कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्म

कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्म

प्रा.डा. सोमप्रसाद खतिवडा  |  पर्यटन  |  बैशाख ०४, २०७६


त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस, विराटनगरको  संस्कृति विभाग प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडा तयार पार्नु भएको कोशीप्रस्रवणक्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू विषयक आलेखको पहिलो खण्ड विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल शीर्षकको आलेख प्रकाशन भइसकेको छ । त्यही आलेखको दोस्रो भाग कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल:  पाथीभरादेखि अर्जुनधारासम्म प्रकाशन गरिएको छ । यसपछि कोटीहोमदेखि राधाकृष्ण रथजात्रासम्म, लक्ष्मीनारायणदेखि बूढासुब्बासम्म, पञ्चकन्यादेखि हलेसीमहादेवसम्म, वराहपोखरीदेखि हतुवागढीसम्म क्रमशः प्रकाशन गरिनेछ । 

कोशीप्रस्रवणक्षेत्रका विभिन्न भागमा अनेक प्रकारका धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेका छन् । ती स्थानहरू निकै पुराना, धार्मिक रूपमा धेरै महत्त्वपूर्ण र प्रख्यात पनि छन् । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रहरू विविध प्रकारका विशेषताले युक्त छन् । कुनै ऐतिहासिक रूपमा निकै पुराना छन् भने अन्य ऐतिहासिक रूपमा पुराना नभए पनि सांस्कृतिक दृष्टिले निकै प्रख्यात पनि छन् । यहाँका कतिपय पर्यटकीय स्थलहरू धार्मिक तथा सांस्कृतिक महत्त्वका छन् भने अन्य कतिपय प्राकृतिक रूपमा सुन्दर तथा प्राकृतिक तथा जैविक विविधतायुक्त पनि छन् । यहाँ भने धार्मिक रूपमा महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरूको मात्र अध्ययन गरिएको छ । यस क्षेत्रका त्यस्ता प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरू निम्नानुसारका छन् । 

पाथीभरादेवी 

पाथीभरा देवी स्थान ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजारदेखि करिब १७ किलोमिटर उत्तरपूर्वमा पर्दछ । ताप्लेजुङ बजारदेखि ५ किमी उत्तरमा सुकेटार र त्यहाँदेखि देउराली र भालुगौँडा हुँदै ७ किलोमिटर उत्तरतर्फ जाँदा तल्लो फेदी नामक बस्तीमा पुग्न सकिन्छ । त्यहाँबाट करिब ५ किलोमिटर उकालो बाटो चढेपछि पाथीभरा देवीस्थानमा पुगिन्छ । पाथीभरादेवीको स्थान समुद्र सतहदेखि ३७९४ मिटर उचाइमा अवस्थित छ । पाथीमा अन्न भरिएजस्तो देखिने एउटा डाँडाको टुप्पोमा रहेकाले यहाँ रहेकी देवीलाई पाथीभरा भनिएको हो । पाथीभरादेवीको उत्पत्तिसम्बन्धी एउटा किंवदन्ती अनुसार परापूर्व कालमा केही मानिसहरू त्यस भेगमा भेडा चराउने र गोठ राख्ने गर्दा रहेछन् । त्यसै बेला गोठका भेडाहरू एकाएक हराउने गरेकाले हराएका भेडा पाउनका लागि तिनीहरूले स्थानीय पाथीभरा देवीको स्तुति गरी पशु बलि दिने भाकल गरेछन् । त्यसपछि हराएका भेडाहरू भेटिन थालेकाले गोठालाहरूले नै पाथीभरादेवीको नियमित रूपमा पूजाआजा गर्न लागेछन् । यिनलाई भक्तहरूले चिताएको कुरा पु¥याउने देवीका रूपमा लिने गर्दछन् र बोका, हाँस, परेवा र कुखुराको बलि दिएर यिनको पूजाआजा गर्ने गर्दछन् । पाथीभराको प्रतिमा खुला चौरमा राखिएको छ, जहाँ मन्दिर भने बनाइएको छैन । देवीको पृथ्वी नै मन्दिर र आकासनै छानो हुने मान्यतामा यिनको मन्दिर नबनाइएको हो । चिसो डाँडामाथि रहेको पाथीभरा देवी स्थानमा सालैभर मानिसहरूको निकै ठुलो भीड लाग्ने गरेको छ । तर पनि असोज, कार्तिक र मंशिर तथा फागुन, चैत्र र वैशाख महिना पाथीभरादेवीको भ्रमणमा जाने मुख्य महिना मानिन्छन् । हिउँदको समयमा हिउँ पर्ने तथा निकै चिसो हुने गर्दा भने असार साउनतिर पनि वर्षाका कारण पाथीभरा देवीको भ्रमणमा जान त्यति उपयुक्त मानिँदैन । तर पनि मानिसहरू यस भेगमा सालैभर भ्रमण गर्ने गर्दछन् ।  

