बेल्लौरमा लोकसभा निर्वाचन रद्द

बेल्लौरमा लोकसभा निर्वाचन रद्द
भारतीय राष्ट्रपति रामनाथ कोविन्द । फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०४, २०७६

नयाँ दिल्ली । निर्वाचन आयोगले गरेको सिफारिसलाई स्वीकृत गर्दै राष्ट्रपति रामनाथ कोविन्दले तमिलनाडु राज्यको बेल्लौरको लोकसभा निर्वाचन रद्द गरेका छन् । 

तमिलनाडुका सबै ३९ सिटका लागि अप्रिल १८ मा मतदान गर्ने कार्यक्रम थियो । तर, अब बेल्लौरमा मतदान हुने छैन । बाँकी ३८ सिटका लागि भने घोषित समयमै मतदान हुँदैछ । 

आयकर विभागले बेल्लौर क्षेत्रका प्रत्याशी कातिर आनन्द र उनका समर्थकको घरबाट करोडौं रूपैयाँ बरामद गरेपछि निर्वाचन आयोगले त्यस क्षेत्रमा चुनाव रद्द गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

कातिर डिएमके–कांग्रेस गठबन्धनका उम्मेदवार हुन् । यस राज्यका डिएमके–कांग्रेस मोर्चाले एआइडिएमके–भाजपा गठबन्धनसँग प्रतिष्पर्धा गरिरहेको छ । 

तमिलनाडुका मुख्य चुनाव अधिकारीले अहिलेसम्म १३५.४२ करोड रूपैयाँ बरामद गरिएको बताएका छन् ।