निलमकुमार ओझा | दृष्टिकोण | माघ २६, २०७७
यो देशले धेरै आन्दोलन देखेको छ । एकीकरणताकाका युद्धदेखि लिएर राणा शासनको उदयका लागि गरिएको नरसंहार जस्ता नृशंस हत्याकाण्डको साक्षी बसिसकेको छ यो मुलुक । २००७ सालको राजनीतिक परिवर्तनका लागि भएको संघर्ष, २०४६ सालको आन्दोलन, रक्तपातपूर्ण लामो माओवादी विद्रोह, २०६२/०६३ को आन्दोलन आदि परिवर्तनका नाउँमा दशौँ हजारको ज्यान जाने गरी र लाखौँ निर्दोष नागरिक समेत अंगभंग हुने गरी भएका द्वन्द्वहरूबाट देश र जनतालाई के नयाँ कुरा प्राप्ति भयो ? के कसरी राष्ट्रलाई फाइदा पुग्यो ? कि मुठ्ठीभर व्यक्तिले अफ्नो स्वार्थ पूर्ति हेतु पद र पैसासम्म पुग्ने सिँढी मात्र बने ती बलिदानयुक्त आन्दोलनहरू ? के आन्दोलन भनेको कुनै खुराफाती नेताका झुन्डको कुत्षित मनोकांक्षा पूरा गर्नका निमित्त प्रयुक्त साधन मात्र हो त ? भन्ने कुरा अब जनताले खोज्न थालेका छन् ।
२०४६ सालको आन्दोलनले ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य त भयो तर नयाँ बहुदलीय व्यवस्थाले सही दिशा लिई आफूलाई मजबुत बनाउन नसक्दा लगत्तै विभिन्न दानवीय चलखेलहरूको जायजन्म हुन गयो । त्यो व्यवस्था अव्यवस्थामा परिणत हुन पुग्याे । आन्तरिक कलहका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा आफ्नै पार्टीको प्रष्ट बहुमतको सरकार रहेको अवस्थामा मध्यावधि चुनावको घोषणा गरी अल्पायुमै व्यवस्थापिका संसदको घाँटी निमोठे । पछिल्लो पुस्ताका लागि त्यो दुर्भाग्यपूर्ण नजिर मात्र बनेन, त्यही प्रजातान्त्रिक जस्तै देखिने कुकृत्य नै देशको दुःखद् भविष्यको मूल कारक बन्न पुग्यो ।
त्यो घटनाको लगत्तै छिद्र खोजेर बसेका अवसरवादीहरू आआफ्नो स्वार्थ पूर्ति हेतु अराजकता मच्चाउन थालिहाले । माओवादका नाउँमा एकथरी हतियारसहित जंगल पस्यो भने मूल धारका राजनीतिक दलहरू पनि सकेसम्म आफ्नै घरमा आगो सल्काएर ताप्न लालायित भए ।
त्यसबेलाका मुख्य दलहरू नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफ्नो छँदाखाँदाको घर भत्काएर नेतृत्व कलामा अक्षमताको परिचय त दिएका थिए, तथापि, नेपाली जनताले किन तिनै अक्षम नेताहरूलाई नै सधैँ अगाडि लगाए ? किन तिनीहरूप्रति नै हुरुक्क भए, मोहित भए ? दैवले नै जानून् ।
एकाघर परिवारका सदस्यहरू, आफन्त, इष्टमित्रहरूबीचको सम्बन्ध आफू आवद्ध दलको भए मित्र, अन्यथा शत्रुतापूर्ण रूपमा विकसित हुन पुगे । मानिस–मानिसबीचको सद्भाव वैमनस्यतायुक्त शीतयुद्धमा परिणत हुन पुग्यो । त्यसैबेलादेखि बहुदलीय पद्धतिको दुर्दशाका दिनहरू सुरु भइसकेका थिए ।
विकास निर्माण र सुशासन कुनै पनि दलको एजेन्डामा परेन । पद र कुर्सीका लागि आपसी कलह एवं खुराफाती प्रवृत्तिले सीमा नाघिसकेको थियो । माओवादीको युद्ध कालमा असंख्य निर्दोषको हत्या मात्र भएन, राष्ट्रको उन्नत भविष्यको सपनामाथि खुँडा प्रहार भयो । मानवअधिकारको सातो लिइयो । हजारौँ व्यक्तिहरू कहिल्यै नभेटिने गरी बेपत्ता पारिए । ती दिन र घटनाहरूका साक्षी र पीडितहरू आज पनि त्यो लामो त्रासद र अराजक समयलाई स्मरण गरेर भक्कानिन्छन् ।
तर, सबै व्यर्थ भयो । सम्पूर्ण आशाका कोपिलाहरूको असिना–पानीसहितको हुरी, बतासले सर्वनास गरिदियो । जनता बल्ल मनैदेखि घोत्लिएका छन्, ‘देशको हित कसरी होला ? शान्ति र स्थिरताका उपाय के होला ?’