कन्चन्जंघा संरक्षण क्षेत्रमा जाने मार्गमा पर्ने हुनाले पनि पाथीभरा भेगको अझ धेरै महत्त्व रहेको छ । यस भेगमा पश्चिमा पर्यटकहरू पनि प्रशस्तै आउने गरेका छन् । यसका साथमा यस स्थानप्रति भारतीय पर्यटकहरूलाई ज्यादा आकर्षण दिन सकिन्छ । सुन्दर प्राकृतिक वनस्पति र त्यस भेगका जीवजन्तुको अवलोकन गर्दै पाथीभरा स्थानको भ्रमण गर्न सकिन्छ । पाथीभराबाट देखिने हिमाली दृश्यवाली पनि निकै रमणीय हुने गर्दछ । पुरानो पाथीभरादेवीको थान भने हालको देवीनाथभन्दा केही तल भिरमा रहेको मानिन्छ । 

चण्डेश्वर धाम, सिद्ध डाँडा

ताप्लेजुङको फुङ्लिंग बजार नजिकै हांगदेवामा सिद्ध डाँडा भन्ने एक पवित्र स्थान छ, जहाँ विभिन्न देवीदेवताका मन्दिरहरू स्थापना गरिएका छन् । एउटा सुन्दर पार्क र धार्मिक स्थलका रूपमा विकास गर्न लागिएको यो स्थानलाई विभिन्न देवीदेवता बसोबास गर्ने स्थानका रूपमा सिद्ध डाँडा भनिएको हो । यस स्थानमा जलेश्वर, नागेश्वर र चण्डेश्वरका साथमा चण्डीकादेवी, सरस्वती र पाथीभरादेवीका मन्दिर, थान र प्रतिमाहरू छन् । यहाँको एउटा गुफामा काल भैरव, नागिनी र बूढीबजूको पनि पूजाआजा हुने गरेको छ । यस स्थानमा हिन्दु देवीदेवताका मन्दिरहरूका साथमा महाबौद्ध ठिसुङ्गुम्बा पनि निर्माण गरिएको छ । यसलाई तिब्बतको साम्येगुम्बाको प्रतिरूप भन्ने गरिन्छ । सिद्ध डाँडा या चण्डेश्वर धाम एउटा पार्कका रूपमा सुन्दर छ भने यसमा धार्मिक समन्वयको व्यवस्थापन पनि गरिएको पाइन्छ । यसले ताप्लेजुङ बजारको शोभामा अभिवृद्धि गरेको देखिन्छ । 

