आकाशबाटै सिक्टा निरीक्षण

प्रधानमन्त्रीले स्थलगत निरीक्षण नगरी बेवास्ता गरेको स्थानीयको गुनासो

आकाशबाटै सिक्टा निरीक्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०४, २०७६


बाँके । सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मुल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थे । प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना सिक्टाको दुरवस्था आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा स्थानीयको थियो । 

प्रधानमन्त्री ओली मंगलबार बिहान काठमाडौंबाट नेपालगन्जसम्म जहाजबाट आउने र विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर चढेर सुर्खेतस्थित भेरी–बबई डाइभर्सनको ‘ब्रेक थु्र’ गरिसकेपछि त्यहाँबाट सीधै बाँकेको शम्शेरगन्जमा ओलिएर सिक्टाको पश्चिम मूल नहरको प्रत्यक्ष अवलोकन गर्ने कार्यतालिका थियो । प्रधानमन्त्ती ओली सिक्टा निरीक्षणमा आउने भएपछि स्थानीय वासिन्दाले निकै चासो राखेका थिए । मौका पाएका प्रधानमन्त्रीसँग प्रत्यक्ष साक्षात्कार गर्नेसमेत स्थानीयको आशा थियो । 

प्रधानमन्त्रीका सुरक्षाका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सिक्टा नहर क्षेत्रमा तैनाथ थिए । श्री मेहर गणले हेलिप्याड रङरोगन गरी चारैतिर सेनालाई खटाएको थियो । पूर्वनिर्धारित कार्यक्रमअन्ुसार प्रधानमन्त्री ओली दिउँसो १ बजेतिर सोही हेलिप्डामा ओर्लिएर सिक्टाको निरीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । करिब २ बजेतिर प्रधानमन्त्री सवार उक्त हेलिकोप्टर आकाशमा त देखियो । त्यो हेलिकोप्टर आकाशबाटै एक फन्को मारेर नेपालगन्ज फर्कियो । त्यहाँबाट नेपालगन्ज पुगी उनी पूर्वराजा ज्ञानेन्द्रले सञ्चालन गरेको सोल्टी होटलको कार्यक्रममा सहभागी भए । हालै पाँचतारे होटलको मान्यता पाएको सोल्टीलाई प्रधानमन्त्ती ओलीले आफ्नै हातबाट प्रमाणपत्र हस्तान्तरण गरे । प्रधानमन्त्री आकाशबाटै नेपालगन्ज फर्केपछि शमशेरगन्जमा उपस्थित स्थानीय बासिन्दा र सुरक्षाकर्मी अक्कमक्क परेको समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेख्नुभएको छ ।