अस्थिरता र अराजकतासँगै चल्दै, खेल्दै जाँदा माओवादीसमेत विदेशी भूमिमा, खै कसको पहलमा, कसरी हो, शान्ति प्रक्रियामा आयो र अनेक दलहरू आवद्ध भई तत्कालीन राजा ज्ञानेन्द्रद्वारा विघटित संसद पुनर्स्थापनार्थ भएको दोस्रो जनआन्दोलनमा सहभागी भए । शान्तिको बिहानीमा विकासको फूल फुलाउने अवसर आएको महसुस गरी अधिकांश नेपाली जनताले निसंकोच समर्थन गरे, साथ दिए, कतिको त बलिदानी नै भयो ।
राजा लखेटिए । गणतन्त्र स्थापित भो । लामो प्रसव पीडापश्चात येनकेन संविधान जन्मियो । खासै जनअपेक्षै नभएका विषयहरू–धर्मनिरपेक्षता, संघीयता तथा गणतन्त्रसमेत समेटिएको संविधानले आफ्नो वास्तविक भावनालाई संबोधित नगरेको भए तापनि राजनीतिक रूपमा हुने आन्तरिक र बाह्य कलहबाट मुक्ति प्राप्त हुने, राजनीतिक स्थिरता हुने र फलस्वरूप देश अग्रगमनमा लम्किन सक्ने आशाले गर्दा उक्त संविधानमा निहित, उल्लेखित अन्तर्वस्तुप्रति जनताले खासै ध्यानै दिएनन् । बरु वामपन्थीहरूको एकतालाई हौस्याउँदै भारी बहुमतको वृष्टि गरिदिए जनले– ‘निसंकोच शासन गरेस्, नयाँ नेपालको निर्माण गरेस्’ भन्दै ।
तर, सबै व्यर्थ भयो । सम्पूर्ण आशाका कोपिलाहरूको असिना–पानीसहितको हुरी, बतासले सर्वनास गरिदियो । जनता बल्ल मनैदेखि घोत्लिएका छन्, ‘देशको हित कसरी होला ? शान्ति र स्थिरताका उपाय के होला ?’
हिजो चिया पसलमा एउटा अधबैँसे आफ्नो साथीसँग गफिँदै गरेको यो स्तम्भकारले सुन्यो, ‘विभिन्न वहानामा गरिने आन्दोलनलाई भर्याङ बनाएर कोही प्रधानमन्त्री भए, कोही मन्त्री, कोही के कोही के भए । घर, गाडी, सुख, सयल मोजमस्तीका सम्पूर्ण साधन जोडे । आन्दोलनमा बलिदान दिने, अङ्गभङ्ग हुने, तातो गोलीको रत्तिभर पर्वाह नगरी अग्रपंक्तिमा खडा हुने देशभक्तहरूको कसैले खोजी गरेनन् । धेरै आन्दोलन देखियो, उस्तै भयो । भयो अब, पुग्यो । कुनै कसैको आन्दोलनमा सहभागी भएर बेबकुफ हुनु छैन मलाई । अब कुनै व्यक्ति वा गुटको पछि लागिँदैन ।’
‘चुप लागेर बसे झन् मनपरी गर्लान् नि ? खबर्दारी कसले गर्ने ?’, उसको साथीले प्रश्न तेर्स्यायो ।
जनता पछि लाग्न छोडेपछि उनीहरूको हैसियत समाप्त हुने । शासन कुनै दल वा व्यक्तिले गर्ने होइन, कानुन र विधिद्वारा सञ्चालन हुने उसको तर्क थियो । नेतामुखी परम्पराले तनाव र कलहको सिर्जना हुने हुँदा देश उँभो लाग्ने रहेनछ भन्ने बोध भएको तर्क गर्दै थियो ऊ ।
‘अब कोही आन्दोलन गर्न कसैलाई उक्साउँछ भने, सडकमा मान्छे भेला गरेर उफ्रिन्छ भने, त्यो व्यक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्छ । पदमा बसेकाले पदीय दायित्व निर्वाह गरेन भने त्यसलाई जात पतीत गराएर समाजबाट धपाउनुपर्छ’, निकै आवेशमा थियो युवक । विधि र कानुनी शासनको स्थापनार्थ कोही अग्रसर भए परीक्षणपश्चात् उसलाई साथ दिनुपर्ने बतायो उसले । केही दिनअघि भएका सत्तारुढ नेकपाका दुवै खेमाका ‘शक्ति प्रदर्शन’बारे चर्चा भयो उनीहरूबीच । म चुपचाप सुनिरहेँ ।
‘२३ गतेको सभा, २२ गतेको बन्द र त्यसअघिका सभाहरूमा व्यापक जनसहभागिता थियो त ! जनतामा अझै नेतृत्वप्रतिको विश्वास रहेछ, होइन ?’