डिकीछोईलिंग गुम्बा, वलांगचुंगगोला

वलांगचुंग गोला पूर्वी नेपालको नेपाल तिब्बत व्यापार गर्ने पुरानो नाका हो । अघि पूर्वी नेपालबाट तिब्बतसँगको धेरैजसो व्यापार यसै नाकाबाट हुने गर्दथ्यो । यो स्थान ताप्लेजुङको उत्तरी भागमा पर्दछ । त्यहाँ एउटा झन्डै ६ सय वर्ष पुरानो गुम्बा छ, जसलाई डिकीछोईलिंग गुम्बा भनिन्छ । यस भेगमा लामा बौद्ध धर्म मान्ने वालुंग समुदायको बसोबास रहेकाले यस स्थानलाई वलांगचुंगगोला भनिएको हो । डिकीछोइलिंग गुम्बा यहाँका वलांग या वालुंग समुदायका मानिसहरूले निर्माण गराएका हुन् । बौद्ध शिक्षा दिने तथा लामाहरूसमेत बसोबास गर्ने उक्त गुम्बामा अनेक प्रकारका धार्मिक ग्रन्थहरू सङ्ग्रह गरिएका छन् । यहाँ लामा बौद्ध धर्मको शिक्षा लिनका लागि तिब्बततिरबाट पनि शिक्षार्थीहरू आउने गरेका छन् । तसर्थ यसलाई पूर्वी नेपालको निकै पुरानो गुम्बा मान्न सकिन्छ । यहाँ अखण्ड बत्ती, चेरेसे च्याउ र बुद्धका मूर्तीहरू रहेका छन् । गुम्बामा नियमित रूपमा बत्ती बल्ने गर्दछ । स्थानीय मानिसहरूले डिकीछोइलिंग गुम्बालाई निकै राम्रो सजावट गरेका छन् । 

वलांगचुंगगोलामा तिब्बती मूलका वलांग मानिसहरू बसेका छन्, जसको मुख्य पेसा पेसा अघि व्यापार थियो । आज आएर भने यातायातको विकासका कारण यताको व्यापार सुकेर गयो र यताका मानिसहरू अन्यत्र बसाइँ सरेर गए । अघि पद्म सम्भव यस भेगमा आएको, यहाँका गुफामा ध्यान गरेको तथा पवित्र ग्रन्थहरू लुकाएर राखेको विश्वास गरिन्छ । पद्म सम्भव सिक्किमतिर जाँदा पनि यही गल्छीबाट आएका थिए भन्ने जनविश्वास छ । ताप्लेजुङको हांगदेवाबाट मिटलुंग, सिवा, हिरूवा, लुंगथुंग र जंगिम हुँदै वलांगचुंगगोलासम्म पुग्न सकिन्छ । ताप्लेजुङदेखि पैदलै जानुपर्ने वलांगचुंगगोला सुन्दर हिमाली बस्ती हो । यस भेगमा अन्य गुम्बाका साथमा सुन्दर हिमाली बस्ती  दृश्यावलोकन गर्न सकिन्छ । लामा बौद्ध धर्मको पुरानो स्थलका रूपमा रहेको वलांगुचुंग गोलातर्फ सडक यातायातको विकास भई रहेको छ । यसबाट यहाँको पुरानो गुम्बा तथा धार्मिक महत्त्व अझ प्रचारित हुने देखिन्छ । 

तिम्बुङ्पोखरी

तिम्बुङ्पोखरी ताप्लेजुङ जिल्लाको पश्चिमी भाग नेपाल भारत सिमानामा नै पर्दछ । कन्चन्जंघा आरक्षण क्षेत्रदेखि दक्षिणतिर रहेको यो पोखरी कालिखोला गाउँमा पर्दछ । लिम्बू भाषामा तिम्बुङ्को अर्थ टिलपिल भन्ने हुन्छ । तसर्थ टिलपिल पानी भएको पोखरीका रूपमा यसलाई तिम्बुङ्पोखरी भनिएको मानिन्छ । करिब ४२०० मिटरको उचाइमा रहेको यो पोखरी छेउछाउमा अन्य ससाना थुप्रै पोखरीहरू पनि छन् । सरस्वती, हनुमान, सूर्य, दूध, गणेश र हाँडी पोखरी यस वरपरका अन्य पोखरीहरू हुन् । यस पोखरीलाई देवीका रूपमा लिने चलन छ । तसर्थ यस स्थानमा नागपन्चमीका अवसरमा मेला लाग्ने गरेको छ । यहाँ नेपाल र भारततिरका पनि तीर्थयात्री हरू पुग्ने गरेका छन् । यस पोखरीमा पानी भरिएको समयमा यस भेगमा सह काल आउने मान्यता राखिन्छ । फुङ्लिङ्देखि सुकेटार, लालिखर्क, काँडेभन्ज्यांग र सुरूमखिम हुँदै पैदल यात्रा गरेर तिम्बूङ पोखरी पुग्न सकिन्छ । भारतको सिक्किमतिरबाट पनि यस स्थानमा जान सकिन्छ । 

