लोकसंवाद संवाददाता | समाचार | फागुन ०२, २०७७
महोत्तरी । मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर मनाइने मैथिल परम्पराको यो पर्वको रौनक हराउँदै गएको छ । यसपालि कोभिड–१९ महामारीको निहुँ भनिए पनि पर्वको उल्लास भने केही वर्ष पहिलेदेखि नै पातलिँदै गएको पाका मैथिल बताउँछन् ।
एक महिना पहिलेदेखि नै सरस्वती पूजनोत्सवको तयारी गर्ने विद्यालय यसपालि महामारीका कारण सबै खुलिसकेका छैनन् । केही विद्यालय भर्खरै खुल्न थाले पनि महामारीको डर नसकिएको हुँदा विद्यार्थी यसको तयारीमा लाग्न नसकेका हुन् । यही आउने मङ्गलबार परेको श्रीपञ्चमी पर्वबारे विद्यार्थीको चहलपहल कतै नदेखिएको सर्वसाधारण बताउँछन् । “श्रीपञ्चमी आउन महिना दिनपूर्व नै विद्यार्थी सरस्वती पूजनोत्सवको चन्दा भन्दै घरघर आउँथे”, पर्वबारे पुराना कुरा सम्झँदै भङ्गाहा नगरपालिका–४ रामनगरका ५५ वर्षीय किसान मोहन खाँ थारू भन्नुहुन्छ, “विद्यार्थीको यो तयारीले नै श्रीपञ्चमी आएको छनक दिन्थ्यो, अब त्यो हरायो ।” यसपालि महामारीको निहुँ भनिए पनि सामूहिकरूपमा सरस्वती पूजनोत्सव उल्लासका साथ मनाउने परम्परा केही वर्ष पहिलेदेखि नै पातलिँदै गएको थारूको भनाइ छ ।
सरस्वती पूजनोत्सवमा विद्यार्थीको चहलपहलसँगै मिथिलामा सरस्वतीका मूर्ति बनाउने कलाकारको पनि यसैबेला राम्रो कमाइ हुने गथ्र्यो । सांस्कृतिक पर्व र परम्पराबारे चासो घट्दै गएसँगै मूर्ति बनाउनेहरु वैकल्पिक अन्य पेशामा बाँधिन थालेपछि बस्तीपिच्छे विगतमा बाक्लै देखिने मूर्तिकार अब देखिन छाडेका छन् । हिन्दू परम्पराकी विद्याकी देवी सरस्वतीको पूजाआराधना गरेर मनाइने यो पर्वकै दिन स–साना नानीहरुलाई अक्षरारम्भ गराइने परम्परा छ । माघ शुक्लपञ्चमीका दिन अक्षरारम्भ गराइएका बालबालिका लेखपढमा तीक्ष्ण हुने मैथिल जनविश्वास छ ।
मिथिलामा यो पर्व कृषिसँग पनि सम्बन्धित छ । श्रीपञ्चमीकै दिन आउने एक वर्ष अवधिका लागि कृषि श्रमिक र कृषि घरेलु औजार ९हलो, कोदालो, फाली, कँचिया, दावआदि० मर्मत गर्ने लोहार ९यस्ता औजार बनाउने र मर्मत गर्ने मिथिलाको जातिविशेष० छनोट गर्ने परम्परा छ । किसान, कृषि श्रमिक र लोहारबीच पारिश्रमिक र सुविधाबारे सहमति भएपछि एक वर्षसम्म ९आउने वर्षको श्रीपञ्चमीसम्म० काम गर्ने÷गराउने टुङ्गो लाग्छ । यस्तो टुङ्गो लागेपछि किसानले सहमति भएका कृषि श्रमिक र लोहार ९मिस्त्री० लाई वरण गरेर पूजा गर्दै ९अबिरको टीका लगाउने० भोजन गराएर दक्षिणा दिने मैथिल परम्परा छ । तर यहाँका बस्ती÷बस्तीमा कृषिकार्यमा लाग्ने युवा जनशक्ति विदेशिएका र लोहार कर्ममा नयाँपुस्ताले रुचि नदेखाएपछि मान्छे नभेटिएको आम किसानको गुनासो छ ।