकारका लागि यो सुवर्ण अवसर थियो । तर सांसदभित्रको आफ्नो शक्तिलाई दुरुपयोग गर्दै संसदीय तानासाही लाद्न अग्रसर भएकै कारण केपी ओली असन्तुलित हुँदै गए र संसद् भङ्ग भए पश्चात् त देश भरी चौतर्फी रुपमा उनको विरोध गर्न विशाल जनसमुदाय समेत सडकमा आउन थालिसकेका छन् । समग्रमा अब केपी ओलीको अधिनायकवाद र संसदीय तानासाही दुवैको अवतरण कसरी हुने भन्ने मात्र प्रतीक्षाको विषय हो । त्यो नटिक्ने र केपी युग समाप्तितिर लागेकोमा सायदै दुई मत होला । तर पनि अझै पनि अदालत र निर्वाचन आयोगबाट आफू अनुकूल निर्णय नआए सङ्कटकाल लगाउने, धर्म निरपेक्षताको विरोधमा जनमत सङ्ग्रह गराउने, सङ्घीयता खारेजीको लागि जनताको मत विभाजन गर्ने, मुलुकमा देखिएको धार्मिक राजनीतिलाई आफूतिर तान्ने, अख्तियारको दुरुपयोग गर्दै विपक्षी नेताहरूलाई जेल हाल्ने काम भने बाँकी नै छ । आफू समाप्त हुनु अघि एउटा तानासाहले गर्ने यी कार्यभार पनि केपी ओलीले सम्पन्न गरे भने अनौठो मान्न पर्दैन ।
अन्ततः माथि उल्लेख गरिएका माओका कम्युनिस्ट अधिनायकवाद, क्रमवलेको संसदीय अधिनायकवाद तथा संसद्बाटै उदाएका हिटलरको नश्लभेदी तानासाही संसारमा असफल भएको इतिहास हुँदा हुँदै पनि केपी ओलीलाई बोकेर कसैले नेपालमा धर्म, जाती, राष्ट्रियता, सङ्घीयता वा अन्य कुनै पनि नाममा अधिनायकवाद तथा संसदीय तानासाही स्थापना गर्न खोजेको छ भने त्यो दिवास्वप्न सिवाय केही हुन्न । अधिनायकवाद र संसदीय तानासाही लागु गर्न विश्वासको आधार नै गुमाए पछि अब त्यो अभीष्ट त्याग्नुको विकल्प छैन । पशुपति नाथमा गरिने भाकलले यी कुरा प्राप्त हुने भए सायद आम नेपालीलाई कामै नगरी संवृद्धि प्राप्त भइसक्थ्यो । मानिस आफूलाई कमजोर महसुस गर्न थालेपछि भगवानको शरणमा जान्छ भन्ने तथ्यलाई यसले चरितार्थ विगतमा समेत भएकै हो, नेपाली राजनीतिमा ।
असफल अधि नायकत्व पश्चात् पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरूलाई साथ लिई सेनाको सहयोगमा धार्मिक आवरणमा लामो तानासाही चलाउने आकाङ्क्षा केपी ओलीले साँच्चै लिएको हो भने केपी त यो माटोमा छोटो समयको मात्र पाहुना हुन्, केपीवादीहरूको भविष्य अन्धकारमय हुने निश्चित छ । देशलाई तानासाहीको गर्भबाट मुक्ति दिँदा केपीवादीहरूको नामो निसान मेटिनेमा कुनै शङ्का छैन ।