फुङ्फुङे झरना

फुङफुङे झरना ताप्लेजुङको सावाँ गाउँमा पर्दछ । यो झरनाको उचाइ करिब ३०० मिटर छ । यो झरनाको पानी फुङफुङ गर्दै झर्ने हुँदा यसलाई फुङफुङे झरना भनिएको हो । यस झरनाको पानी मेवा खोलामा झर्दछ । झरनाको फेदमा फुङफुङदेवीको पूजाआजा गर्ने चलन छ । यसरी यो झरना प्राकृतिक रूपमा सुन्दर मात्र नभएर सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।  यो झरनासम्म हान्द्रुङ्ग, खोक्लिङ्ग, लिवाङ् र सावा गाविस हुँदै जानु पर्दछ । यो झरना निकै आकर्षक छ । फुङफुङदेवीको रूपमा यिनलाई पनि पूजाआजा गरिने हुँदा यसको धार्मिक र सांस्कृतिक महत्त्व बढेको हो । 

जोर पोखरी    

प्रसिद्ध धार्मिक स्थलका रूपमा रहेको जोर पोखरी पाँचथरको सुभाङ र पञ्चमी गाउँको बिचमा पर्दछ । त्यहाँ रहेका दुईवटा पोखरीमध्ये एउटालाई भाले र अर्कालाई पोथी पोखरी भन्ने चलन छ । यस स्थानमा अघि दिंलाबाट बालगुरू षडानन्द आएर तपस्या गरी बसेका थिए भन्ने जनविश्वास पाइन्छ । साथै वेदव्यासले पनि तपस्या गरेको स्थानका रूपमा यसलाई धार्मिक महत्त्व दिने गरिएको छ । यस पोखरीका छेउमा केही मन्दिरहरू पनि निर्माण गरिएका छन् । जोर पोखरी क्षेत्रमा विभिन्न अवसरमा मानिसहरूको भिडभाड लाग्ने गरेको छ । मेची राजमार्गमा रहेको यो पोखरी क्षेत्र प्राकृतिक सुन्दरताका दृष्टिले पनि निकै महत्त्वपूर्ण छ । 

मिक्लाजुङ्ग

मिक्लाजुङ्ग मोरङको रमिते खोला, इलाका साक्फारा, धनकुटाको छ नं. बुधबारे र पाँचथरको लिम्बा गाउँको  बिचमा पर्दछ । तर पनि यसको मुख्य भाग भने पाँचथरतिर छ । त समुद्र सतहदेखि २४१० मिटरको उचाइमा रहेको यस डाँडाबाट पूर्वी नेपालका धेरै स्थानको दृश्यावलोकन गर्न सकिन्छ । यो डाँडा चौबिस भेगको सबैभन्दा अग्लो मानिन्छ । बिहानको समयमा यहाँबाट हिमालहरूको र सूर्योदयको मनमोहक दृश्य देखिने हुनाले यस डाँडाको महत्त्व ज्यादा रहेको हो । 