‘त्यो जनताका आँखामा छारो हाल्न राज्यकोष र कालो धनको प्रयोग गरेर कुना काप्चाबाट रातारात भाडामा ल्याइएका, अत्यन्त कम मात्र राजनीति बुझेका, आर्थिक–सामाजिक रूपमा पिछडिएका मानिसहरूको भीड थियो । विचार गर त, काठमाडौंका सामान्य गल्लीमा दशौँ हजार मानिस बस्छन् । करोडौँ रुपैयाँ खर्च गरेर दूरदराजबाट ओसार्नु भन्दा उनीहरूमाथि जनविश्वास भए, उनीहरू साँच्चै लायक भए, देशप्रेमले ओतप्रोत भएका कार्यक्रम भए, एक–दुई लाख काठमाडौं निवासी सुसेलेका भरमा जम्मा हुन्थे । भतेर खान दिने लालचमा भेला गरेका अबोध नागरिकहरूको भीड देखाएर इज्जत ढाक्नुपर्ने अवस्था आउनु भनेको निभ्ने बेलाको बत्ती जस्तै हो । बुझ्ने मान्छे त्यस्ता भ्रमको पछि लाग्दैन, बुझ्यौ ?’
यो पंक्तिकारले अब नौटंकीका झुन्ड र तिनका नेताका दिन गएछन्, जनता सचेत भएछन्, दुई–चार वाक्य घोकेर माइक फुट्ने गरी दुई–चार भासण ठोकेकै भरमा, दुई–चार टाउका गिँडेर झ्यालखानामा दुई–चार साल सुतेकै आधारमा, रक्तपातपूर्ण आतंकको माध्यमबाट त्रास थोपरेकै कारणले सत्तामा पुग्ने र लिसो जसरी सत्ता र शक्तिमै टाँसिइरहन खोज्ने सिद्धान्त, राष्ट्रियता, मानवता, इमानदारीविहीन नेतृत्वको उल्टो गन्ती सुरु भइसकेको अनुभूत गर्यो ।
हो, हिजोसम्म जनतामा भ्रम थियो– ‘देश नेताले चलाउने हो’ भन्थे । आज अधिकांशलाई ज्ञात भइसकेछ, ‘देश चलाउने इन्जिन विधि र पद्धति हो, इन्धन विधि र पद्धतिप्रदत्त सीमित अधिकार हो, र चालक विधि र पद्धतिको अक्षरशः अनुसरण गर्दै राष्ट्ररूपी मोटर चलाउन अनुमतिपत्र प्राप्त कुशल नेतृत्व हो’ भन्ने कुरा ।
मोटरको इन्जिन ठिक छ भने र इन्जिनमा सही मात्रामा इन्धनको प्रवाह हुन्छ भने जो कोही कुशल एवं अनुमतिपत्र प्राप्त चालकले गन्तव्यमा पुर्याउन सक्छ । अझ चाउरी परेका, धमिलो देख्न थालेका थोते, फुलेका, दर्जनमाथि प्रधानमन्त्रीको परीक्षा दिँदा पनि अनुत्तीर्ण भएकाले भन्दा उमेरका, हट्टाकट्टा चालकले धेरै राम्रो, विश्वासिलो गरी मोटर चलाउन सक्छन् । अब यो मोटरको इन्जिन या अरू केके खराब छ, मर्मत गरेर, छानेर कुशल तन्नेरीलाई जिम्मा लगाउनुपर्छ र पुरानालाई यथासक्य खुर्सानीबारीको झार उखेल्न वा बङ्गुर पालनको रेखदेख गर्ने सम्मानजनक वातावरण बनाइदिनुपर्छ ।