लोकसंवाद संवाददाता | समाचार | बैशाख ०५, २०७६
काठमाडौँ । प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भुईं तल्लामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । त्यसको लागत चार करोड ३५ लाख रुपियाँ रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले नयाँ व्यवस्थाले काम गर्न सजिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार राष्ट्रिय गौरवका आयोजना लगायतका विकास आयोजनाको अवलोकन तथा सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद, छलफल तथा समन्वय गर्ने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयमा निर्माणाधीन ‘एक्सन रुम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने जानकारी दिनुभयो ।
प्रवक्ता कुँवरले भन्नुभयो, “निर्माणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक्सन रुम’ बाट नै राष्ट्रिय गौरवलगायत मुलुकका विकास आयोजनाको प्रत्यक्ष अवलोकन, निगरानी गर्न सक्नुहुने छ ।’’ उहाँले थप्नुभयो, ‘‘टेलिप्रिजेन्ट सिस्टम’ मार्फत मुख्यमन्त्रीहरूसँग प्रत्यक्ष बैठक गर्न सक्नु हुुनेछ, यसका लागि प्रधानमन्त्री कार्यालयमा ‘भिडियो कन्फरेन्स’ प्रणाली समेत निर्माण भइरहेको छ ।” आजको गाेरखापत्र दैनिकमा खबर छ ।