मिक्लाजुङसम्म जानका लागि लेटाङ, टाँडीतिरबाट, धनकुटाको भेडेटार हुँदै डाँडा बजार र राजारानीतिरबाट र पाँचथरको रवि हुँदै पनि मोटरबाटको सुविधा छ । विगतमा मिक्लाजुंग डाँडा माथि टुप्पोमा देवीको एउटा थान थियो, जहाँ स्थानीय मानिसहरू बेलाबेलामा सामूहिक पूजाआजा गर्ने गर्दथे । कालान्तरमा उक्त परम्परा हटेर गयो र अहिले पनि त्यहाँ त्रिशूल, घण्टी र पूजाआजामा चढाइने भाँडाहरू छरिएका देखिन्छन् । यहाँबाट धेरै टाढासम्मको दृश्य देख्न सकिने हुँदा यस ठाउँलाई स्थानीय लिम्बू भाषामा मिक्लाजुंग भन्ने गरिएको हो । 

कुम्मायक कुस्सायक

पाँचथरको याशोक बजारमा रहेको प्रसिद्ध धार्मिक स्थलको नाम कुम्मायक र कुस्सायक हो । याशोक बजारको दुवैतिरका डाँडामा रहेका मन्दिरहरूलाई कुम्मायक र कुस्सायक भनिएको छ । यो किराँत नाम हो भने हिन्दुहरूले चाहिँ यसलाई सिद्ध देवी भन्दछन् । यस स्थानमा प्रत्येक ३ वर्षमा वैशाखमा मेला लाग्दछ, जसलाई त्रिशूली मेला भनिन्छ । यसको प्रचारप्रसार र विकास गरिएमा पाँचथर भेगको पर्यटन विकासमा यसले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने देखिन्छ । 

फिदिम

पाँचथरका जिल्लाको सदरमुकाम फिदिम निकै सुन्दर स्थानमा रहेको छ । काबेली र तमोरको संगस्थलदेखि दक्षिणतिर एउटा ठुलो टाहारजस्तो स्थानमा बसेको फिदिम बजार निकै आकर्षक छ । चोकमागु र सिवा गाविस मिलाएर फिदिम नगरपालिका बनाएको हो । फिदिम लिम्बू भाषाको फेदेनबाट बनेको मानिन्छ, जसको अर्थ टाहार या बसेको स्थान भन्ने हुन्छ । यो बजार टाहारजस्तो स्थानमा बसेको हुनाले यसलाई फिदिम भनिएको मानिन्छ । यहाँ विभिन्न देवीदेवताका मठमन्दिर छन् भने यहाँबाट सुन्दर पहाडी र हिमाली दृश्यावलोकन गर्न सकिन्छ । किराँत धर्म र संस्कृतिका दृष्टिले फिदिम कोशीप्रस्रवणक्षेत्रको महत्त्वपूर्ण स्थल मानिन्छ । यहाँका ज्यादा जसो बासिन्दा किराँत धर्मका अनुयायी छन् । 

माई पोखरी

इलामको माई पोखरी पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण छ । यसलाई झापाको माई खोलाको मुहान मानिन्छ । माई पोखरी इलाम बजारदेखि करिब १३ कि.मी. उत्तरतर्फ पर्दछ । यो पोखरी समुद्र सतहदेखि २१३० मिटर उचाइमा अवस्थित छ । माई पोखरी धार्मिक रूपमा शिवपार्वतीले वन विहार र जलकृडा गरेको स्थान मानिन्छ । तसर्थ यस स्थानमा स्नान र धार्मिक कृत्य गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ । माई पोखरी करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस पोखरीका नौ वटा कुना छन्, जसको नौ कुनामा नवदुर्गा भवानीको वास रहेको विश्वास गरिन्छ । यस क्षेत्रमा एउटा शिव मन्दिर र विभिन्न देवीका मन्दिरसमेत रहेका छन् । 

माई पोखरी भेगमा सालैभर मानिसहरू पुग्ने गरेका छन् । तर पनि यस भेगमा हरिशयनी र हरिबोधिनी एकादशीका दिन भने निकै ठुला मेला लाग्ने गर्दछन् । प्राकृतिक रूपमा  सुन्दर स्थल माई पोखरी विश्व राम सार क्षेत्रमा सूचीकृत भएको छ । यसको छेउमा नै पञ्चकन्या देवीको मन्दिर पनि रहेको छ । मन्दिरको छेउमा नै एउटा अखण्ड धुनी बालिएको छ । माई पोखरी आफैँलाई पनि धार्मिक रूपमा महत्त्वपूर्ण स्थान मानिन्छ

सानो पाथीभरा

इलामको कोलबुंगमा झापाबाट इलाम जाने बाटामा नै मेची राजमार्ग नजिकै पाथीभरादेवीको मन्दिर छ । यिनलाई सानी पाथीभरा पनि भनिन्छ । मौसम सफा हुँदा यहाँबाट ताप्लेजुङकी पाथीभराको दर्शन गर्न सकिने हुनाले यिनलाई बहिनी या सानीपाथिभरा भनिएको हो । मन्दिरको छेउमा नै हाँसको आकृतिको पोखरी रहेको छ, जसलाई हाँस पोखरी भनिन्छ । ताप्लेजुङको पाथीभरा जान नसक्ने मानिसहरूले यहीँकी पाथीभरादेवीको दर्शन गर्ने गर्दछन् । कन्याम नजिकै रहेको यो स्थान प्राकृतिक दृष्टिले निकै सुन्दर पनि छ ।  

लारूम्बा

इलामको बाँझो गाउँ स्थित लारूम्बा किराँत धर्मगुरु आत्मानन्दको आश्रम, मन्दिर र वासस्थान भएको स्थान हो । किराँत धर्म र संस्कृतिको केन्द्र लारूम्बा पर्यटकीय दृष्टिले पनि निकै महत्त्वपूर्ण छ । लारूम्बामा किराँत मन्दिर, धर्मशाला, गौशाला र अन्य विभिन्न प्रकारका आध्यात्मिक र धार्मिक विषयवस्तु रहेका छन् । किराँत धर्मगुरु फाल्गुनन्दका उत्तराधिकारीका रूपमा आत्मानन्दले लारूम्बालाई केन्द्र बनाएर किराँत धर्म र संस्कृतिको प्रचार गरिरहेका छन् । तसर्थ यहाँ देशका विभिन्न स्थानबाट मानिसहरूको आवतजावत हुने गरेको छ । लारूम्बा जानका लागि दमकको उत्तरतिर पर्ने तंबेपेरूंगे या मावा खोलाको किनारै किनार बाटो रहेको छ । हिउँदको समयमा यहाँबाट गाडिया यात्रा गर्न सकिने भए पनि वर्षा याममा भने पानी र बाढीले गर्दा यो बाटो बिग्रने गर्दछ । 

स्थानीय किंवदन्तीमा लारूम्बा भेगमा कोदोको नरूवामा परेर अघि कुनै युगमा एक जना स्थानीय राजा लडेको हुनाले त्यस स्थानको नाम लारूम्बा भएको हो । केही भिरालो र पत्थरिलो जमिन भएको लारूम्बामा किराँत धर्मगुरु आत्मानन्दको वासस्थान रहेको हुनालेनै यसको ख्याति बढेको हो । यसको ख्याति विदेशमा समेत बढ्दै गएको पाइन्छ । 

किचकबध

झापाको चन्द्रगढीदेखि करिब १० किलोमिटर दक्षिणतिर पृथ्वी नगर गाउँमा पर्ने किचकबध स्थान ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण छ । यस स्थानमा एउटा षट्कोण आकारको पोखरी, केही मठमन्दिर र विभिन्न प्रकारका पुरातात्विक वस्तुहरू पाइएका छन् । त्यस क्षेत्रको महत्त्वका बारेमा स्थानीय मानिसहरू महाभारत कालका राजा विराटको कथा प्रसङ्ग जोड्ने गर्दछन् । यसमा महाभरतका पात्र भीमसेनले राजा विराटको सालो किचकलाई वध गरेको प्रसङ्ग जोड्ने गरिएको छ । कथा प्रसङ्गअनुसार किचकले द्रौपदीलाई कुदृष्टिले हेरेकाले भीमले यस स्थानमा उसको वध गरेका हुन् । तसर्थ त्यस स्थानमा किचकलाई भीमले वध गर्दै गरेको विशालकाय मूर्ती स्थापना गरिएको छ । 

करिब १० बिघाको क्षेत्रफलमा फैलिएको किचकबध क्षेत्रमा प्रशस्तै पुरातात्विक ढिस्काहरू रहेका छन् । त्यस स्थानमा नेपाल पुरातत्व विभागले उत्खनन गर्दा ८ कोठे भवनका साथमा प्राचीन बस्तीका अवशेष प्राप्त भएको छ । उक्त अवशेष इसापूर्वकालको भएको पुष्टि भई सकेको छ । त्यस स्थानमा उत्खननबाट प्राप्त पुरातात्विक वस्तुहरूलाई स्थानीय क्षेत्रमा नै सङ्ग्रहालय स्थापना गरी सङ्ग्रह गरेको खण्डमा यसको ख्याति अझ बढेर यहाँ पर्यटनको विकासका लागि सहयोगी हुने देखिन्छ । किचकबधसम्म जानका लागि सडक यातायातको सुविधा रहेको छ ।

सतासी धाम 

झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सतासी धाम शिव सतासी नगरपालिकामा पर्दछ । पूर्वपश्चिम राजमार्गको झिलझिलेदेखि करिब पाँच किलोमिटर उत्तरमा तथा चुरेपर्वतको फेदीमा नै रहेको यो स्थान निरन्तर बगिरहने पानी भएको सतासी खोला र वनजंगलले गर्दा निकै रमणीय पनि छ । नेपालका मात्र नभएर भारतीय तीर्थयात्री र साधुसन्तहरू निरन्तर रूपमा सयौँको सङ्ख्यामा आई रहने यो स्थान धार्मिक दृष्टिले अझ महत्त्वपूर्ण रहेको छ । 

सतासी धाम क्षेत्रमा सताक्षीदेवी, दिगम्बेश्वर महादेव, हनुमान र गायत्रीका साथमा अन्य विभिन्न देवीदेवताका मन्दिरहरू छन् । जङ्गलका बिचमा रहेको यो स्थान सुन्दर, शान्त र रमणीय पनि छ । जसमुनिको एउटा आश्रमसमेत रहेको यस स्थानमा केही बृद्धबृद्धा र केही साधुसन्तहरू पनि बस्ने गरेको पाइन्छ । यस तीर्थको उत्पत्तिका सम्बन्धमा जनमानसमा प्रचलित एउटा किंवदन्तीअनुसार अघि कुनै बेला यस भेगमा लामो समयसम्म पानी नपरी धेरै सुख्खा भए पछि ऋषिमुनि र साधुसन्तहरूले लामो समयसम्म तपस्या गरेछन् । पछि एक सय वटा आँखा भएकी सताक्षी देवी प्रकट भएर तिनीहरूको इच्छाअनुसार वर्षा पनि गराइछन् । त्यस पछि यस स्थानलाई सताक्षीधाम र बिस्तारै सतासी भन्न लागिएको बताइन्छ । 

सतासी धाम वरपर पाण्डव बगैँचा, द्रौपदी कुण्ड, शिव गुफा, पार्वती गुफा र शहश्रधारा नामक स्थानहरू रहेका छन् । अघि यस स्थानमा पाण्डवहरू गुप्त वास बसेको पनि जनविश्वास छ । सतासीराममा शिवरात्री, बालाचतुर्दकी र मकरसंक्रान्तिका अवसरमा मेला लाग्ने गर्दछ । त्यस अवसरमा भारततिरबाट पनि ठुलो सङ्ख्यामा जोगीसन्यासीहरू आउने गरेका छन् । अन्य अवसरमा पनि यस भेगमा थुप्रै भक्तालु, तीर्थयात्री र पर्यटकहरू पुग्ने गर्दछन् । सतासीरामसम्म पुग्ने नजिकैको पूर्वपश्चिम राजमार्गमा पर्ने झिलझिलेदेखि सुविधायुक्त बाटो बनाइएको छ । 

अर्जुन धारा

झापाको शनि अर्जुन नगरपालिकामा पर्ने अर्जुन धारा क्षेत्र महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल हो । पूर्वको पशुपतिका नामले चिनिने यो स्थानमा काठमाडौँको पशुपतिको सराहनै मन्दिर निर्माण गरिएको छ । दुई तहको छानायुक्त तले शैलीको यो मन्दिरका टुँडाल, तोरण र अन्य सामग्रीहरू काठमाडौँबाट ल्याएर प्रयोग गरिएका हुन् । पशुतिको स्वरूपमा मन्दिर निर्माणका लागि त्यसमा प्रयोग गरिएका तेली इँटा पनि काठमाडौँबाट नै ल्याइएको बताइन्छ । पूर्वपश्चिम लोकमार्गमा पर्ने बिर्तामोडबाट करिब ५ किमी उत्तरमा रहेको यस अर्जुन धारा पुग्न पक्की सडक र यातायातको राम्रो सुविधा छ । प्राप्त एक किंवदन्तीअनुसार अघि पाण्डवहरू यसै भेगमा गुप्त वास बसेका थिए रहेछन् । पछि कौरवहरूले यो कुरा थाहा पाएकाले पाण्डवलाई लुकाउने राजा विराटका गाईहरू लुटेर लगेछन् । तिनीहरूलाई पाण्डवहरूले फिर्ता ल्याउँदा ज्यादै तिर्खाएकाले तिनीहरूलाई पानी खुवाउन अर्जुनले त्यस स्थानमा पानी निकालेका थिए भन्ने जनविश्वास छ । उनले त्यस स्थानमा बाण हानेर जमिनबाट पानी निकालेको तथा तिर्खाएका गाईलाई पानी खुवाएको धार्मिक विश्वास पाइन्छ । यही विश्वासमा यस स्थानलाई अर्जुनधाराका भनिएको हो ।  

अर्जुनधारामा एउटा पोखरी छ, जहाँ जमिनबाट पानी उम्रिएर पोखरी हुँदै निरन्तर रूपमा बगेर जाने गर्दछ । प्रस्तरका धाराहरूबाट उक्त पानी बग्ने गरी आकर्षक तुल्याइएको छ । त्यही अर्जुनले पोखरीतिर बाण हान्दै गरेको र गाई पोखरीको डिलमा बसेर पानी खाँदै गरेको स्वरूपको मूर्ती पनि निर्माण गरिएको छ । अर्जुन धारा भेगमा शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवीदेवताका मूर्तीहरू स्थापना गरिएका छन् । त्यस स्थानमा विवाह, कर्मकाण्ड, यज्ञयज्ञादि र अन्य प्रकारका धार्मिक कार्यहरू सम्पन्न गर्नका लागि धर्मशालाको पनि स्थापना गरिएको छ । अर्जुनधारामा एउटा वेद पाठशाला पनि सञ्चालित छ । अर्जुनधारामा बाला चतुर्दशी र शिवरात्रीका अवसरमा ठुलो मेला लाग्दछ भने श्रावण महिनाभर शिवजीलाई जल चढाउने भक्तालुको पनि त्यत्तिकै भिड लाग्दछ । नेपालबाट मात्र नभएर भारतका विभिन्न प्रान्तहरूबाट पनि यस भेगको भ्रमणमा तीर्थयात्री र पर्यटकहरू आउने गरेका छन् । प्राय दिनहुँ जसो अर्जुन धारा क्षेत्रमा भक्तालु र अन्य मानिसहरूको भिड लागेको देखिन्छ । 

प्रा.डा. सोमप्रसाद खतिवडाले नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दमक नगरपालिका, दमक प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी– २०७५ मा प्रस्तुत ‘कोशी प्रस्रवण क्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू’ विषयक कार्यपत्रलाई आलेखको रूपमा प्रस्तुत गरेका छौ । 

याे पनि

विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल